तत्कालै पाइने ऋणको नाममा बढिरहेको छ ‘ब्ल्याकमेल’, पैसा तिरिसक्दा पनि आइरहन्छ धम्की
एजेन्सी । ‘इन्स्टेन्ट लोन’ अर्थात तुरुन्त ऋण दिने भन्दै सामाजिक सञ्जालमा आउने पोस्टहरु त तपाईंले देख्नु भएकै होला । नेपालमा पनि सामाजिक सञ्जालका प्रयोगकर्ताहरुको फिडमा यस्ता स्पोन्सर्ड पोस्टहरु बेला बेलामा आउने गर्छन् ।
तर, भारतका लागि भने यी एपहरु साधारण हुन् । भारतीय बजारमा यस्ता एपहरु दर्जनबढी छन् । प्ले स्टोरमा गएर इन्स्टेन्ट लोन एप भनेर खोज्ने हो भने दर्जनौं एपहरु भेटिन्छ ।
तर, के वास्तवमै यो कर्जा सहजै दिने कुनै योजना हो त ?
हालै बीबीसी हिन्दीले यो विषयमा खोज गरेको छ । भारतीय परिवेशमा यस्ता एपहरुले कसरी ठगी गरीरहेका छन् भन्ने विषयलाई लिएर बीबीसीले एक खोजमुलक रिपोर्ट प्रकाशित गरेको हो ।
तुरुन्तै ऋण दिने भन्दै प्रचार हुने एपहरुले सर्वसाधारणलाई फसाउने र बेइजत गर्ने भन्दै ब्ल्याकमेल गर्ने गरेको बीबीसीले पाएको छ ।
यस्ता एपहरुबाट लिएको कर्जा लिर्न नसक्दा ऋण उठाउन आउने एजेन्टका कारण कमसेकम ६० जना भारतीयहरुले आत्महत्या गरीसकेका छन् । भारत र चीनमा यस्तो किसिमको ठगी गर्नेहरुको ठूलो जमात रहेको बीबीसीले जनाएको छ ।
००००
एक बिहान फोनमा बजेको घण्टीले आस्था सिन्हाको निद्रा खुल्यो । उनकी काकीले फोनमा उनलाई डराएको आवाजसहित भनिन्, ‘आमालाई घरबाट बाहिर जान नदिनू ।’
१७ वर्षीया आस्था अर्ध निन्द्राकै अवस्थामा अर्को कोठामा गइन् । अर्को कोठामा उनकी आमा भूमि सिन्हा रोइरहेकी थिइन् ।
प्रायः खुसी र कुनै पनि कुराको चिन्तामा नदेखिने उनी आमा मुम्बईमा सम्पत्तिको विषयमा काम गर्ने सम्मनित वकिल थिइन् । श्रीमानको मृत्युपछि भने उनले आफ्नी छोरीलाई एक्लै हुर्काइन् । जसले गर्दा उनको अवस्था केही बिग्रिएको थियो ।
‘उनी आफ्नै नियन्त्रणमा थिइनन्’, आस्था आमाको अवस्थाबारे भन्छिन् ।
चिन्तित मुद्रामा भूमिले आफ्नी छोरी आस्थालाई कुन महत्वपूर्ण कागजात कहाँ राखिएको छ, को को व्यक्तिहरु महत्वपूर्ण हुन भन्ने कुराहरु बताईरहेकी थिईन् । उनी आफ्नो घरबाट बाहिर निस्किनलाई हतारमा देखिन्थिन् ।
आस्थालाई आफूले आमालाई बाहिर जानबाट रोक्नुपर्ने थाहा थियो । उनकी काकीले उनलाई भनेकी थिइन्, ‘आमालाई आफ्नो आँखाबाट टाढा हुन नदिनु नत्र उनी आत्महत्या गर्नेछिन् ।’
आस्थालाई आफ्नै आमालाई केही फोनहरु आएको थाहा थियो । उनले कसैलाई पैसा तिर्नु छ भन्ने आस्थालाई जानकारी थियो । तर, उनकी आमा भूमि पछिल्ला केही महिनादेखि उत्पीडन र मनोवैज्ञानिक यातनाको पनि सामना गरीरहेकी छिन् भन्ने थाहा थिएन ।
भूमि विश्वभरमा फैलिएको यस्तो ठगीको शिकार भएकी थिइन्, जुन कमसेकम १४ देशहरुमा फैलिएको थियो । यो एउटा यस्तो ठगी थियो, जसमा सर्वसाधारणलाई ब्ल्याकमेल गर्ने र बेइज्जत गर्ने भन्दै मुनाफा कामइन्थ्यो र सर्वसाधारणको जीवनलाई तहसनहस बनाइन्थ्यो ।
उनीहरुको व्यापारिक शैली क्रुरताले भरिएको थियो, तर साधारण थियो ।
यस्ता कैयौं एपहरु छन्, जसले बिना कुनै परीक्षण केही मिनेटकै भरमा कर्जा दिने दाबी गर्छन् । यस्ता सबै एपले ब्ल्याकमेल गर्छन् भन्ने होइन । तर, केही यस्ता एपहरु छन् , जसलाई आफ्नो फोनमा डाउनलोड गर्ने बित्तिकै तिनीहरुले कन्ट्याक्ट, तस्बिर, परिचय पत्रजस्ता कुराहरु आफ्नो नियन्त्रणमा लिन्छन् । यीनै कुराहरुको आधारमा यस्ता एपहरुले सर्वसाधारणलाई ब्ल्याकमेल गर्ने र कर्जा उठाउने भन्दै ठगी गरीरहेका छन् ।
जब ऋणीले समयमा कर्जा तिर्न सक्दैनन् वा कैयौं पटक त कर्जा चुकाउँदा पनि यी एपहरु ती ऋणीका सबै जानकारी कल सेन्टरलाई दिन्छन् । यो कल सेन्टरमा अस्थायी रुपमा राखिएका युवाहरु एजेन्टका रुपमा काम गरीरहेका हुन्छन् । यी युवाहरुलाई ल्यापटप र फोनको माध्यमबाट मानिसलाई कसरी आघात पर्ने र बेइज्जत गरेर रकम असुल्ने भन्ने प्रशिक्षण दिइएको हुन्छ ।
भूमिले सन् २०२१ को अन्त्यमा पहिलो पटक यस्ता एपबाट कर्जा लिएकी थिइन् । आफ्नो कामबाट पैसा आउने आशामा रहेकी उनले तत्कालको आवश्यकता पूर्तिका लागि यस्ता फरक फरक एपहरुबाट गरी ४७ हजार भारतीय रुपैयाँ कर्जा लिएकी थिइन् । कर्जा लिएको पैसा उनले तुरुन्तै प्राप्त त गरीन् । तर, त्यसमध्ये केही हिस्सा भने विभिन्न शीर्षकमा शूल्कका रुपमा काटिएको थियो ।
भूमिले यो पैसा ७ दिनभित्रमा फिर्ता दिनुपर्ने थियो । तर, उनको कामको पैसा समयमा नआएकाले उनले यस्तो गर्न सकिनन् । त्यसपछि उनले यस्तै तुरुन्तै ऋण लिने एपहरुबाट कर्जा लिइन् । एक एपको कर्जा तिर्न अर्को एपबाट कर्जा लिँदै जाँदा ब्याजमा पनि वृद्धि हुँदै गयो । उनले तिनुपर्ने साँवा र ब्याज गरेर कुल रकम २० लाख भारतीय रुपैयाँ पुगेको थियो ।
त्यसपछि भने भूमिलाई कर्जा उठाउने एजेन्टहरुको फोन आउन थाल्यो । केही समयपछि नै यस्ता एजेन्टहरुले भूमिलाई अपमानित गर्ने र गाली गर्न सुरु गरेका थिए । जब भूमिले सम्पूर्ण कर्जा चुक्ता गरीदिइन्, तब पनि उनलाई फोन आइरह्यो । यी एजेन्टहरुले उनले झुट बोलेको बताइरहेका थिए ।
उनलाई दिनमा २ सय पटकसम्म फोन आयो । उनीहरुले भूमिलाई उनको ठेगानादेखि अन्य कुराहरु थाहा भएको भन्दै धम्क्याउँथे । चेतावनीका रुपमा उनको फोनमा ती एजेन्टले एक लाशको तस्बिर पनि पठाएका थिए ।
धम्कीबाट सुरु भएको श्रृङ्खला विस्तारै बिस्तारै दुर्व्यवहारमा बढ्दै गयो । उनको फोनको कन्ट्याक्टमा रहेका सम्पूर्ण ४८६ जनाकै फोन नम्बरमा म्यासेज पठाएर भूमि सेक्स वर्कर तथा चोर भएको भन्दै बताउने धम्की एजेन्टले दिएका थिए । जब उनको छोरी आस्थाको पनि बेइजत गर्ने भन्ने धम्की आयो, तब भूमि आत्तिएकी थिइन् ।
त्यसपछि बाध्य भएर भूमिले साथीभाई, परिवार र आफन्त तथा अन्य ६९ वटा एपहरुबाट लोन लिइन् । उनी हरेक रात निदाउँदा भोलि बिहान नहोस् भन्ने प्राथना गर्ने स्थितिमा पुगेकी थिइन् । तर, भोलि पटक फेरि बिहान हुन्थ्यो र सात नबज्दै उनको फोनमा कल तथा म्यासेज आउन सुरु हुन्थ्यो ।
अन्त्यमा भूमिले यस्ता सबै एपहरुको पैसा त चुक्ता गरीन् । तर, एक एप थियो जसले उनलाई फोन गर्न र धम्की दिन बन्द गरेको थिएन । ‘आसान लोन’ नामकको उक्त एपले फोन गर्न बन्द गरेन् ।
दैनिक आउने फोन र धम्कीका कारण भूमिले आफ्नो काममा पनि ध्यान दिन पाएकी थिइनन् । उनलाई तनावका कारण ‘प्यानिक अट्याक’ हुन सुरु भएको थियो ।
एक दिन भूमिलाई उनकी एक सहकर्मीले आफ्नो डेस्कमा बोलाइन् र फोनमा केही देखाइन् । फोन हेर्दा भूमिको होस उड्यो । सहकर्मीको फोनमा आएको म्यासेजमा उनको अश्लिल र नग्न तस्बिर थियो ।
उक्त फोटोलाई कामचलाउ रुपमा फोटोसपबाट बनाइएको थियो । भूमिको टाउको अरु कसैको शरीरमा जोडिएको थियो । तर, सबैलाई स्पष्टीकरण दिएर हिँड्न मिल्ने अवस्था थिएन् । उनी सहकर्मीकै डेस्कमा बेहोस् भइन् । त्यो तस्बिर ती सहकर्मीलाई मात्रै होइन, उनको फोनमा भएका सबै कन्ट्याक्टलाई गएको थियो । जसमा उनका परिवार, आफन्त, साथीभाई, सहकर्मी, कार्यक्षेत्रका सम्बन्धित व्यक्तिहरु सम्म थिए ।
भूमिले यो घटनापछि आत्महत्या गर्ने सोच आउन थालेको सम्झिन्छिन् ।
भूमिको घटना प्रतिनिधि घटना मात्रै हो । यस्ता कैयौं घटनाहरु पछिल्लो समय भारतमा बढिरहेका छन् । तुरुन्तै लोन पाइने भन्दै लोन दिने एपहरुकै कारण ६० जनाको मृत्यु भइसकेको छ र यी सबै आत्महत्या हुन् । यीमध्ये ५० प्रतिशत आत्महत्या भारतको तेलंगाना र आन्ध्र प्रदेशमा भएको छ । सबैभन्दा धेरै २० देखि ४० वर्ष उमेर समूहका पीडितहरु छन् ।
००००
बीबीसीमै गत वर्ष सेप्टेम्बर १६ मा प्रकाशित रिपोर्टमा मध्य प्रदेशका एक युवकले आत्महत्या गर्नुको कारण यस्तै एप भएको सुसाइड नोटमा लेखेका थिए । त्यो सुसाइड नोट यस्तो थियो, ‘मैले केही अनलाइन एपबाट लोन लिएको थिएँ । तर, मैले कर्जा तिन सकिनँ । मेरो इज्जतको डरका कारण यो कदम उठाइरहेको छु ।’
भूमिको जीवनमा भएको घटना र मध्य प्रदेशका यी युवकको जीवनमा भएको घटनामा एउटा समानता छ, त्यो हो यसरी तत्कालै कर्जा दिने एपहरु । बीबीसीको खोजमा यस्ता एपहरु फोनमा डाउनलोड गरेपछि प्रयोगकर्ताको सम्पूर्ण विवरणहरुमा पहुँच पाउने गरी अनुमति माग्ने र पछि त्यहि कुरालाई प्रयोग गरेर ब्ल्याकमेल गर्ने गरेको पाइएको छ ।
यस्तै घटनाका कारण किर्नी मोनिकाको पनि निधन भएको थियो । ठगीका कारण २४ वर्षीया उनले आफ्नो ज्यान गुमाएकी थिइन् ।
आफ्नो परिवारको सबैभन्दा होनहार सदस्य र सरकारी जागिर पाउने आफ्नो विद्यालयकै पहिलो छात्रा रहेकी मोनिका मास्टर्सको पढाइका लागि अष्ट्रेलिया जाने तयारीमा थिइन् । उनका बुवा भूपानीले पनि उनलाई अध्ययनका लागि पठाउन तयार थिए । तर, तीन वर्ष अघि उनले आत्महत्याको बाटो रोजिन् ।
प्रहरीले उनको फोन र बैंक खाताहरुको अध्ययन गर्दा मोनिकाले विभिन्न ५५ वटा एपहरुबाट यस्तो कर्जा लिएको पाइएको थियो। उनले सुरुवाती कर्जा १० हजार रुपैयाँ लिएकी थिइन् । तर, त्यो रकम बढेर ३० गुणा भएको थियो । मोनिकाले आत्महत्याको निर्णय गर्नुभन्दा अघि तीन लाखभन्दा धेरै रकम चुक्ता पनि गरेकी थिइन् । तर, मोनिकालाई यस्ता एपहरुले राखेका कल सेन्टर र त्यहाँका एजेन्टले फोन गरेर दिने धम्की र गर्ने दुर्व्यवहारका कारण आत्महत्याको कदम उठाउन बाध्य भइन् । यी एजेन्टहरुले उनको फोनमा रहेका कन्ट्याक्टहरुलाई म्यासेज पठाएर मोनिकाको बेइजत गर्न थालेका थिए ।
अहिले मोनिकाको घरमा उनको यादहरु मात्रै छन् । उनको कोठाको बाहिर उनको सरकारी जागिरको परिचय पत्र छ । तर, मोनिका छैनन् ।
मोनिकाका बुबाले आफ्नी छोरीको शव अस्पतालबाट दाहसंस्कारका लागि ल्याउँदै गर्दा यस्तै एजेन्टको फोन आएको सम्झिन्छन् । तब उनलाई फोनमा पैसा चुक्ता नगरे बेइज्जती हुने भन्दै धम्काईएको थियो । तब भूपानीले आफ्नी छोरीको निधन भइसकेको बताएका थिए ।
कल सेन्टरमा काम गर्नेहरुका अनुसार उनीहरुलाई यस्ता लोन दिने कम्पनी र एपहरुले कर्जा लिनेहरुको विवरणहरु दिएका हुन्छन् । बिना कुनै धितो र लामो कागजातको प्रक्रिया बिना नै यस्तो कर्जा पाइने भएकाले धेरै जना यसतर्फ आकर्षित भएका छन् ।
बीबीसीले सम्पर्क गरेका कल सेन्टरमा काम गर्ने हरि (फेरिएको नाम) काअनुसार उनले मोनिकाले कर्जा लिएको एपका लागि कर्जा उठाउने कल सेन्टरमा काम गर्ने गरेका थिए । कर्जा फिर्ता ल्याउन राखिएका यस्ता एजेन्टहरुले ऋणीको फोनमा रहेका कन्ट्याक्टमा रहेकाहरुलाई म्यासेज पठाएर ऋणीलाई धम्क्याउने र ब्ल्याकमेल गर्ने गरेको स्वीकारेका छन् । उनी भन्छन्, ‘जो कोहीलाई पनि परिवारको सामुन्ने आफ्नो छवि राम्रो होस भन्ने लाग्छ । पाँच हजार रुपैयाँका लागि व्यक्तिले आफ्नो बेइज्जत नहोस् भन्ने चाहन्छन् । त्यसैले कल सेन्टर उनीहरुको छविमाथि नै प्रहार गर्ने गरी काम हुन्छ ।’
कर्जा लिने व्यक्तिको पेमेन्ट आउने बित्तिकै एजेन्टको सिस्टममा सफल भएको भन्ने सन्देश आउने र आफूहरु अर्को ऋणीलाई धम्क्याउन लाग्ने उनी बताउँछन् । यो विषयको बारेमा आफूले काम गर्ने कम्पनीका मालिकलाई जानकारी गराउँदा उनले भने जे भइरहेको छ वास्ता नगरी काम गर्न र पैसा फिर्ता ल्याउन भन्दै चेतावनी दिएको हरिले बताए ।
यी सबैका बीच यी एपहरु कहाँबाट सञ्चालन भइरहेका छन् र यसको पछाडि को छ भन्ने कुरा महत्वपूर्ण छ ।
बीबीसीको खोजमा यी एपहरुको चिनियाँ सम्बन्ध भएको दाबी गरिएको छ ।
हरिले काम गर्ने कर्जा दिने एपको कम्पनीका मालिक परशुराम ताकवे हुन् । तर, उनी एक्लैले यो ठगीलाई सञ्चालन गरिरहेका छैनन् । बेला बेला आफूहरुको सिस्टममा चिनियाँ भाषा देखिने गरेको दाबी गर्ने हरिको कुरालाई उदृत गर्दै बीबीसीले यसमा चिनियाँ सम्बन्ध रहेको बताए।
ताकवेको विवाह चिनियाँ नागरिक लियांग तियानसँग भएको हो । दुवैले मिलेर भारतको पुणामा जियालियांग नामक कर्जा फिर्ता ल्याउने कम्पनी दर्ता गरेका छन् । हरि यहीँ काम गर्छन् ।
यसरी नै उत्पडिन गरेको आरोपमा सन् २०२० डिसेम्बरमा ताकवे र लियांगलाई प्रहरीले पक्राउ गरेको थियो । तर, केही महिनामा उनीहरु धरौटीमा छुटेका थिए । अप्रिल २०२२ मा उनीहरुमाथि जबरजस्ती कर्जा उठाउन खोजेको, डराएको र आत्महत्या दुरुत्साहनको आरोपसहित उजुरी परेपछि खोजी भएको थियो । तर, उनीहरु फरार भएका थिए ।
बीबीसीले ताकवे र लियांगको कम्पनी र उनीहरुको कर्जा दिने एपको खोज गर्दा यसको सम्बन्ध चिनियाँ व्यक्ति लि शियांगसम्म रहेको पाएको छ । शियांगसँग बीबीसी आफूहरु लगानीकर्ता भएको भन्दै गरेको कुराकानीमा उनले आफूहरु दक्षिण पूर्वी एसियामा रिस्क कन्ट्रोल र कर्जा उठाउने विषयमा अग्रणी रहेको बताएका छन् ।
शियांगको कम्पनीलाई सन् २०२१ मा नै भारतीय प्रहरीले छापा मारेको थियो । इन्स्टेन्ट लोन दिने यस्ता एपहरुमाथि निगरानी बढाएको भारतीय प्रहरीले २०२२ मा उनको दुई कम्पनीमाथि छापा मारेर उनीहरुको बैंक खातालाई फ्रिज गरेको थियो ।
तर, अहिले पनि उनीहरु सञ्चालनमा छन् ।
लियांग भने आफूहरुले भारतमा कर नतिर्ने र आफूहरुले ब्याजको दर पनि स्थानीय नियमभन्दा धेरै राख्ने गरेको बताएका छन् । उनले भनेका छन्, ‘हामीहरु अहिले पनि काम गरिरको छौं । तर, भारतीयहरुलाई हामी चिनियाँ कम्पनी हौं भनेर नभनि काम गरीरहेका छौं ।’
०००
बीबीसीको यो लेख भारतीय सन्दर्भमा आधारित छ । तर, नेपालका लागि पनि यो लेखमा भएका विषयहरु उत्तिकै सान्दर्भिक छन् । पछिल्लो समय वान एक्स बेट, फिलिफा जस्ता अनलाइन जुवाका कम्पनीहरु नेपालमा मौलाए छन् । पढेलेखेका र जानकार व्यक्तिहरु नै पनि यस्ता एपहरुमा सट्टा लगाउने गरेको पाइन्छ । छिटो छरितो बाटोबाट आम्दानी गर्ने आशामा कैयौंको लाखौं रुपैयाँ डुबेका घटनाहरु हामीले देखेका तथा सुनेका छौं ।
भारतीय बजारमा मौलाएको अनलाइन बाटै तत्काल पाइने ऋणको यो ठगी धन्धा नेपालमा नआउला भन्न सकिँदैन । कानुनले प्रतिबन्ध लगाएको होस् वा जस्तो सुकै व्यवस्था भएता पनि अनलाइन जुवाजस्तै यी एपहरु पनि नेपालमा मौलाउने उत्तिकै जोखिम छ । त्यो जोखिमको विषयमा भने अहिलेबाटै सचेत हुनुपर्ने देखिन्छ ।