स्वामिनाथन: जसले भारतलाई भोकमारीबाट बाहिर ल्याए
एजेन्सी । भारतको हरित क्रान्तिबारेको प्रसंग आउँदा साथै आउने एउटा नाम हो, एमएस स्वामिनाथन । भारतको पञ्जाब र हरियाणाका राज्यहरुलाई गहुँ र धानको उत्पादनमा आत्मनिर्भर र भारतकै खाद्य सुरक्षाका लागि मुख्य भूमिका खेल्ने व्यक्ति हुन् स्वामिनाथन ।
‘द हिन्दु’का अनुसार स्वामिनाथन भारतको हरित क्रान्तिको नेतृत्वकर्तादेखि भारतका महिला किसानहरुलाई पहिचान दिने कामका लागि अग्रस्थानमा रहेका व्यक्ति हुन् ।
केही दिनअघि ९८ वर्षिय स्वामिनाथनको भारतको चेन्नाईमा निधन भएको छ । स्थामिनाथन भारतमा खाद्य सुरक्षादेखि उत्पादनको वृद्धि, कृषिमा हरित क्रान्ति ल्याउने प्रमुख व्यक्ति थिए । बेलायतको उपनिवेशबाट भर्खरै बाहिर आएको भारतमा यी कुराहरुमा उनको नेतृत्व हुँदैन थियो भने आजको भारत बेग्लै हुन सक्थ्यो ।
तर, यो सबै उनले कसरी गरे? स्वामिनाथनको जीवन र उनले गरेको कृषि क्रान्ति कुनै पनि देशका लागि कृषि उत्पादनलाई वेज्ञानिक तवरले अघि लैजाने र खाद्य सुरक्षा, किसानको पहिचान जस्ता कुराहरुमा कसरी अघि बढ्ने भन्ने कुराका लागि विश्वविद्यालय सरह छ ।
१९२५ मा जन्मिएका स्वामिनाथको सुरुवाती रुचि नै कृषि थियो । १९४४ मा उनले मदरास विश्वविद्यालयबाट कृषि विज्ञानमा स्नातक गरेका थिए । उनको अध्ययन पूरा हुनुभन्दा एक वर्षअघि अर्थात १९४३ मा भारतको बंगाल क्षेत्रमा ठूलो भोकमारी देखा पर्यो ।
‘त्यो बेला, १९४२ मा गान्धीले भारत छोड आन्दोलन चलाउनु भएको थियो,’ स्वामिनाथनले एक अन्तर्वार्तामा भनेका थिए,‘१९४२ र १९४३ को समयमा बेंगालमा भोकमारी देखियो । हामीमध्ये धेरै जना त्यो बेला विद्यार्थी नै थियौं । धेरै आदर्शवादी थियौं । हामीले आफैंलाई सोध्यौं, स्वतन्त्र भारतका लागि हामी के गर्न सक्छौं?’
त्यो भोकमारीका कारण २० देखि ३० लाख हाराहारीमा मान्छेहरुको मृत्यु भएको थियो । उक्त भोकमारीलाई मानव निर्मित मानिन्छ । तत्कालीन बेलायती नीतिहरुका कारण भारतीय जनताहरुले यस्तो अवस्था देख्नु परेको थियो । दोस्रो विश्वयुद्धबीच आफ्ना सैनिकहरुलाई खाद्यान्न उपलब्ध गराउन बेलायतले आफ्ना उपनिवेश रहेका देशहरुमा लिएको नीतिले त्यहाँ मानवनिर्मित भोकमरी पैदा भएको थियो ।
स्वामिनाथनले यहि घटनाका कारण कृषि पढ्ने निधो गरे । मेडिकल कलेज जानुको सट्टा उनले कोयमबतुरमा रहेको कृषि कलेजमा अध्ययन गर्न थाले ।
उनले भनेका छन्, ‘मैले कृषिको अनुसन्धान र जेनेटिक्स र ब्रिडिंगको अनुसन्धान गर्ने पनि निधो गरे । यी कुराहरुले धेरै ठूलो प्रभाव पार्थे । चाहे साना किसान हुन वा ठूला किसान राम्रो कृषिले सबैलाई फाइदा हुन्थ्यो । म जेनेटिक्सभित्रको विज्ञानले पनि निकै आकर्षित भएको थिएँ ।’
स्वामिनाथन आफ्नो अनुसन्धानका लागि युरोप र अमेरिकाका विभिन्न शैक्षिक संस्थाहरुमा पुगे । १९५४ मा उनले कुट्टकस्थित सेन्ट्रल राइस रिचर्स इन्स्टिच्युटमा काम गर्न थाले । जहाँ उनले जपोनिका किसिमका बिउहरुबाट इण्डिका किसिमका बिउहरुमा मलप्रति हुने प्रतिक्रिया दिने जिनहरुलाई ट्रान्सफर गराएका थिए ।
स्वामिनाथनले यसलाई धेरै उब्जिनी हुने बिउ उत्पादनको पहिलो चरण मानेका थिए ।
स्वतन्त्रतापछिको भारतमा कृषि धेरै उत्पादन दिने किसिमको थिएन । त्यसेले पनि धेरै उत्पादन दिने बिउहरु निकै आवश्यक थियो । वर्षौसम्मको उपनिवेश र कृषिलाई आधुनिक बनाउन असमर्थ रहेको भारतमा यो अत्यन्तै आवश्यक थियो ।
स्वामिनाथनले त्यहि बेला गरेका कामहरुले भारतीय कृषि क्षेत्रमा हरित क्रान्ति ल्याएको थियो । जसमा धेरै उत्पादन हुने बिउहरुको बिकास गर्ने, सिचाईंको राम्रो व्यवस्था गर्ने र मलको उपलब्धता गराउने काम भएको थियो । मुख्य गरि पञ्जाब, हर्याणा र उत्तर प्रदेशको पश्चिमी क्षेत्रमा यी अभियानहरु चलाइएका थिए । यसले त्यो बेलाको कृषि उत्पादनको अवस्थालाई आश्चर्यजनक रुपमा परिवर्तन गरिदियो । १९६० देखि १९७०का बीच भारतमा धेरै उब्जाउ हुने बिउहरुसहित कृषि भयो, जसले देशमा हुन सक्ने भोकमारीलाई टारेको थियो ।
‘सन् १९४७ मा, जब भारत स्वतन्त्र भएको थियो, तब हामीले वर्षेनी ६ लाख टन गहुँ उत्पादन गरिरहेका थियौं’, स्वामिनाथनले भनेका छन्, ‘१९६२ मा उत्पादन १० लाख टन प्रति वर्ष पुगेको थियो । तर, १९६४ देखि १९६८ सम्ममा वार्षित उत्पादन १० लाख टनबाट बृद्धि भएर १७ लाख टन पुगेको थियो । उत्पादनमा यो निकै ठूलो बृद्धि थियो । र हामीले यसलाई एउटा क्रान्तिकारी कदम भनेका थियौं ।’
भारतमा रहेका परम्परागत गहुँ र धानका बीउहरुले हुने उत्पादन कम थियो । यसको कारण भने यीनिहरुको बोट अग्लो र पातलो हुन्थ्यो । जब फल लाग्थ्यो, तब यीनिहरु ढल्ने गर्थे । मलका कारण यी बिउहरुमा लाग्ने फल त बढ्यो, तर बोटले त्यसलाई थाम्न सकेको थिएन ।
स्वामिनाथनले धानका बोटहरुको उचाई कम गर्नका लागि अनुसन्धान गरेका थिए । तर, यो सहज थिएन । यहि खोजले उनी अमेरिकी बैज्ञानिक अरभिल भोगेलसँग भेटन पुगेका थिए । उनले पुड्के गहुँको बिउ उत्पादनमा भूमिका खेलेका थिए, जसलाई गैनेस भनिन्थ्यो । उचाई सानो भएतापनि यसले उत्पादन भने बढी दिन्थ्यो । तर, भारतीय वातावरणका लागि यो ठीक थियो कि थिएन भन्नेमा भने स्पष्टता थिएन ।
स्वामिनाथनलाई भोगेलले नोर्मान बोरलौजलाई भेट्न सुझाएका थिए । भोरलौजले मेक्सिकोका लागि यस्तै किसिमका पुड्का गहुँका बीउहरु उत्पादन गरेका थिए, जुन भारतका लागि पनि उपयुक्त थियो । उनीसँगको भेटपछि उनले भारतस्थित भारतीय कृषि अनुसन्धान प्रतिष्ठानमा गहुँको बिउको विषयलाई छलफल गराएका थिए ।
१९६३ बाट पुड्का गहुँहरुको बिउ रोप्ने काम सुरु भयो । पाँच वर्षभित्रमा यसले भारतमा गहुँको क्रान्ति ल्याइदिएको थियो ।
१९६१ देखि १९७२ सम्म स्वामिनाथन भारतीय कृषि अनुसन्धान केन्द्रमा निर्देशकका रुपमा सहित अन्य थुप्रै भारतीय एजेन्सीहरुमा काम गरेका थिए ।
२००४ मा उनलाई भारतको ‘नेसनल कमिसन अन फामर्स’का अध्यक्षका रुपमा नियुक्त भएका थिए । उक्त संस्थाको काम कृषिमा सफलता नपाएर किसानहरुले अपनाइरहेको आत्महत्याको विषयसँगै अन्य विभिन्न समस्याहरुलाई समाधान गर्नु थियो । स्वमिनाथनले उक्त संस्थामा रहँदा पनि साना किसानहरुको हक र अधिकारका लागि निरन्तर वकालत गरे । सँगै दीर्घकालिन कृषि अभ्यासलाई पनि उनले प्रोत्साहन गरिरहे । उनकै कारण भारतमा भारतीय महिला सशक्तिकरण योजना कार्यक्रम पनि सुरु भएको थियो ।
१९८८ मा उनले एमएस स्वामिनाथन रिसर्च फाउन्डेसनको सुरुवात गरेका थिए । उक्त संस्थाको उद्देश्य आधुनिक विज्ञानको प्रयोगबाट दीर्घकालीन कृषि र ग्रामिण विकासलाई तीव्रता दिनु थियो ।
‘स्वामिनाथनको नाम इतिहासमा भारतलाई भोकमारीबाट बाहिर ल्याउने व्यक्तिको रुपमा रहनेछ’,एग्रोइकोनोमिक्स्ट डिभेन्दर शर्माले डाउन टु अर्थसँग गरेको कुराकानीमा भनेका छन्, ‘२० औं शताब्दीको यो सबैभन्दा ठूलो उपलब्धी हो, जसले भारतसँगै विश्वलाई नै योगदान पुर्याएको छ ।’