मनसुन बाहिरिने दिन लम्बियो, धानवाली नकाट्न सुझाव
काठमाडौं । नेपालबाट मनसुन बाहिरिन समय लाग्ने भएकाले मौसमविद्ले तत्कालै धानबाली नकाट्न सुझाव दिएको छ ।
जल तथा मौसम विज्ञान विभागले मनसुन बाहिरिने दिन लम्बिएका कारण किसानलाई तत्काल धान नकाट्न आग्रह गरेको हो । यदि काटी सकिएको छ भने घरभित्र भित्र्याइ हाल्न अनुरोधसमेत गरेको छ ।
विभागका मौसमविद् वरुण पौडेलका अनुसार साधारणतया अक्टुवर २ देखि मनसुन बाहिरिने भए पनि नेपालबाट बाहिरिन अझै केही दिन लाग्ने भएको छ ।
उनका अनुसार पछिल्लो समयको मौसमको विश्लेषणको आधारमा सोमबार मनसुन बाहिरिने दिन प्रक्षेषण गरिए पनि यो बर्ष अझै लम्बिने देखिएको हो । ‘यो मनसुन बाहिरिन अझै करिब १ साता जति लाग्ने सम्भावना देखिएको छ,’ मौसमविद् पौडेलले भने।
उनका अनुसार मनसुनको न्युन चापीय रेखा करिब आफ्नै स्थानमा छ । भारतको विहार र पश्चिम बंगाल खाडी आसपासको क्षेत्रमा रहेको न्युन चापीय क्षेत्रको प्रभाव परेका कारण मनसुन बाहिरिन समय लागेको हो । यसले गर्दा दिनभर मौसम बदली भएर पानी परेको हो ।
केहि दिन अझै मौसम बदली भएर विभिन्न स्थानमा बर्षा भइरहने भएकाले यो समयमा किसानले धान वाली नकाटेको उपयुक्त हुने विभागले जनाएको छ ।
‘यो वेला धानवाली भित्र्याउने समय हो । नकाटेको छ भने न काट्दा नै वेश हुन्छ,’ पौडेलले भने, ‘काटिएको छ भने घरभित्र भित्र्याइ हाल्नुपर्छ । काटिएको धान बाहिर छाडिएको छ भने धानलाई यसले नकारात्मक असर गर्छ ।’
विभागले पूर्वबाट भित्रिएको मनसुन पश्चिमबाट बाहिरिने जनाएको छ । कोशी, मधेश, लुम्बिनी र वागमती प्रदेशमा अझै भारी बर्षाको सम्भावना देखिएको विभागले बताएको छ ।
भारतको उडिसा, छत्तिसगढ, विहारलगायत क्षेत्रमा पनि मौसम बदली भएर धेरथोर बर्षा भइरहेको छ ।
यो वर्ष नेपालमा जनु १४ अर्थात् जेठ ३१ मा मनसुन भित्रिएको थियो । तर त्यसको नौं दिनपछि मात्रै असार ८ गते मनसुन देशैभरी फैलिएको थियो ।
शुरुमा कोसी प्रदेश, मधेश र गण्डकी प्रदेशको पूर्वी भुभाग र बागमती प्रदेशका अधिकांश भू–भागमा मनसुनको आगमन भएको थियो ।
यो बर्ष मनसुनको शुरुआती समयमै पूर्वी नेपालमा भारी भारी वर्षापछिको बाढी र पहिरोले वितण्डा मच्चाउँदा ठूलो धनजनको क्षति भएको थियो ।
यसपाली १२ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान थियो । मनसुनका समयमा औषतभन्दा कम पानी पर्ने आंकलनसमेत गरिएको थियो ।
औषतभन्दा कम पानी पर्ने अनुमानका बीच केही स्थान केन्द्रित भएर मनसुनी वर्षा हुँदा भने पूर्वी र पश्चिम नेपालललगायत केही स्थानमा भने ठूलो जनधनको क्षति गराएको छ ।
जल तथा मौसम विज्ञान विभागले विगत १० वर्षको मनसुनी प्रणाली विष्लेषण गरेर केही वर्षअघि निकालेको निष्कर्षका आधारमा सामान्यतः मौसम बाहिरिने दिन सोमबारलाई अनुमान गरेको थियो ।
बेमौसमी वर्षाले ठूलो क्षति
पाकिसकेको धान भित्र्याउने समयमा २०७८ सालमा बेमौसमी बर्षाका कारण देशभरकै किसानले ठूलो क्षति व्यहोर्नु परेको थियो।
त्यो वेला असोजको अन्तिम साता र कात्तिकमा भएको बेमौसमी बर्षाका कारण पाकिसकेको तर काट्न बाँकी रहेको धानवाली खेतमै गलेर नष्ट भएको थियो ।
यस्तै काटिसकेको तर घर भित्र्याउन नपाएको धानवालीसमेत गलेर नष्ट हुँदा त्यो वर्ष किसानले धानवालीमा ठूलो नोक्सानी उठाउन बाध्य भएका थिए ।
धानबालीमा क्षति भोगेका किसानलाई सरकारको ६५ प्रतिशतसम्म राहत
पाकेको धान भित्र्याउन नसक्दा अविरल वर्षाका कारण क्षति व्यहोरेका किसानलाई त्यो वर्ष सरकारले ६५ प्रतिशतसम्म राहत उपलब्ध गराएको थियो ।
धानवालीमा नोक्सानी व्यहोरेका किसानको हकमा सरकारले तत्कालीन समयमा १० कठ्ठाभन्दा कम जग्गा भएका किसानलाई क्षतिको ६५ प्रतिशत, १० कठ्ठादेखि ३ विघासम्म जग्गा भएका किसानलाई क्षतिको ३० प्रतिशतसम्म र ३ विघादेखि बढी जग्गा भएका किसानलाई क्षतिको २० प्रतिशत राहत उपलब्ध गराएको थियो ।
बेमौसमी बर्षाका कारण त्यो वेला देशभर १ लाख ११ हजार हेक्टर जमिनको धानवाली नष्ट भएको थियो । सरकारले तत्कालीन समयमा नोक्सानीको आधारमा करिब ५ अर्ब ५२ करोड रुपैयाँ बराबरको राहत उपलब्ध गराएको थियो ।