किमालाल र पिठीको कथा



“हाम्रो भेट यति नै हुनसक्छ किमालाल !”

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाह्य गमन कक्षमा पिठीले गह आँसु पार्दै भनिन् ।

“आफ्नो ख्याल गर्नु। बाँचुन्जेल नभुल्नु।”

“यसो नभन पिठी ।”

किमालालले आँखा टिल्पिलाउदै पिठीलाई अँगाल्यो। पिठीको कुममा आँसु पुछ्दै भन्यो –

“म फेरी आउने छु । हाम्रो भेटको थुप्रै एपिसोड बाँकी नै छ । म अहिल्यै यहाँ समाप्त लेख्न चाहान्न । बरु क्रमश: लेख्नुछ । क्रमशः शब्द साह्रै राम्रो, मिठो र देख्दै स्वाउँदिलो लाग्छ । साक्षात म:म: जस्तो । हामी उसैगरी मिल्नेछौँ । जसरी पहिले मिले थियौं । एभरेस्ट म:म: सेन्टरको बिशाल म:म: डेक्चीमा बाफिएर हरर बास्ना छुटाउँदै बटुवाको नाथ्री फुटाउने छौँ । ”

“खै के भनु ! मलाइ त अत्यास मात्रै लाग्छ ।

मलाई भोट जानेको फर्केलान् भन्ने विश्वास लाग्दैन ।”

पिठीले आशंकापूर्वक किमालाललाई भनिन् –

“उहिले मुनामदनमा मदन यसैगरी भोट गएथ्यो फर्किन्छु भन्दै । मुनाको जुनी गयो । मदन फर्किएन । धन कमाउँछु भनेर गएको मदनलाई महाकवि नै लाग्दा त फर्काउन सकेनन् तिमी त आहार बन्न जाँदै छौ ।”

“खण्डकाव्यको कुरा सम्झेर वास्तविक जीवनमा बिरक्तिनु हुन्न पिठी । यसले मनलाई खण्डहर बनाउछ।”

किमलाल आफैँलाई पटक्कै विश्वास थिएन । तैपनि पिठीलाई आश्वस्त बनाउदै भन्यो – म आउने छु ।”

सधै मान्छेको भीडभाड हुने सहर काठमाडौंमा, तिनै मान्छेहरुको स्वाद, सन्तुष्टी र परिकारको लागि भैंसीको मासुको समूह बस्थ्यो । तिनीहरू कोहि नेपालकै विभिन्न भागबाट आएका र माग बढी भएसी भारतबाट आएका विभिन्न प्रकारका समूह थिए । कोहि भर्खरका पाडापाडी कोही बयस्कदेखि कोहि जोत्दा जोत्दै थाकेका त कोही पाडापाडी र दुध दिँदादिँदै थाकेका राँगाभैंसीका थिए । तिनीहरुको पहिलो सपना भ्यारभ्यारेमा पिठीभित्र डल्लो परेर मम बन्नु थियो । कोहि छोइला कचिला, बन्न चाहान्थे । चाउमिन साउमिन अरु थुप्रै परिकारमा संलग्न नि थुप्रै भैसी मासुहुरु थिए। तर चीन, उनीहरुको सपनामा थिएन ।

एक दिन, तिनीहरूको सपना फेरियो । प्रधानमन्त्री प्रचण्डले भैंसीको मासु निर्यात गर्न चीनसँग सम्झौता गरे। भैंसीको मासु खुसी भयो । एउटा ठूलो पर्खाल युक्त ठुलो देश र ठुलै शहरमा आफ्नो नयाँ जीवन सुरु गर्ने कुराले उनीहरुलाई तरंगित बनायो । जहिल्यै नेपालीको पेटमा ग्यान्स्ट्रीको गर्मीले बसीनसक्नु भएका भैंसीको मासुले चाइनिज को पेटमा विलासी जीवनको सपना देख्न थाले ।

तर एउटा समस्या थियो । नेपालमा नेपाली बजारकै माग धान्न सक्ने भैंसीको मासु थिएन । नेपाली बजारकै माग पनि भारतबाट भैंसीको मासु ल्याएर धान्ने गरेको थियो । यस्तोमा चीनलाई कसरी भैँसीको मासु पठाउनु ?

तर एउटा कुरा पक्का थियो। भैंसीको मासु चीन जाने सम्भावना देखेर उत्साहित थिए । उनीहरू चाइनिज पेटमा पीआर पाउने कुराले खुसी थिए ।

पिठी किमालाललाई विदाई गरेर उदास मन लिएर घर फर्की। पिठिलाई खास रमाइलो थिएन। भन्न त किमालालले भनेको थियो – म चीन गएसी नेपाली बफ: ममको स्वादबारे चाइनिजलाई बताउँछु । त्यसपछि तिमीलाई बोलाएर तिम्रो नि पीआर मिलाउछु। किमा लाल आफैमा अन्योलमा थियो। के हुन्छ के हुन्न अनविज्ञ थियो ।

पिठी घर फर्केसी पिठीको बाले भने – कहाँ गएकी थिइस। किमा नभासी ममको खासै स्वाद हरायो रे भनेर समोसा बनाउने कुरा थियो । तँ त समोसा नबसि कि भनेर चिन्तित थिएँ। धन्न फर्किछस्। पिठी रिसाई – बरु घुनको आहार बन्छु। समोसा बन्दिन । समोसा बन्न पटक्कै मन पर्दैन। तेलमा खारिएर अनुहार भस्मै डड्छ। अनुहार कालो हुन्छ। किमालालले भिडियो कलमा नि नचिन्ला भन्ने डर ।

उनीहरु प्रस्थान कक्षमा छिरेसी प्रतीक्षा कक्षमा भैंसीको मासुको भिड थियो । ती सबै नयाँनयाँ बक्स र क्रेनहरूमा सजिएका थिए।

विमान चढ्नको लागि कुर्दै गर्दा भैंसीको मासुहरूले आपसमा कुरा गर्न थाले । उनीहरूले चीनमा आफ्नो नयाँ जीवनको लागि आफ्नो आशा र सपनाको बारेमा कुरा गरे । उनीहरुले आफ्नो काठमाडौंको यात्रा र कसरी बाकसमा पुगे भन्ने कुरा पनि सुनाए ।

मामुली भैंसीको मासुले आफ्नो कथा सुनाउन थाल्यो । उसले हिमालयको फेदमा रहेको एउटा सानो गाउँबाट आएका एक भैंसीको मासु किसानले कसरी काठमाडौं ल्याएका थिए भन्ने कथा सुनायो । किसानले भैंसी एक कसाइलाई बेचेको थियो, जसले उसलाई मारेर मासु प्रशोधन गरेको थियो ।

भारतबाट आएका अर्का भैंसीको मासुले आफूलाई व्यापारीहरूको समूहले कसरी नेपाल तस्करी गरेको कथा सुनाए । तरकारीले भरिएको ट्रकमा लुकाएर बाटोमा निसास्सिएको थियो । उसले यो सकस सुनाउँदा अरुहरुले नि गोठदेखि भान्सासम्मको निसासिँदो सकस सम्झिए ।

भिडमा मिस्टर मुर्रा मासु अलि खाइलाग्दो र खानेपानीयुक्त थियो । उसले पनि आफ्नो कथा सुनाउन थाल्यो । नेपालका प्रधानमन्त्री प्रचण्डजी भारत भ्रमण आउनुभएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले नेपाली प्रधानमन्त्रीलाई दिने उम्दा उपहार के होला भनेर सोच्दा उनको दिमागमा झट्ट मेरो नाम आयो । उहाँले मलाई नै पठाइदिनुभयो । आएँ । भारतमा नि मेरो राम्रै थियो । नेपालमा सिङ्गो बस्दा होस् कि टुक्रिएर मासु बन्दा मेरो राम्रै थियो । अब चाइना जाने भएसी अलिकति क्वालिटीको मासुको लागी म आए । बरु मसला पो के प्रयोग गर्छन चाइनिजले । आफुलाई फेरी मसला राम्रो परेन भने एलर्जी हुन्छ ।

मुर्राले आफूले आफ्नै फुर्ती लगाएको कसैलाई मन परेन । सबभन्दा सहि नसाध्ने भगवान भैंसी मासुलाई भयो । ‘ए रात्तै ! खुद प्रधानमन्त्रीले पुजेको भैंसी मासुको अगाडि अस्ति आको मुर्रो मासुले फुर्ती लगाउने ?’ भगवान् भैंसीको मासुले भने – खास प्रधानमन्त्रीलाई मै पठाउन त मन थिएन । सिङ्गै राखेर पूजा गर्नुपर्ने भैंसीलाई काटेर पठाउन मन कुन पुजारीलाई ? आखिर गह्रौं मन गरेर पठाउनुभो मलाई । तपाईंहरुलाई भूत लाग्ला भनेर । खास मलाई आउनै मन थिएन । तपाईहरुको रक्षार्थ आउनुपर्यो।

भैंसीको मासुले एकअर्काका कथाहरू एक-अर्काको ध्यान दिएर सुने । काठमाडौं पुग्नका लागि हिँडेका विभिन्न बाटो देखेर र चीन जानुका अन्तरकथा सुनेर उनीहरु छक्क परे ।

तर एउटा कुरामा तिनीहरू सबै सहमत थिए कि तिनीहरू चीन जान पाउँदा कृतज्ञ थिए । उनीहरूलाई थाहा थियो कि यो तिनीहरूको लागि नयाँ सुरुवात हुनेछ, र तिनीहरू भविष्यमा के हुनेछ भनेर हेर्न उत्साहित थिए।

अन्ततः, विमान चढ्ने समय भयो । भैंसीको मासुले एकअर्कालाई शुभ यात्रासहित बिदाइ गरे र सम्पर्कमा रहने वाचा गरे । त्यसपछि उनीहरू विमानमा चढे र आ-आफ्नो सिटमा बसे ।

विमान उड्ने बित्तिकै भैंसीको मासुहरूले झ्यालबाट बाहिर हेरे र तल काठमाडौं सहर हराएको देखे । तिनीहरू उत्साह, आशंका र कौतुहलता को मिश्रणले भरिएका थिए । किमालाल बोलिरहेको थिएन । चीनमा सुरु हुने नयाँ जीवनले उसलाई खासै उत्साहित बनाएको थिएन । उसलाई आफ्नो घर र पिठीको यादले विमानकै गतिमा लखेटिरह्यो ।

चीनसम्मको उडान लामो थियो, तर भैंसीको मासुहरूलाई त्यो खासै पर्वाह थिएन । उनीहरु एकअर्कासँग कुरा गर्न र आ–आफ्ना कथाहरु सेयर गर्न निकै व्यस्त थिए ।

एउटा भैंसीको मासुले चिनियाँ ड्रागन र पानीको भैंसीको बारेमा चुट्किला सुनायो । अर्को भैंसीको मासुले हिमालयको सुन्दरताको बारेमा गीत गाएको थियो । बाँकीले ताली पिटे। केहीबेर उनीहरुले अन्ताक्षरी खेले।

भैंसीको मासुहरू हाँसे र सँगै गाए । तिनीहरू चाँडै साथी भए । जब विमान चीनमा अवतरण भयो, उनीहरूले एकअर्कालाई जुगदेखि चिनेको महसुस गरे।

जब विमान अवतरण भयो, भैंसीको मासु अनलोड गरियो र प्रशोधन प्लान्टमा लगियो । त्यहाँ उनीहरूलाई चिनियाँ अधिकारीहरूले निरीक्षण गरे र त्यसपछि देशका विभिन्न भागमा पठाए ।

केही भैंसीको मासु रेस्टुरेन्टमा पठाइयो, जहाँ तिनीहरूलाई पेकिङ डक र डम्पिङ जस्ता स्वादिष्ट परिकारहरू बनाउन प्रयोग गरिन्थ्यो । अरूलाई सुपरमार्केटहरूमा पठाइयो, जहाँ तिनीहरू चिनियाँ उपभोक्ताहरूलाई बेचिन्थ्यो।

भैंसीको मासु चीनमा आफूहरुलाई पाउँदा खुसी थिए । देशले दिएको नयाँ अवसरका लागि उनीहरू कृतज्ञ थिए । उनीहरूलाई पनि थाहा थियो कि उनीहरूले आफ्नो देशलाई गौरवान्वित गरिरहेका छन् । आफ्नो अपार स्वादिस्टीले देशको नाम चम्काइरहेका छन् ।

आखिर चीनमा निर्यात हुने ती पहिलो नेपाली भैंसीको मासु हुन् । र त्यो तिनीहरुको गर्व गर्न लायक कुरा थियो।

रेस्टुरेन्टमा पठाइएको भैंसीको मासु ठूलो सफलता थियो । चिनियाँहरुलाई तिनीहरूको स्वाद र गुणस्तर मन पर्यो ।

सुपरमार्केटहरूमा पठाइएका भैंसीको मासुलाई चिनियाँ उपभोक्ताहरूले पनि राम्रै रुचाए । उनीहरूले मासु ताजा र गुणस्तरीय भएको तथ्यलाई प्रशंसा गरे।

भैंसी निर्यात सम्झौता नेपाल र चीन दुवैका लागि सफल भयो । यसले नेपालको अर्थतन्त्रलाई बढावा दिन मद्दत गर्‍यो र यसले चिनियाँ उपभोक्ताहरूलाई उच्च गुणस्तरको भैंसीको मासुमा पहुँच प्रदान गर्‍यो । र यो सबै भैंसीको मासुको समूहबाट सुरु भयो जसले चीन जाने सपना देखेका थिए । भैंसीको मासुहरू यस्तै सोच्दैथिए ।

विस्तारै चीनमा भैंसीको मासुको प्रवासी संगठनहरु पनि खुल्न थाले । नेपाल प्रवासी भैंसीको मासु एकता समाज, अखिल चीन नेपाल बफ परिकार संघ, लोकतान्त्रिक नेपाली भैंसीको मासु समाज लगायत थुप्रै संगठन खुले । विश्वभरीका नेपाली भैंसीको मासु मिलेर गैर आवासीय भैंसीको मासु संघ पनि खुल्यो ।

अब त भैंसीको मासुहरू हाम्रै रेमिटेन्सले देश चलिराछ भन्न पनि थालेका छन् । उनीहरु अहिले फेसबुक पनि चलाउन थालेका छन् । देश डुब्यो सकियो भन्न थालेका छन् । नेताहरुले देश बिगारे भन्दै फुर्सदको समयमा सोसल मिडियामा गाली गरेर देशलाई योगदान दिन थालेका छन् ।

पिठी बेलाबेला किमालाललाई फोन गर्छिन् । किमालाल गएसी नेपालमा मम पसल बन्द भए । चिकेन र भेज म:म कहिकही देखिन्छन् । भैंसीको मासु निर्यात गर्ने निहुँमा किमा बनाउने मासुसहित निर्यात गरिदिँदा काठमाडौंमा किमा बनाउने भैंसीको मासुको हाहाकार भयो । पिठीको म:म साउजी म:म पसल बन्द गरेर आफैं पनि विदेश हिँडे। अब पिठीको परिवार पसलकै बोरामा थन्किए ।

एकदिन किमालालल चीनकै प्रसिद्ध रेस्टुरेन्टमा स्वादिष्ट परिकार बन्यो । आफ्नो त्यो स्वादिष्ट रुपको हत्त न पत्त सेल्फी खिचेर किमालालले स्न्यापच्याटमा पिठीलाई पठायो डेलिभर भएन । प्यासेन्जर ह्वाट्सएप र वि च्याटमा कल गर्यो लागेन । फोन गर्यो लागेन । अन्त्यमा दिक्क भएर क्लिकमान्डू डट कम स्क्रोल गर्दै थियो । एउटा हेड लाइनमा पुगेसी उ थचक्क बस्यो । उसलाई आकाशै खसेजस्तो भो । हेडलाइनमा लेखिएको थियो – ‘सडक मिचेको म:म पसलमा डोजर लगाउँदा पसलमा रहेको एकाबोरा पिठो नस्ट !’


चाणक्य