भविष्यमा एआईले कस्तो जोखिम निम्त्याउँछ ? बिल गेट्स, एलन मस्क र मार्क जुकरबर्गलगायतको यस्तो धारणा



एजेन्सी । कृतिम वुद्धिमत्ता (एआई)को विषयमा भएको तीन घण्टा लामो सेनेटको छलफलमा सहभागी भएर बाहिरिँदै गर्दा विभिन्न टेक कम्पनीहरुका सिईओ एलन मस्कले यसबाट हुनसक्ने सम्भावित जोखिमको सारंश भने ।

‘शून्य नै होइन, तर त्योभन्दा माथि केही मात्रामा एआईले हामीलाई मार्नसक्ने जोखिम छ,’ मस्कले भने, ‘मलाई लाग्छ यो एकदमै न्यून छ । तर, पनि केही न केही चान्स छ । एआईले गलत गर्दा हुने परिणामहरु निकै डरलाग्दा छन् ।’ सँगै उनले अमेरिकी सेनेटमा भएको बैठक ‘मानव सभ्यताका लागि निकै महत्वपूर्ण भएको रुपमा इतिहासमा सम्झिइने’ पनि बताए ।

उक्त छलफलको आयोजना अमेरिकी संसद (सेनेट)मा बहुमत भएका नेता चक शुमेरले गरेका थिए । छलफलमा विश्वका ठूला टेक कम्पनीका सिईओ, नागरिक समाजमा नेतृत्वकर्ता र ६० जना सांसदहरु सहभागी भएका थिए ।

९ मध्येको पहिलो सेसनको लक्ष्य सबै क्षेत्रका मानिसहरुबीच सहमति बनाउने थियो । किनकी अमेरिकी सेनेटले तीवै रुपमा विकसित हुँदै गएको एआई उद्योगको नियमनका लागि कानुनको मस्यौदा तयार गर्ने तयारी गरिरहेको छ । उक्त छलफल भएको समूहमा विश्वका शीर्ष टेक कम्पनी मेटा, गुगल, ओपन एआई, एनभिडिया र आईबिएमका सिईओहरु पनि सहभागी थिए।

पत्रकारसँग कुरा गर्दै शुमरले बताएअनुसार केन्द्रिय सरकारले एआईको विषयमा ध्यान दिनुपर्छ कि पर्दैन भन्ने कुरामा सबैले ‘पर्छ’ भन्दै हात उठाएका थिए । तर, सरकारले निभाउने भूमिका कस्तो हुन्छ र नियमन गर्दा कुन कुन पक्षहरुमा गरिन्छ भन्ने कुरा भने निष्कर्ष बिहिन रहेको सहभागीहरुले बताएका छन् ।

एआईको फाइदा र जोखिम

टेक अर्बपति बिल गेट्सले एआईको प्रयोगमार्फत गरिब र भोकाहरुको समस्या समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा आफ्नो तर्क राखेका थिए । सँगै एक अर्का सहभागीले एआईबाट हुने फाइदाहरुको भरपुर उपयोग गर्नका लागि यो क्षेत्रमा रुपान्तरणकारी परिवर्तन हुनुपर्ने र त्यसका लागि अर्बौं रुपैयाँ आवश्यक भएको बताए ।

सांसदहरुलाई चुनौती भने एआईका फाइदाहरुलाई प्रोत्साहन गर्दै यसबाट हुन सक्ने जोखिमलाई कम गर्ने रहेको छ । एक्स तथा टेस्लाजस्ता कम्पनीका मालिक मस्ककाअनुसार जोखिममा प्रविधिमा आधारित विभेद, राष्ट्रिय सुरक्षा तथा सभ्यतामाथिको जोखिम पनि रहेका छन् ।

‘हामी फाइदालाई बढोत्तरी गर्न र जोखिम तथा क्षतीलाई कम गर्न चाहन्छौं’, ९ मध्येको पहिलो सेसनको आयोजना गरेका शुमर भन्छन्, ‘र यो नै हाम्रो लागि चुनौतीले भरिएको छ ।’

छलफलबाट बाहिरिएका सेनेटरहरुका अनुसार उनीहरुले थुप्रै किसिमका दृष्टिकोणहरु सुनेका छन् । श्रम संगठन (लेबर युनियन)का प्रतिनिधिहरुले जागिर गुम्ने डरको विषय उठाएका छन् । नागरिक समाजका नेताहरुले समावेशी न्यायिक प्रक्रियाबाट समाजमा रहेका कम शक्तिशालीलाई आवाज दिनुपर्ने कुरामा जोड दिए ।

वासिंगटनका डेमोक्रेटिक सांसद् मारिया कान्टवेल सबैले एआईलाई स्वचालित रुपमा कुनै पनि उपकरणमा एक्लै छाड्न नहुने कुरामा सहमति जनाएको बताइन् । उनले भनिन्, ‘मलाई लाग्छ माईक्रोसफ्टका सत्य नडेलाले सबैभन्दा राम्रो कुरा बताए ।’

‘जब एआईको विषय आउँछ, तब हामी अटोपाइलटको विषयमा सोच्नु हुँदैन । हामीले कोपाइलट चाहिएको पक्षबाट सोच्नुपर्छ,’ नडेलाले भनेका कुरा उदृत गर्दै मारियाले भनिन् ।

यसो भएमा एआईको सहायताबाट भइरहेको कामको निगरानी अरु कसैले राखिरहने र राम्रो तथा सहि रुपमा भइरहेको पनि निर्धारण हुने उनले बताइन् ।

तर, छलफलमा कतिपय विषयमा भने बहस नै भएन् । मारियाकाअनुसार एआईको नियमन गर्नका लागि बेग्लै निकाय चाहिन्छ भन्ने विषयमा कुनै पनि छलफल नभएको उनले बताइन ।

तर, एलन मस्कले भने पत्रकारहरुसँग कुरा गर्दै आफूलाई छलफलपछि एउटा स्वतन्त्र निकाय एआईको नियमनका लागि कुनै न कुनै अवस्थामा आवश्यक पर्ने लागेको बताए ।

नीति निर्माताहरुले पछिल्लो समय एआईमा भइरहेको विकासलाई लिएर ध्यान दिनुपर्ने तर्क राखिरहेका छन् । पछिल्लो पटक जेनेरेटिभ एआईका रुपमा आएको च्याटजिपिटीले चर्चित भएको एआई प्रविधिबाट रोजगारी विस्थापन हुने डर, बौद्धिक सम्पत्तिको अधिकार हनन हुने जोखिम तथा राष्ट्रिय सुरक्षामा हुने क्षति जस्ता विषयहरुलाई लिएर एआईको नियमन हुनुपर्ने आवाज उडिरहेको छ ।

आईबिएमका सिईओ अर्बिन्द कृष्णले छलफलका क्रममा अमेरिकी नीतिले एआईको जोखिम र यसको अवैधानिक प्रयोगको विषयलाई नियमन गनुपर्ने बताए । एआईको अल्गोरिदमलाई मात्रै नियमन गर्नेतर्फ ध्यान नदिएर यसतर्फ ध्यान दिनुपर्ने उनको तर्क थियो । उनले भने, ‘नीतिहरु एआई कस्तो ठाउँ र कुन प्रयोजनका लागि प्रयोग भइरहेको छ भन्ने कुरामा नियमन गर्ने रुपमा जिम्मेवार हुनुपर्छ ।’

च्याटजिपिटीको मुल कम्पनी ओपन एआईका सिईओ स्याम अल्टम्यानले धेरैलाई आश्चर्यमा पारे । उनले यो उद्योगमा नयाँ नीति नियमहरु चाहिने बताए । जसलाई केही सांसदहरुले सामाजिक सञ्जाल नियमन गर्ने विषय ल्याउँदा सो उद्योगका मान्छेहरुले नकारेको विषयको ठीक विपरित भएको र अल्टम्यान पनि जिम्मवार देखिएको तर्कसहित प्रतिक्रिया दिएका थिए ।

सीएनएनबाट


क्लिकमान्डु