सधैं तनाव दिने दब्ल्याङको पहिरो



सांकेतिक तस्बिर

बागलुङ । असारयता राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर पटक-पटक ठप्प भयो । वर्षा हुनेबित्तिकै बागलुङ नगरपालिका-१० दब्ल्याङमा पहिरो झरिहाल्छ ।

कोरिडोरको वैकल्पिक सडकका रुपमा रहेको बागलुङ-कुश्मिसेरा सडकखण्ड माथिबाट खस्ने पहिरोले दुवै सडक ठप्प हुन्छन् । पानी पर्नेबित्तिकै सडक अवरुद्ध हुँदा नगरपालिकाले सयौँ पटक यहाँ डोजर पठाउँदा हैरानै भइसकेको छ भने यातायात चालक र स्थानीयले सास्ती खेपिरनुपरेको छ । दिनभर ठूलो वर्षा भयो भने तीन दिनसम्म सडक खुल्ने अवस्था रहन्न ।

राति पानी पर्‍यो भने बिहान कहिल्यै पनि गाडी चल्न पाएका छैनन् । नियमित गाडी नचल्दा दक्षिण बागलुङमा सामान ढुवानी गर्न र बिरामी अस्पतालसम्म ल्याउन निकै कठिन हुने गरेको छ ।

पहिरोले कोरिडोर र वैकल्पिक सडक अवरुद्ध बनाउँदा पैदलयात्रु पनि लामो बाटो प्रयोग गर्न विवश छन् । सडकको मध्य भागमै ठूलो पहिरो झरिराख्ने हुँदा यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य हुन्छन् ।

पटक-पटकको सडक अवरुद्धले गर्दा बजारदेखि दक्षिण क्षेत्रमा सामान ढ्वानी गर्न र दक्षिणबाट किसानले उत्पादन गरेका दूध तथा तरकारी बजार ल्याउन कठिन हुने गरेको स्थानीय पदमप्रसाद पौडेलले बताए ।

गाउँमा दैनिक दूध उत्पादन हुने भन्दै सडकका कारण बजारमा समयमै ल्याउन नपाउँदा ठूलो नोक्सानी हुने गरेको गुनासो उनले गरे । पैदल यात्रामार्फत दक्षिणबाट बागलुङ आउन कैयुको लामो झोलुङ्गे पुल तरेर कुश्मा हुँदै आउँदा झण्झटिलो र धेरै खर्चिलो हुने पौडेलको भनाइ छ ।

पहिरोले तीन वर्षदेखि दक्षिण क्षेत्रका हजारौँ नागरिकलाई सास्ती दिँदा स्थानीय, प्रदेश र केन्द्र सरकारले पहिरो रोकथामको काम गर्न नसकेको उनको गुनासो छ ।

नगर प्रमुख वसन्तकुमार श्रेष्ठले पहिरोको दीर्घकालीन समाधान नहुँदा नगरपालिकाको लाखौँ रकम नोक्सान भइरहेको बताए । उनले सडक अवरुद्ध हुँनेबित्तिकै नगरपालिकाले कर्मचारी र मेसिन लगाउँदै आएको बताए । सडक डिभिजनको काम भए पनि नगरपालिकाले जनताको सहजताका लागि लाखौँ खर्च गरेर सडक खुलाउँदै आएको उनको भनाइ छ ।

चार महिनादेखि पहिरो नियन्त्रणका लागि गण्डकी प्रदेशले प्रयास गरे पनि अहिलेसम्म कुनै पनि काम सुरु भएको छैन । पहिरो नियन्त्रण र निर्माणका लागि ‘एक्सप्लोरर जियोलोजिकल कन्सल्टेन्सी’ले अध्ययन गरेर पाँच करोड लागतमा सडक पुनर्निर्माण गर्न सुझाव दिएको थियो ।

प्रदेश सरकारबाट यो काम अगाडि बढेको छैन । पहिरो नियन्त्रण नहुँदा बागलुङ बजारमा आउने तरकारी, खाद्यान्न र दूध वितरणमा समस्या भएको किसानको गुनासो छ ।

सात सय ५० मिटर लामो र एक सय ५० मिटर चौडा पहिरोले सयौं रोपनी जमिन बगिसकेको छ भने थुप्रै घर जोखिममा परेका छन् । यात्रा गदागर्दै पहिरोले सडक अवरुद्ध हुँदा यात्रु सडकमै अलपत्रसमेत हुने गरेका छन् ।


रवि धिताल