बाह्रै महिना पोलेका मकैः पहाडमा हराउँदै सहरमा मौलाउँदै मकै संस्कृति



पार्कहरुमा त युवा युवतीको युगल जोडीले अंगालो मारेर पोलेको मकै खाँदै मिठासपूर्ण बात मार्दै गरेको दृश्य सहरिया क्षेत्रमा सामान्य भइसकेको छ ।

काठमाडौं । एक समय यस्तो थियो, पहाडी र हिमाली भेगका सर्वसाधारण खाना होस् वा खाजाको रुपमा मकै नै उपभोग गर्थे । त्यति सारो चामलको उत्पादन नहुँदा स्थानीयस्तरमा अत्याधिक परिमाणमा उत्पादन हुने मकै नै प्रमुख खान्की वा खाद्यान्नको रुपमा पहाडी भेगका बासिन्दाको मुख्य स्रोत बनेको थियो। चामल भनेपछि कि त पहुँचवाला कि त राम्रै आम्दानी हुनेले चाडबाडमा उपभोग गर्न सक्षम थिए ।

तर, पछिल्लो समयमा यो परिवेश विल्कुलै फेरिएको छ । सडकको पहुँच, क्रयशक्ति र जीवनस्तर वृद्धिका कारण पहाडी र हिमाली भेगका बासिन्दाको खाद्यान्नको मुख्य स्रोतमा मकैको साटो चामल प्राथमिकतामा पर्न थालेको छ । पोषण र खाद्य सुुरक्षाको दृष्टिकोणले सबैभन्दा बढी पौष्टिक खाद्य पदार्थ मकैलाई पहाडी र हिमाली क्षेत्रका बासिन्दाले विस्तारै अब गाई भैंसी, खसीबोका र कुखुरालाई खुवाउने खाद्यान्नको रुपमा प्रयोग गर्न थालेका छन् । उता सहरीयाबासीको खाद्यान्नको मुख्य स्रोत चामलको उपभोग दर अहिले विस्तारै घट्दो क्रममा छ ।

हिमाली र पहाडी भेगका बासिन्दाले मकै खाने संस्कृतिलाई विस्तारै छाड्दै गएको अवस्थामा सहरियाबासीले भने मकै खाने संस्कृतिलाई पछ्याउँदै लगेका छन् । यसैको प्रतिफल हो, सहरमा अहिले सर्वसाधारणको भान्छा कोठादेखि ठुलठुला होटेल, चमेनागृह र रेष्टुँरामा मकैको स्वादिस्ट परिकार पाक्न थालेको छ । सहरमा मकै खाने संस्कृति निक्कै चलन चल्तीमा छ ।

त्यो पनि सबैभन्दा बढी दिउँसो र बेलुकाको समयमा चोक-चोक, गल्ली गल्ली र रमनीय पार्कहरुमा पोलेर मकै खाने संस्कृति मौलाउँदै गएको हो । पार्कहरुमा त युवायुवतीको युगल जोडीले अंगालो मारेर पोलेको मकै खाँदै मिठासपूर्ण वात मार्दै गरेको दृश्य शहरिया क्षेत्रमा सामान्य भइसकेको छ ।

अहिले सहरी क्षेत्रमा मकैको अचार, मम, चाउमिन, मकैको फ्राइड राइस, मकैको भात, उसिनेर, पिठोको रोटीको रुपमा, ढिडोको रुपमा, सुपको रुपमा, जुसको रुपमा, भुटेर र पपकर्नको रुपमा मकैको उपभोग संस्कृति बढ्दै गएको छ । यसबाहेक पशुपन्छीलाई दानाको रुपमा पनि मकैको उपभोग हुन्छ । यसमध्ये शहरी क्षेत्रमा अत्याधिक रुचाइएको पोलेर मकै खाने संस्कृति फैलिँदो छ ।

विज्ञहरुका अनुसार सहरी क्षेत्रमा पोलेर मकै खाने संस्कृति भित्रिएको समय धेरै भएको छैन । पछिल्लो करिब २० बर्ष यतादेखि पोलेको मकै खाने संस्कृति सहरी क्षेत्रमा देख्न थालिएको छ । यो संस्कृतिलार्ई मुर्तरुप दिन मकै वालीभन्दा १२ महिना उत्पादन हुने मकैको जातको अहम भूमिका छ ।

‘न बाह्रै महिना फल्ने मकैको जात विकास हुन्थ्यो, न सहरी क्षेत्रमा पोलेर मकै खाने संस्कृति भित्रिन्थ्यो,’ वरिष्ठ मकै वैज्ञानिक डा.केशवबाबु कोइराला भन्छन,‘दिनहुँ रुपमा चामलकै परिकार खाएर दिक्क मानेका सहरियाबासी जिव्रोको स्वाद फेर्न पछिल्लो समय मकैको परिकार खान पल्के । त्यसमध्ये सबैभन्दा बढी रुचाइएको पोलेको मकैं हो ।’

शहरीबासीको जिव्रोको स्वाद फेर्न वर्षे मकैवालीको योगदान कमै छ । अहिले सहरका चोक चोकमा बाह्रै महिना तातात्तै पोलेको मकै नुन खुर्सानीको अचारमा चोपेर खान पाइन्छ । कुनै ठाउँमा २० रुपैयाँ, अनि कुनै ठाँउमा २५ रुपैयाँमा सजिलै पोलेको मकै सडक किनार र ठेलाबाट किनेर जिव्रो पडकाउँदै खान पाइन्छ ।

वैज्ञानिक कोइरालाका अनुसार आजभोली मंसिर १५ देखि पुससम्म मात्रै नगदे वालीको रुपमा परिचित मकैको उत्पादन हुँदैन । बाँकी सबै महिनामा मकैको खेती हुन्छ । अहिले पहाडी र र उच्चपहाडी क्षेत्रमा एकपटक र तराई, भित्री मधेश, फाँट, टार र बेसीमा बाह्रै महिना मकैको खेती हुन थालेको छ ।

विज्ञहरुका अनुसार जस्तोसुकै जातको मकै पोलेर खान सकिन्न । पहेलो रंगको मात्रै पोलेर खाने चलन छ । अहिले अरुण दुई, रामपुर कम्पोजिट, पोषिलो मकै एक, रामपुर हाइब्रीड दुई, रामपुर हाईब्रीड चार, रामपुर हाईब्रीड ६, खुमल हाईब्रीड दुईजातका मकैको बीऊ प्रयोग गरी उत्पादन गरिएका हरियो मकै पोलेर खाइन्छ ।

अब फलाइन्छ बाह्रै महिना मकै

‘पहिले फागुनदेखि असारसम्म मात्रै वर्षे वालीको रुपमा मकै फलाइन्थ्यो, हिँजोआज खास गरी तराईसहित भित्री मधेश, फाँट, टार र बेसीमा बाह्रै महिना मकैको बोट लहलहाउन थालेको छ,’ बैज्ञानिक कोइरालाले भने ।

विज्ञकाअनुसार १० डिग्री सेल्सियसभन्दा बढी तापक्रम भएको भुगोल मिलेको जुनसुकै स्थानमा उन्नतसहित स्थानीय जातका मकै फलाउन सकिन्छ । अहिले त स्थानीय जातबाट पनि हिउँदमा दुई पटकसम्म उत्पादन लिन सकिन्छ ।

राष्ट्रिय मकैवाली अनुसन्धान कार्यक्रमका अनुसार अहिले चितवन, नवलपरासी, बारा, पर्सा, धनुषा, उदयपुर, डोटी, डडेलधुरालगायतको स्थानमा १२ महिना मकै उत्पादन गरिन्छ ।

घोघा लागेको हरियो मकैलाई पोलेर बिक्री गर्दा बजार पनि प्रसस्त पाइने र आम्दानी पनि उच्च हुने हुँदा किसानहरु पनि उत्पादन गर्न निक्कै हौसिएका छन् । खाद्यान्नको रुपमा यही मकै सुकाएर प्रतिकिलो २२ देखि २५ रुपैयाँमा बिक्री हुन्छ । नार्कले हालसम्म २७ वटा मकैको जात विकास गरेर सिफारिश गरिसकेको छ ।

स्वास्थवर्द्धक पनि

मकै स्वादिलो, स्वास्थवर्द्धक र सस्तो खाद्यान्न हो । यसको उपभोगले मानव शरिरलाई विभिन्न प्रकारका फायदा पुर्याउँछ । मकैमा भिटामिन, फाइवर, म्याग्नेशियम, पोटासियम, भिटामिन बी, एन्टिअक्सिडेन्टसहित ल्युटेनजस्ता पोषक तत्व प्रचुर मात्रामा पाइन्छ । उसिनेको मकै स्वास्थ्यका लागि सवैभन्दा उत्तम मानिन्छ । यसमा पाइने फाइवरका कारण यसको उपभोग गर्दा कब्जियतका साथै पेटसम्बन्धी समस्या समाधान गर्न उपयोगि हुन्छ ।

डायरिया र कोलन क्यान्सरजस्ता रोगबाट जोगाउन पनि ठूलो सहयोग गर्छ। यसले कोलेस्ट्रोल न्युनिकरण गर्न पनि सहयोग गर्छ। आइरनको कमी भएपनि एनिमिया हुन्छ । यस्तो अवस्थामा हाम्रो शरिरको लागि मकै सर्वोत्तम विकल्प हुन सक्छ । यसले आइरनको कमीलाई सजिलै पूरा गर्न सक्छ । यसमा कार्वोहाइड्रेट पर्याप्त मात्रामा पाइने हुँदा यसले शरिरलाई प्रचुर मात्रामा शक्ति प्रदान गर्छ । अहिले संसारभर कोलेस्ट्रोलको समस्या निम्तिएको छ । मकैमा भिटामिन सी, वायोफ्लेभोनायड, क्यारोटेनायड र फाइवर हुन्छ । यसले गर्दा कोलेस्ट्रोल कम गर्नुका साथै धमिनीमा हुने अवरोधलाई समेत खोल्न सहयोग गर्छ। मुटुलाई पनि स्वस्थ्य राख्न यसले सहयोग गर्छ । यसमा भिटामिन बी पाइन्छ । भिटामिन बीमा पान्टोफेनिक एसिड पाइन्छ, जसले कार्वोहाइड्रेट, लिपिड र प्रोटिन ग्रहणका लागि सहयोग प्रदान गर्छ । यसमा पाइने फेनोलिक फाइटोकेमिकल्सले उच्च रक्तचाप हुने समस्याबाट जोगाउँछ ।

मकैमा पाइने फाइबरले रगतमा ग्लुकोज जारी हुने क्रियालाई कम गरेर ब्लड सुगरलाई समान्य राख्न सहयोग गर्छ ।

नियमितरुपमा मकै सेवन गर्दा नन इन्सुलिन डिपेन्डेन्ट डाइबिटिजलाई सहयोग गर्छ । यसका साथै यसमा पाइने एन्टि अक्सिडेन्ट र फ्लेवानायडले क्यान्सरको सम्भावनालाई पनि केही हदसम्म नियन्त्रण गर्न सहयोग प्रदान गर्छ । यसमा पाइने फेरुलिक एसिडले छाती र कलेजोको ट्युमरको साइजलाई कम गर्न पनि सहयोग गर्छ ।

गरिबी मेटाउने बलियो स्रोत पनि

यसरी बाहै्र महिना फल्ने मकैको बीऊका कारण गरिबीको रेखामुनि रहेका ठूलो संख्यामा सर्वसाधारण रोजगारसमेत पाएका छन् । यसरी पोलेर मकै बेच्नेहरुले दैनिकरुपमा ठाउँअनुसार १ हजारदेखि २ हजार ५ सय रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्।

कोटेश्वरमा ठेलामा हरियो मकै पोलेर विक्री गर्दै आएकी गुल्मीका सुनिता घलेकाअनुसार भिडभाडका अनुसार उनी दैनिकरुपमा २५ रुपैयाँका दरले २ हजार रुपैयाँ बराबरको मकैं पोलेर बिक्री गर्दैआएकी छिन् ।

यसरी महिनामा घलेले ६० हजार रुपैयाँबराबरको पोलेको मकैको कारोबार गर्छिन । घलले प्रतिगोटा हरियो मकैको घोघा सातदेखि १५ रुपैयाँमा किसानबाट खरिद गर्नुहुन्छ । घलेले सबै खर्च कटाएर मासिक रुपमा ५५ हजारसम्म खुद नाफा गर्दै आएकी छिन् ।

‘पोलेको मकै बेचेर नै घर व्यवहार चलाएकी छु,’ घलेले भनिन्, ‘गर्न खोज्नेलाई स्वदेशमै प्रसस्त परिमाणमा रोजगारको व्यवस्था छ।’

मासिक ५०-६० हजार कमाउनलाई अरुको देशमा गएर ज्यान गुमाउनुभन्दा स्वदेशमै त्योभन्दा बढी आम्दानी गर्न सकिन्छ । अहिले सहरमा पोलेर मकै खाने संस्कृति बढ्दै गएपनि दैनिकरुपमा कति मूल्यबराबरको कति परिमाणमा बिक्री हुन्छ भन्ने यर्थाथ आँकडा भने कतै उपलब्ध छैंन् ।

झण्डै १० हेक्टरमा मकै खेती

नेपालमा हाल आठ लाख हेक्टरमा मकैको खेती हुन्छ । पछिल्लो आर्थिक बर्ष २०७८७९ मा ९ लाख ८५ हजार ५ सय ६५ हेक्टरमा ३१ लाख ६ हजार ३ सय ९७ टन मकै नेपालमा फलेको थियो ।

नेपालमा उत्पादन हुने मकैको परिमाणले नधान्दा भारतलगायत तेस्रो मुलुकबाट गत आर्थिक वर्ष २०७९८० मा १७ अर्ब १७ करोड ३६ लाख रुपैयाँ बराबरको ४ लाख ३८ हजार ८ सय ७३ टन मकै आयात भएको थियो ।

पशुपन्छीलाई खुवाउन प्रयोग हुने प्यालेट दाना उद्योगलाई दैनिक एक हजार ४ सय मेट्रिक टन मकै आवश्यक पर्छ । दाना तयार पार्न ७० प्रतिशत मकै नै आवश्यक पर्छ ।

मकैको इतिहास

वनस्पतिको जी जाति (जीनस) समूहको वनस्पति मकै हो । यसको वैज्ञानिक नाम जी मेज हो । नेपालमा आजभन्दा २ सय २८ बर्षअघि मकै खेती हुने गरेको पाइन्छ। नेपालमा मकै भित्रिएको २ सय ५० बर्षदेखि ३ सय वर्ष भएको अनुमान छ ।

नेपालमा मकै खेती आज पनि उही पराम्परागत रुपमा हुँदै आएको छ । यसले गर्दा उत्पादकत्व बढ्न सकेको छैन । नेपालमा प्रतिहेक्टरमा करिब २ टनसम्म मकै उत्पादन हुन्छ । उत्तरी छिमेकी मुलुक चीनमा भने प्रतिहेक्टर करिब साढे ६ टन उत्पादन हुन्छ ।

मकै नेपालको प्रमुख खाद्यान्नवाली धानपछि दोश्रोमा आउँछ । पहाडी र हिमाली क्षेत्रमा यसको निर्वाहमुखि खेती हुन्छ । तराईमा भने व्यवसायिक रुपमा खेती हुन्छ । वैज्ञानिक कोइरालाकाअनुसार मध्यपहाडी क्षेत्रमा उत्पादित मकैमध्ये करिब ८६ प्रतिशत स्थानीय बासिन्दाले प्रमुख खान्कीको रुपमा प्रयोग गर्छन् ।

तराईंमा भने ८० प्रतिशत मकै गाईवस्तु र पन्छीको आहाराको रुपमा प्रयोग हुन्छ । आन्तरिक उत्पादन नपुगेर बार्षिक १६ देखि १८ अर्बभन्दा बढीको मकै अर्जेन्टिना, ब्राजिल, चीन, भारत, क्यानाडा, इण्डोनेशिया, साउथ अफ्रिका, टर्की र अमेरिकाबाट आयात हुन्छ । मकैको पिठो, कर्न फ्लेक्स, मकैको पाउडरलगायत अन्य पदार्थ अझै ठूलो परिमाणमा आयात हुन्छ, यसको हिसाब यहाँ राखिएको छैन ।

मकै आयातको अवस्था


राजेश बर्मा