क्यूआर पेमेन्टमा उच्च आकर्षण, एकै वर्ष साढे १५ अर्बको भुक्तानी



सांकेतिक तस्बिर

काठमाडौं । गत आर्थिक वर्षको असार मसान्तसम्म क्यूआर कोडबाट हुने भुक्तानीमा उल्लेख्य वृद्धि भएको छ । कोरोना महामारीपछि क्यूआर कोडबाट हुने कारोबार निकै बढेको छ ।

क्यूआर कोडबाट सानो रकममा भुक्तानी गर्नेहरुका लागि झनै सहज बन्दै गएको छ । यसले पनि भुक्तानीको आकार बनाउँदै गएको छ ।

उपभोक्तामा नगद रहित तथा डिजिटल कारोबारमा नेपालीको आकर्षण निकै बढ्दै गएको छ । डिजिटल कारोबार बढेपछि मानिसले साथमा नगद बोकेर हिँडनुपर्ने झन्झट पनि कम हुँदै गएको छ । अहिले राष्ट्र बैंकले सुरु गरेको भुक्तानी प्रणालीमध्ये सबैभन्दा लोकप्रिय क्यूआर कोड बन्दै गएको छ ।

अघिल्लो आवको असार मसान्तको तुलनामा गत असार मसान्तमा क्यूआर कोडका साथै मोबाइल वालेट र मोबाइल बैंकिङबाट हुने भुक्तानी बढेको छ । यता इन्टरनेट बैंकिङबाट हुने भुक्तानी घटेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार असार मसान्तसम्म क्यूआर कोडबाट हुने भुक्तानी १५ अर्ब ६२ करोड २० लाख रुपैयाँले बढेर ३० अर्ब १४ करोड ८० लाख रुपैयाँ भुक्तानी भएको छ । अघिल्लो असार मसान्तमा १४ अर्ब ५२ करोड ६० लाख रुपैयाँ थियो ।

यस्तै जेठ मसान्तको तुलनामा क्यूआर कोडबाट हुने भुक्तानी २ अर्ब ७ करोड २० लाख रुपैयाँले बढेर ३० अर्ब १४ करोड ८० लाख पुगेको छ । जेठ महिनामा २८ अर्ब ७ करोड ६० लाख रुपैयाँ थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार वालेटबाट हुने भुक्तानी अघिल्लो असार मसान्तको तुलनामा गत असारमा २ अर्ब ५७ करोड ४० लाख रुपैयाँले बढेर २० अर्ब ३२ करोड ६० लाख रुपैयाँ भुक्तानी भएको छ । अघिल्लो असार मसान्तमा १७ अर्ब ७५ करोड २० लाख रुपैयाँ भुक्तानी भएको थियो ।

केन्द्रीय बैंकका अनुसार मोबाइल बैंकिङबाट हुने भुक्तानी पनि निकै बढेको छ । अघिल्लो असार मसान्तमा १ खर्ब ६३ अर्ब २५ करोड ५० लाख रुपैयाँ भुक्तानी भएकोमा गत असार मसान्तमा ७० अर्ब १९ करोड १० लाख रुपैयाँले बढेर २ खर्ब ३३ अर्ब ४४ करोड ६० लाख भुक्तानी भएको छ ।

केन्द्रीय बैंकका अनुसार इन्टरनेटबाट हुने कारोबार भने अघिल्लो आवको असार मसान्तको तुलनामा गत आवको असार मसान्तमा १३ करोड ६० लाख रुपैयाँले घटेको छ ।

अघिल्लो असार मसान्तमा इन्टरनेट बैंकिङबाट १५ अर्ब ६३ करोड ८० लाख भुक्तानी भएकामा गत असार मसान्तसम्ममा घटेर १५ अर्ब ५० करोड २० लाखमा सीमित भएको छ ।


रवि धिताल