रुस-युक्रेनबीचको युद्धमा परमाणु आक्रमण हुने खतरा कति ?



एजेन्सी । रुस र युक्रेनबीच गत ५२४ दिन यता निरन्तर युद्ध जारी छ । डेढ वर्षअघि सुरु भएको यो युद्धमा दुवै पक्षका सयौं सैनिकहरुको मृत्यु भइसकेको छ ।

युद्धमा सुरुवाती महिनामा आफूलाई बचाउनमा केन्द्रित देखिएको युक्रेनी पक्ष अहिले रुसमाथि आक्रामक रुपमा देखिएको छ । तर, पछिल्ला केही हप्तामा यो युद्धका प्रभावहरु रुसको राजधानी मस्कोमा पनि पुगिरहेको छ ।

हालै भएको घटनामा मस्कोस्थित दुईवटा ठूला भवनहरुमा ड्रोन हमला भएको छ । जसकारण यी भवनहरु क्षतिग्रस्त भएका छन् । एक जनाको मृत्यु पनि भएको छ । यति मात्रै नभएर यो ड्रोन हमलाका कारण मस्कोस्थित विमानस्थलमा पनि केही कामहरु रोक्नुपर्ने अवस्था सिर्जना भएको छ ।

युद्ध अब रुसी जमिनमा
गत वर्ष फेब्रुअरीमा युक्रेनविरुद्ध सुरु भएको यो युद्धको प्रभाव अब भने रुसभित्र पनि पुगिरहेको देखिएको छ । यो वर्ष मात्रै रुस र उसको नियन्त्रणमा रहेका क्षेत्रहरुमा १२० भन्दा धेरै पटक ड्रोन हमला भइसकेको छ ।

अर्कातिर, रुसको राजधानी मस्कोमा युद्धपछि हालसम्म पाँच पटक ड्रोन हमलाको शिकार भएको छ । यसको सुरुवात मे महिनाको अन्तिम हप्ता भएको थियो ।

यसमध्ये पहिलो हमला गत मे ३० गते भएको थियो, जसमा ८ ड्रोन विमानहरुको प्रयोग भएको थियो । दोस्रो पटकको ड्रोन हमला ४ जुलाईमा भयो, जसमा ५ वटा ड्रोन विमानहरु प्रयोग भएका थिए ।

तेस्रो हमला २४ जुलाईमा भएको थियो, जसमा दुई ड्रोन विमानहरुको प्रयोग भएको थियो । त्यस्तै, चौथो हमला पाँच ड्रोन विमानहरुको प्रयोगसहित ३० जुलाईमा भएको थियो ।

यो हमलाको विषयलाई लिएर रुसको रक्षा मन्त्रालयले गत आइतबार तीन ड्रोनहरुलाई निस्क्रिय बनाउन सकेको बताएको छ भने दुई ड्रोनहरु व्यवासयिक भवनहरुमा ठोक्किन पुगेका छन् । रुसले यी सबै हमलाहरुका लागि युक्रेन जिम्मेवार भएको बताइरहेको छ ।

तर, युक्रेनले भने यी हमलाहरुको जिम्मेवारी लिएको छैन । तर, यी ड्रोन हमलापछि भने दुवै पक्ष, रुस र युक्रेनले नै आक्रामक अभिव्यक्ति सार्वजनिक गरेका छन् ।

जेलेन्स्कीले के भने?

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको जमिनमा भएको हमलालाई ‘हुनै पर्ने’ बताएका छन् । दुई देशहरुबीच जारी रहेको युद्धमा यो ‘स्वभाविक र निष्पक्ष प्रक्रिया’ रहेको उनले बताएका छन् ।

यति मात्रै नभएर हमला भएको दिन युक्रेनको पश्चिमी शहर इवानो–फ्रेंकिव्स्कमा एक भिडियो सम्बोधन गर्दै उनले युक्रेन बलियो हुँदै गएको बताएका छन् । उनले भनेका छन्, ‘आज तथाकथित ‘विशेष सैन्य अभियान’को ५२२ औं दिन हो, जसलाई रुसले केही हप्तामा नै सकिने सोचेको थियो ।’

मस्कोमाथि भएको ड्रोन हमलाको विषयलाई लिएर जेलेन्स्कीले यस किसिमको टिप्पणी पहिले गरेका थिएनन् । यस्तो अवस्थामा आएको उनको यो भनाइलाई नयाँ रणनीतिको रुपमा पनि हेरिएको छ ।

रुस र मध्य एसियासँग जोडिएका विषयका जानकार विशेषज्ञ तथा जवाहरलाल जेहरु विश्वविद्यालय भारतमा प्राध्यापक रहेका सञ्जय पाण्डेय जेलेन्सीको यो बयानले उनी आत्मविश्वासले भरिएको देखिएको बताए । उनी भन्छन्, ‘जलेन्स्कीमा आत्मविश्वास केही बढेको छ वा उनी कमसेकम यस्तो देखिएका छन् । यस किसिमका हमला र ड्रोन हमलाको जिम्मेवारी लिनका लागि उनी तयार देखिन्छन् । तर, उनले हालसम्म खुलेर आफूहरुले नै ड्रोन हमला गरेको बताएका छैनन ।’

जेलेन्स्कीले यस्तो किसिमको ड्रोन हमला युद्धको परिणाम भएको र यस्तो हुनै पर्ने भएको बताएका छन् । उनले यसलाई हाल एउटा सहि कदमको रुपमा देखेका छन् । उनले दिएको बयानमा आधारित भएर हेर्दा उनले यस्ता कुराहरुको जिम्मेवारी लिन तयार रहेको देखिएको बताउँछन् पाण्डेय । उनी भन्छन्, ‘तर, उनी खुलेर यस्तो भनिरहेका छैनन । यो बयानमार्फत रुसका जनतालाई युद्ध उनीहरुको जमिनमा पनि आइपुग्यो भन्ने सम्झाउन र देखाउन खोजेका छन् ।’

तर, यति हुँदा हुँदै पनि युद्ध कुन दिशामा गइरहेको छ भन्ने स्पष्ट छैन । पश्चिमा देशहरुको समर्थन र सहयोग भएपनि युक्रेनले खास सफलता हात पार्न सकेको छैन् । अर्कातिर, रुस यो युद्धलाई लिएर एउटा निर्णायक मोडमा आउन पनि सकेको छैन । युद्ध एक किसिमले कतै फसेको अवस्थामा रहेको प्राध्यापक पाण्डेय बताउँछन् ।

परमाणु हमला गर्ने रुसको धम्की

यी सबै घटनाहरुका बीच रुसले भने परमाणु हमला गर्ने धम्की दिएको छ । रुसका पूर्वराष्ट्रपति तथा हालका प्रधानमन्त्री दिमित्री मेदवेदेवले युक्रेनलाई यस्तो किसिमको चेतावनी दिएका हुन् ।

रुसको सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्रीले आफ्नो सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘सोच्नुस्, यदि नेटोको समर्थनसहितको आक्रमण सफल भयो र हाम्रो जमिनमा कब्जा गर्न उनीहरु सफल भए भने हामी रुसी राष्ट्रपतिको इच्छाअनुसार परमाणु हतियारको प्रयोग गर्नका लागि बाध्य हुनेछौं ।’

उनी यस्तो अवस्थामा कुनै विकल्प नै नबच्ने पनि धम्की दिन्छन् । उनी भन्छन्, ‘यस्तोमा हाम्रा दुश्मनहरुले रुसका सैनिकहरु सफल होइन भन्ने कामना गर्नुपर्छ । उनीहरुले पूरै विश्वमा परमाणु युद्ध सुरु नहोस् भन्नका लागि यस्तो यस्तो गर्नूपर्छ ।’ बीबीसीबाट


क्लिकमान्डु