६ महिनामा सरकारले जनतासँग माग्दैछ १ खर्ब १० अर्ब ऋण, यस्तो छ कार्यतालिका



काठमाडौं । प्रत्येक वर्ष सरकारले जनतासँग ऋण लिन्छ । त्यसकै निरन्तरतास्वरुप यो वर्ष पनि सरकारले जनतासँग ऋण लिँदैछ ।

आर्थिक वर्ष २०८०/८१ मा सरकारले जनतासँग २ खर्ब ४० अर्ब रुपैयाँ ऋण लिने लक्ष्य राखेको छ । जसमध्ये आगामी पुस मसान्तसम्ममा मात्रै १ खर्ब १० अर्ब रुपैयाँ ऋण लिने भएको छ ।

त्यसका लागि नेपाल राष्ट्र बैंकले कार्यतालिका सार्वजनिक गरेको छ । यसरी जनतासँग लिइने ऋणलाई सरकारले ‘आन्तरिक ऋण’ भनेर परिभाषित गर्छ । आन्तरिक ऋणभित्र पनि ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र बैदेशिक रोजगार बचतपत्र शिर्षकमा सरकारले जनतासँग ऋण लिँदै आएको छ ।

केन्द्रीय बैंकले ५५ अर्बको ट्रेजरी बिल, १ खर्ब ७९ अर्ब विकास ऋणपत्र ५ अर्बको नागरिक बचतपत्र र १ अर्बको वैदेशिक रोजगार बचतपत्र निष्कासन गर्ने भएको छ । चालु आवमा निष्कासन गर्ने आन्तरिक ऋणमा ट्रेजरी बिलको हिस्सा २२.९ प्रतिशत, विकास ऋणपत्रको हिस्सा ७४.६ प्रतिशत, नागरिक बचतपत्रको हिस्सा २.१ प्रतिशत र वैदेशिक रोजगार बचतपत्रको हिस्सा ०.४ प्रतिशत छ ।

एक वर्षमा २ खर्ब ४० अर्बको आन्तरिक ऋण उठाउन लागेको केन्द्रीय बैंकले चालु आवको पहिलो र दोस्रो त्रैमासमा उठाउने ऋणपत्रको बोलकबोलको तालिम समेत सार्वजनिक गरेको छ ।

केन्द्रीय बैंकले ट्रेजरी बिल ९१ दिन, १८२ दिन र ३६४ दिनका लागि निष्कासन गर्नेछ । पुससम्म १५ अर्बको टे्रजरी बिल जारी हुने छ । जसमा ९१ दिनको ट्रेजरी बिल मंसिर ४ गते ३ अर्ब, १८२ दिनको मंसिर २५ गते ४ अर्बको र १८२ दिनका लागि नै पुस २३ गते ३ अर्बको ट्रेजरी बिल जारी गर्ने छ ।

३६४ दिनका लागि भने साउन २२ गते २ अर्ब र असोज १ गते ३ अर्ब जारी गर्ने छ । त्यसका ब्याजदर बोलकबोलबाट निर्धारण हुने छ ।

यस्तै विकास ऋणपत्र ६ महिनामा ९५ अर्बको निष्कासन गर्ने भएको छ । साउन १८ बाट ऋणपत्र निष्कासन हुने छ । केन्द्रीय बैंकले ६ वर्षे अवधिका लागि साउन १८ गते १० अर्ब,  साउन २८ गते ८ वर्षे अवधिका लागि १० अर्ब, भदौ १० गते ६ वर्षे अवधिका लागि १० अर्ब, भदौ २४ गते ६ वर्षे अवधिका लागि १० अर्ब, असोज १४ गते ८ वर्षे अवधिका लागि १० अर्ब, कात्तिक १६ गते ८ वर्षे अवधिका लागि १० अर्ब, मंसिर १२ गते ५ वर्षे अवधिका लागि १० अर्ब, मसिर २६ गते ८ वर्षे अवधिका लागि १० अर्ब र पुस २२ गते ६ वर्षे अवधिका लागि १५ अर्ब रुपैयाँको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ ।

पुस मसान्तसम्म १ खर्ब १० अर्ब रुपैयाँको ट्रेजरी बिल र विकास ऋणपत्र जारी हुने छ । नागरिक बचतपत्र र वैदेशिक रोजगारी बचतपत्र पुसपछि मात्रै निष्कासन गर्ने तयारीमा केन्द्रीय बैंक रहेको छ ।

के हो ट्रेजरी बिल ?

ट्रेजरी बिल एक वर्ष वा एक वर्षन्दा कम अवधिका लागि सरकारले आन्तरिक ऋण उठाउन प्रयोग गर्ने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिल २८ दिन, ९१ दिन, १८२ दिने र ३६४ दिनका लागि जारी गरिन्छ । यसको ब्याजदर बोलकबोलबाट निर्धारण गरिन्छ ।

के हो विकास ऋणपत्र ?

विकास ऋणपत्र दुइ वर्षभन्दा माथि मध्यम तथा दीर्घकालीन अवधिका लागि आन्तरिक ऋण उठाउन सरकारले प्रयोग गर्ने उपकरण हो । यसलाई सरकारी ऋणपत्र पनि भनिन्छ । हाल नेपाल राष्ट्र बैंकबाट निष्कासन भएका विकास ऋणपत्र ३ देखि १५ वर्ष अवधिका हुने गर्छन् । यो वर्ष सरकारले ५ देखि ८ वर्ष अवधिका लागि विकास ऋणपत्र निष्कासन गर्ने भएको छ ।

के हो वैदेशिक रोजगार बचतपत्र ?

रोजगारीका लागि देशबाहिर रहेका नेपाली नागरिक तथा विदेशमा बसोबास गर्ने गैर आवासीय नेपालीका लागि सरकारले वैदेशिक रोजगार बचतपत्र निष्कासन गर्छ ।

उनीहरुले आफु बसेको देशमा आर्जन गरेको मुद्रालाई वैधानिक माध्यमबाट स्वदेशमा भित्र्याउन तथा उनीहरूले आर्जन गरेको रकम विदेशमै बसी वा स्वदेशमा आई सरकारी बचतपत्रमा लगानी गर्नका लागि सरकारले वैदेशिक रोजगार बचतपत्र निष्कासन गर्छ ।

सरकारले निश्चित ब्याजदर (अन्य बचतपत्रको भन्दा केही बढी) दिएर नेपाली रूपैंयाँमा जारी गरिएको मध्यमकालीन अवधिको बचतपत्र ‘वैदेशिक रोजगार बचतपत्र’ हो । यसको अवधि ५ वर्षको हुने गर्छ ।

के हो नागरिक बचतपत्र ?

नागरिक बचतपत्र मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । राष्ट्र बैंकबाट निष्कासन भएको नागरिक बचतपत्र ५ वर्ष अवधिको हुन्छ । अन्तरिक ऋण उठाउन सरकारले प्रयोग गर्ने यो एउटा उपकरण हो ।


क्लिकमान्डु