१०० किलो सुन तस्करी प्रकरणः यसरी हुँदैछ अनुसन्धान
काठमाडौं । आइतबार जतिबेला प्रहरीले ठमेलको होटल भियनाबाट दावा छिरिङलाई पक्राउ गर्दै थियो, पार्टी पदाधिकारी बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुन तस्करीको जरोसम्म पुगेर अनुसन्धान गर्ने प्रतिबद्धता जनाउँदै थिए ।
करिब एक क्विन्टल सुन तस्करी प्रकरणमा तिब्बती मूलका बेल्जियन नागरिक छिरिङ पक्राउ परेपछि अनुसन्धानको गाँठो थप पेचिलो बन्ने भएको छ । तथापि, सुन बरामद भएयताका १२ दिनको अवधिमा सुनको परिमाणसमेत यकिन भएको भने छैन ।
एक क्विन्टल भनेर अनुमान गरिएको सुन स्कुटर र मोटरसाइकलको ब्रेक सु मा लुकाएर ल्याएको सूचनाका आधारमा राजस्व अनुसन्धान विभागको विशेष टोलीले पक्राउ गरेको हो । त्यसबेला सुनसँगै ट्याक्सी चालक अशोक लामालाई पनि विभागको टोलीले नियन्त्रणमा लिएको थियो ।
राजस्व अनुसन्धानको टोलीले त्यसपछि ब्रेक सु मगाउने रेडी ट्रेडर्स कम्पनीका सञ्चालक दोलखाका दिलिप भुजेललाई पक्राउ गरेको थियो । भुजेललाई पनि सुन आयातमा ‘हतियार’ बनाइएको खुलिसकेको छ । तस्करीको आशंकामा व्यवसायी राकेश अडुकियाको घर र गोदाममा राजस्वले छापा हानेको छ । अडुकिया एक साताअघि विदेशिएका छन् ।
पक्राउ परेका अन्य व्यक्तिभन्दा छिरिङ विभागको अनुसन्धानका लागि थप सहयोगी पात्र बन्ने देखिएका छन् । माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा, उपमहासचिव वर्षमान पुन, पूर्वसभामुख ओनसरी घर्तीमगर, पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायतका उपल्लो तहका राजनीतिज्ञ र प्रशासनिक व्यक्तिसँगको सम्पर्क सम्बन्ध विभागका लागि अभियुक्तसम्म पुग्ने बलियो माध्यम बन्ने भएको छ ।
भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्री दाहालले लिएको ‘राजनीतिक संकल्प’कै कारण पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र मन्त्री बालकृष्ण खाणहरु जेलको छिँडीमा पुगेका हुन् भने पदाधिकारी बैठक र विभिन्न सार्वजनिक फोरममा उनले जनाएका प्रतिबद्धता सुन प्रकरणको जरो पत्ता लगाउने माध्यम बन्न सक्ने कतिपयको विश्लेषण छ ।
तर, सस्तो लोकप्रियताका लागि भाषणमात्र हो भने सुनका अभियुक्तका लागि स्वयं प्रचण्ड बलियो आश्रय स्थल बन्न सक्ने जोखिम पनि उत्तिकै रहेको उनीहरु बताउँछन् । माओवादी केन्द्रमा महरानिकटका एक नेताले महराको छोराले शक्तिको दुरुपयोग गरेको हुनसक्ने भए पनि महरा स्वयं यस कार्यमा लागेकोमा आफूलाई शंका रहेको बताए ।
‘महरालाई म धेरै नजिकबाट चिन्छु, जहाँसम्म राजनीतिक अवसर पाएर उनी राज्यका माथिल्लो तहसम्म पुगे होला तर त्यसलाई नै दुरुपयोग गरेर अप्रत्यासित र अवैधानिक हिसाबले राजनीतिक लाभ लिनु होला भन्ने लाग्दैन,’ ती नेताले भने, ‘तर महराको राजनीतिक शक्तिको दुरुपयोग उनका छोराबाट हुने जोखिम भने धेरै छ ।’
अहिले राजस्व अनुसन्धानले मुख खोलेको छैन । सुन जोख्ने काम भएको छैन । केही पात्र पक्राउ परे पनि त्यसले कहाँसम्म हल्लाउँछ यसै भन्न सकिने स्थिति छैन । तथापि, विभागले अहिले ३ जना अनुसन्धान अधिकृत तोकेर कामलाई तीव्रता दिएको छ। तीन जना अधिकृतका लागि अरु दुई जना सहयोगी पनि छन् । अनुसन्धान अधिकृतहरुले माग गरेको अवस्थामा थप अधिकृतलाई सहयोगी भूमिकामा जिम्मेवारी दिने गरिएको विभाग स्रोतले जनाएको छ ।
सुन तस्करी प्रकरणमा हालसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका एजेन्ट र कर्मचारीसहित १८ जना पक्राउ परेका छन् ।