बैंकका ग्राहकले सबैभन्दा बढी के खोज्छन् ?
काठमाडौं । बैंक राष्ट्रिय अर्थतन्त्रको आधारशिला हो । र, यसमा सर्वसाधारण जनताको सहभागिताले अर्थतन्त्रलाई गतिशील बनाउँछ । प्रविधिको विकासका कारण डिजिटल स्पेसमार्फत यस्तो सहभागिता बढ्दै गएको छ ।
बैंकिङ प्रोड्क्टहरूबारे जानकारी सङ्कलन गर्न बैंकका ग्राहकले उल्लेखनीय संख्यामा इन्टरनेटको प्रयोग गर्दछन् । डिजिटल स्पेसमा बैंकका ग्राहकले देखाएको व्यवहार हेर्न रोचक नै हुन्छ । यहाँ प्रस्तुत जानकारी आर्थिक वर्ष २०७९/८० मा करीब ५५ हजार बैंकिङ ग्राहकले www.bankbyaj.com (बैंकव्याज डटकम) वेबसाइटसँग गरेको अन्तरक्रियासँग सम्बन्धित डाटामा आधारित छ ।
सर्वाधिक खोजिएका विषय
बैंकिङ ग्राहकले सबैभन्दा बढी आधार दर अर्थात बेस रेट खोजेका छन् । व्याजदरको निर्धारणको प्राविधिक विषयमा बैंकिङ ग्राहकको खासै रुचि नहुने आम धारणा विपरीत, ब्याजदरको प्राविधिक पक्षसँग बैंकिङ ग्राहक राम्ररी जानकार रहेको देखाउँछ।
आधार दरपछि सर्वाधिक खोजेको विषय हो व्यक्तिगत मुद्दती निक्षेप । मुद्दती निक्षेप बैंकिङ ग्राहकहरुको लागि एक लोकप्रिय प्रोड्क्ट रहँदै आएको छ । र, केहि वर्षदेखि बैंक तथा वित्तीय संस्थाले मुद्दती निक्षेपमा एकरूपता कायम गरी उच्च ब्याजदर प्रदान गर्दै आएका छन् । दरहरूमा एकरूपता श्रेणी बमोजिम हुने बारेमा जानकार भएका बैंकिङ ग्राहकहरूले तिनीहरूबीचको दर भिन्नतालाई राम्ररी जाँच गरेको देखिन्छ ।
फिक्स्ड डिपोजिटपछि अर्को सर्वाधिक खोजेको विषय हो शैक्षिक कर्जा । प्रविधिमैत्री युवा पुस्ताले ब्याजदरको बारेमा गहिरो खोजी गरी विवेकपूर्ण निर्णय लिने गरेको देखिन्छ । शैक्षिक कर्जापछि घर कर्जा र गाडी कर्जा समानरूपमा खोजी गरेको देखिन्छ । यी दुई बैंकिङ उद्योगको सबैभन्दा लोकप्रिय प्रोड्क्टहरू हुन् र तिनीहरूको लागि डिजिटल स्पेसमा चासो भए पनि खोजहरू कम छन् । त्यसपछि सुन-चाँदी कर्जा आउँछ । आपतकालिन अवस्थामा वा व्यक्तिगत प्रयोगको लागि छोटो अवधिको लागि तत्कालको आवश्यकता पूरा गर्ने ऋण लिइनेमध्ये इन्टरनेट स्पेसमा खोजिएको अर्को प्रोड्क्ट हो सुन-चाँदी कर्जा । सुन-चाँदीपछि व्यक्तिगत कर्जा आउँछ । त्यस्तै रेमिट्यान्स मुद्दती निक्षेप, बचत खाता, बाइक कर्जा, कृषि कर्जा, सेयर कर्जा र व्यवसाय कर्जाहरू बारेमा पनि बैंकिङ्ग ग्राहकले चसो लिएर खोजी गरेको देखिन्छ ।
समय
त्यस्तै बैंकिङ ग्राहकहरूले बिहान १० बजेपछि अपरान्ह ५ बजेसम्म र बेलुका ८ बजेदेखि ९ बजेसम्म बैंकिङ प्रोड्क्टहरू खोज्न संलग्न हुने देखाएको छ भने बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म बिचमा बैंकिङ ग्राहकको सक्रियता अत्यधिक हुने देखीएको छ ।
विदेशका नेपाली
विदेशमा रहेका नेपालीले पनि बैंकिङ प्रोड्क्टहरूको बारेमा नजिकबाट जानकारी राख्ने गरेको देखियो । सबैले मुद्दती निक्षेप, आधार दर, शिक्षा कर्जा, घर कर्जा र गाडी कर्जामा समानरूपमा चासो देखाएका छन् ।
दक्षिण कोरियाली नेपालीले गाडी कर्जामा खासै चासो दिएका छैनन् भने दक्षिण कोरिया र इन्डोनेसियाका नेपालीहरूले मात्र सेयर कर्जामा चासो देखाएका छन् । यसबाहेक, राष्ट्र बैंकले केही वर्षअघि सामान्य मुद्दती निक्षेप तुलनामा कम्तिमा १ प्रतिशत थप ब्याज उपलब्ध गराउने रेमिट्यान्स मुद्दती निक्षेपको अवधारणा ल्याएको थियो । र विदेशमा रहेका नेपालीले यसमा देखाएको गहिरो चासोले यो प्रोड्क्ट सफल भएको भन्न सकिन्छ ।
प्रविधि प्रयोग
त्यस्तै बैंकिङ ग्राहकहरूले बैंकिङ प्रोड्क्टहरू खोज्न मोबाइलको बढी प्रयोग गर्ने गरेको देखिएको छ । मोबाइल फोनपछि डेस्कटप र नगन्यरूपमा ट्याब्लेटको प्रयोग भएको देखिएको छ । त्यस्तै अपरेटिङ सिस्टममा एनरोइड सबैभन्दा धेरै प्रयोग भएको थियो भने त्यसपछि आईओएस, विन्डोज अपरेटिङ सिस्टम, म्याक ओएस र अन्तमा लिनक्सको प्रयोग भएको थियो।
यसबाहेक, बैंकिङ ग्राहकहरूले ब्राउजरहरुमा सबैभन्दा बढी क्रोमको प्रयोग गर्ने देखिएको छ भने त्यसपछि सफारीको । त्यस्तै, बैंकिङ ग्राहकहरूले सामसुङ इन्टरेन्ट र फायरफक्स ब्राउजरको पनि बराबर संख्यामा प्रयोग गरेको देखिन्छ । एज , ओपेरा र युसी ब्राउजर पनि प्रयोग गरिएको थियो । तर धेरै कम ।