काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयमा एसईईको नतिजा सुधार: बालेन



काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा एसईई परीक्षाको नतिजामा सुधार आएको छ ।

महानगरका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत नतिजामा सुधार आएको जानकारी दिएका छन् । उनकाअनुसार महानगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुमध्ये ३.६१ देखि ४.० जिपिए ल्याउने विद्यार्थीहरुको संख्या ७८ प्रतिशतले बृद्धि भएको छ ।

बालेनकाअनुसार शैािक्षक वर्ष २०७९÷०८० मा एसईई परिक्षामा सहभागी हुन आवेदन दिएका ३ हजार ९१२ जना विद्यार्थीहरुमध्ये १५० जना (३.८३ प्रतिशत)ले ३.६१ देखि ४.० जिपिए ल्याएका छन् । शैािक्षक वर्ष २०७८÷०७९ मा महानगरभित्र सामुदायिक विद्यालयहरुबाट एसईई परिक्षा दिन आवेदन दिएकाहरुमध्ये ३ हजार ९४३ जनामध्ये ७५ (२.१६ प्रतिशत) जनाले ३.६१ देखि ४.० जिपिए ल्याएका थिए ।

त्यस्तै, १२५ (३.१७ प्रतिशत) जनाले भने परिक्षा नै नदिएको तथ्यांक पनि मेयर शाहले सार्वजनिक गरेका छन् ।

‘यो तथ्यांकबाट के देखिन्छ भने उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुको संख्या बढ्दै छ,’, उनले भनेका छन्, ‘विद्यालय शिक्षाप्रति विद्यार्थीहरु नियमित हुन थालेका छन् । हामी प्रारम्भ गरेका शैक्षिक कार्यक्रम समय सापेक्ष र व्यवाहारिक भएको पुष्टि भएको छ ।’

त्यस्तै, ३.२१ देखि ३.६० जिपिए ल्याउने विद्यार्थीको संख्या शैक्षिक वर्ष २०७८÷०७९ मा ३२५ जना (८.२४ प्रतिशत) रहेकामा शैक्षिक वर्ष २०७९÷०८० मा बढेर ४८६ (१२.४२ प्रतिशत) पुगेको मेयर शाहले जनाएका छन् । त्यस्तै, २.८१ देखि ३.२१ जिपिए ल्याउनेको संख्या पनि बृद्धि भएको छ । शैक्षिक वर्ष २०७८÷०७९ मा ६९७ जना विद्यार्थीहरुले यो जिपिएर ल्याएकोमा यसपटक १६ प्रतिशतले बृद्धि भएर ६९७ जना पुगेको छ ।

गएको वर्ष २.४१ देखि २.८० ल्याउने विद्यार्थीहरुको संख्या ९६६ रहेकोमा यस वर्ष ९७४ रहेको बालेनले जनाएका छन् ।

त्यस्तै, २.०१ देखि २.४० ल्याउने विदार्थीहरुको संख्या गएको वर्ष १ हजार ४ जना रहेकोमा यस पटक ८ प्रतिशतले घटेर ९१३ पुगेको छ । १.६१ जिपिएदेखि २.० जिपिए ल्याउने विद्यार्थीहरुको हकमा गएको वर्ष ६२० जना रहेकोमा यसपटक २९ प्रतिशतले घटेर ४३५ जना पुगेको मेयर शाहले जनाएका छन् ।

उनले भनेका छन्, ‘महानगरभित्रका सामुदायिक विद्यालयमा यस वर्षदेखि उत्कृक्ष्ट नतिजा ल्याउने विद्यार्थीको संख्या बढेको र कमजोर ग्रेड ल्याउने विद्यार्थीको संख्या घटेको तथ्यांकले देखाएको छ ।’


क्लिकमान्डु