तरकारीको मूल्य निरन्तर उकालो: करेलामा २१४ र अदुवामा २९६ प्रतिशतसम्मको मूल्यवृद्धि
काठमाडौं । काठमाडौं उपत्यकामा भान्सामा दैनिकजसो प्रयोग हुने तरकारीको मूल्य निरन्तर उकालो लागिरहेको छ । थोकदेखि खुद्रा बजारसम्ममा नै तरकारीको मूल्यमा उच्च वृद्धि भएको छ ।
कालिमाटी बजार विकास समितिको मूल्यसूचीका अनुसार गत वर्ष साउन १२ को तुलनामा आज (साउन १२) मा कतिपय तरकारीको मूल्य २९६ प्रतिशतसम्मले वृद्धि भएको छ । तरकारीमा देखिएको यो उच्च वृद्धिले दैनिक श्रम गर्ने र जीविकोपार्जन गर्ने उपत्यकाका नागरिकलाई भने सास्ती हुन थालेको छ ।
कालिमाटी तरकारी बजारको मूल्यसूचीअनुसार सबैभन्दा धेरै मूल्यवृद्धि अदुवामा भएको छ । गत वर्ष यही समयमा प्रतिकिलो ६५ रुपैयाँले बिक्री भइरहेको अदुवा हाल २५८ रुपैयाँ प्रतिकिलोले बिक्री भइरहेको छ । अदुवामा देखिएको यो मूल्य वृद्धि २९६.९२ प्रतिशत हो ।
अदुवामा जस्तै हरेक किसिमका खुर्सानीमा पनि उच्च मूल्यवृद्धि देखिएको छ । बुलेट हरियो खुर्सानीमा १५७.६३ प्रतिशत मूल्यवृद्धि भएको छ भने हरियो खुर्सानीमा १७.७८ प्रतिशत मूल्यवृद्धि देखिएको छ ।
गत वर्ष प्रतिकिलो ४५ रुपैयाँ रहेको हरियो खुर्सानीको मूल्य अहिले १२५ रुपैयाँ प्रतिकिलो पुगेको छ । त्यस्तै, बुलेट हरियो खुर्सानीको मूल्य गत वर्ष ५६.६७ रुपैयाँ रहेकोमा अहिले १४६ रुपैयाँ पुगेको छ ।
सुकेको खुर्सानीको मूल्यमा पनि गत वर्षको तुलनामा १३.४१ प्रतिशत मूल्यवृद्धि देखिएको छ । ४१० रुपैयाँ प्रतिकिलो गत वर्ष बिक्री भएको सुकेको खुर्सानी अहिले प्रतिकिलो ४६५ रुपैयाँ पुगेको छ ।
भान्सामा दैनिक प्रयोग हुने लसुनको मूल्यमा पनि उच्च वृद्धि छ । सुकेको चाइनिज लसुनको मूल्यमा प्रतिकिलो ६३.६४ प्रतिशत मूल्यवृद्धि देखिएको छ भने सुकेको नेपाली लसुनको मूल्यमा ६५.७९ प्रतिशत मूल्यवृद्धि देखिएको छ ।
गत वर्ष सुकेको चाइनिज लसुन प्रतिकिलो १६५ रुपैयाँले बिक्री भएको थियो । हाल उक्त लसुनको मूल्य २७० रुपैयाँ पुगेको छ । त्यस्तै, सुकेको नेपाली लसुनको मूल्य गत वर्ष १२६.६७ रुपैयाँ प्रतिकिलो रहेकोमा हाल वृद्धि भएर २१० रुपैयाँ प्रतिकिलो पुगेको छ ।
त्यस्तै, गोलभेंडाको मूल्यमा पनि वृद्धि देखिएको छ । लोकल सानो गोलभेंडाको मूल्य गत वर्ष ३७.५० रुपैयाँ प्रतिकिलो रहेकोमा हाल ४० रुपैयाँ पुगेको छ । उक्त गोलभेंडाको मूल्यमा ६.६७ प्रतिशतको वृद्धि देखिएको छ । सानो टनेल गोलभेंडाको मूल्यमा भने ४१.०१ प्रतिशतको वृद्धि देखिएको छ । गत वर्ष प्रतिकिलो ४३.४० रुपैयाँ रहेको उक्त गोलभेंडा अहिले प्रतिकिलो ६१.२० रुपैयाँ पुगेको छ ।
भारतबाट ल्याइने सुकेको प्याजको मूल्यमा पनि २९.७३ प्रतिशतको मूल्यवृद्धि देखिएको छ । गत वर्ष ३७ रुपैयाँ प्रतिकिलो रहेको प्याज अहिले ४८ रुपैयाँ प्रतिकिलो पुगेको छ ।
मसलाजन्य वस्तुमा जस्तै तरकारीमा पनि मूल्यवृद्धि भएको छ । गत वर्ष १७.५० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको लोकल सेतो मुलाको मूल्य यो वर्ष २२.५० रुपैयाँ प्रतिकिलो पुगेको छ । उक्त मुलामा २८.५७ प्रतिशतको वृद्धि देखिएको हो ।
लाम्चो र डल्लो भान्टामा पनि मूल्यवृद्धि भएको छ । लाम्चो भान्टामा १६.६७ प्रतिशत र डल्लो भान्टामा ६४.२८ प्रतिशतको मुल्यवृद्धि देखिएको छ । गत वर्ष प्रतिकिलो ३० रुपैयाँले बिक्री भएको लाम्चो भान्टा अहिले ३५ रुपैयाँ पुगेको छ भने गत वर्ष ४६.६७ रुपैयाँ पुगेको डल्लो भान्टाको मूल्य अहिले ७६.६७ रुपैयाँ प्रतिकिलो पुगेको छ ।
तिते करेलाको मूल्यमा २१४.२९ प्रतिशतको वृद्धि देखिएको छ । गत वर्ष १७.५० रुपैयाँ प्रतिकिलो रहेको तितो करेलाको मूल्य हाल वृद्धि भएर ५५ रुपैयाँ प्रतिकिलो पुगेको छ । रायोको सागको मूल्यमा गत वर्षको तुलनामा ३२.३१ प्रतिशतको वृद्धि भएको छ । गत वर्ष ६५ रुपैयाँ प्रतिकिलो बिक्री भइरहेको रायोको साथ हाल ८६ रुपैयाँ प्रतिकिलो पुगेको छ ।