स्वर्णिम वाग्लेको प्रश्नः आर्थिक वृद्धिदर र कर्जा वृद्धिदर किन मेल खाएन ?
काठमाडौं । सांसद स्वर्णिम वाग्लेले आर्थिक वृद्धिदर र कर्जा वृद्धिदर मेल नखानुको कारण प्रवाह भएको कर्जामा पनि भर पर्ने बताएका छन् ।
अर्थ समितिको बिहीबारको बैठकमा उनले कालोसूचीमा पर्नेको संख्या बढेको र स्थानीय स्तरमा बैंकमा फोन गरेर कर्जा २-३ महिना सारिदिनु भन्नेसम्मको समस्या रहेको बताए । यो अवस्थामा राष्ट्र बैंकलाई मौद्रिक नीतिको धेरै भारी बोकाउन पनि नहुने उनको भनाइ छ ।
राष्ट्र बैंकबाट ८-१० वर्षमा पोलिसि डिपार्चरले पारेको प्रभावको बारेमा पनि राष्ट्र बैंकले जानकारी गराउनुपर्ने वाग्लेले बताए ।
सांसद सूर्य थापाले मानेभन्ज्याङ र पशुपति नगरमा मुद्रा सटही सुविधा नहुँदा भारु साँट्न भारत जाँदा व्यापारी पक्राउ पर्नु दु:खद भएको तर्क गरे । त्यस्ता ठाउँमा सटही सुविधा दिन उनले आग्रह गरे ।
सांसद ज्ञानबहादुर शाहीले बैंकले कति कृषि कर्जा दिएका छन् त्यो खोज्न आवश्यक रहेको बताए । बैंकहरुबाट कर्जा लिनेले भन्दा एउटा रेटमा भन्ने र तिर्ने बेला ब्याजदर ह्वात्तै बढाउने गरेको उनको भनाइ छ ।
उनले ६.९९ प्रतिशतमा लिएको कर्जा १४ प्रतिशतसम्म पुगेको भन्दै राष्ट्र बैंकको ध्यानाकर्षण गराए । व्यापार व्यवसाय नभएर मान्छेले हात्महत्या, आत्मदाह गरिरहेका बेला नेपालमा कसरी बैंकले नाफा कमाएका छन् भन्दै उनले प्रश्न गरे ।
बैंकबाट कर्जा लिन ४ किलो सुन र सडक छेउको जग्गा धितो राख्नुपर्ने बाध्यता रहेको शाहीले बताए । उनले जनतालाई राष्ट्र बैंकको तथ्यांकभन्दा पनि कर्जा चाहिएको तर्क गरे । सांसद शाहीले सहकारीपीडित माइतीघरमा रहेको भन्दै सहकारीका बचतकर्ता ठग्नेलाई समाउन आग्रह गरे ।
नेपालमा रैथाने नेपालीको बैंक नभएको तर पछि नागरिकता लिनेको मात्रै बैंक रहेको उनले बताए । न्युरोडमा घर हुने, बानेश्वरमा घर हुनेले मात्रै लोन पाउने अवस्था कहिलेसम्म रहन्छ भन्दै उनले प्रश्न गरे ।
उनले सरकारले फिक्स्ड डिपोजिटमा पैसा राखेर ब्याज खाएको भन्दै आलोचना गरे । ‘२ महिनाअघि सरकारले २ खर्ब ११ अर्ब पैसा फिक्स्ड डिपोजिटमा राखेर ब्याज खाएको पाएको छु,’ उनले भने ।