भारतमा ‘सिक्स जि’ प्रविधिको निर्माण गरिँदै, ६ हप्ताभित्र सेमिकण्डक्टर प्लान्ट स्थापना गरिने



काठमाडौं । भारत सरकारले टेलिकम प्रविधि तथा सिक्स जि सर्भिसको विकासका लागि ‘भारत सिक्स जि अलायन्स’को सुरुवात गरेको छ ।

भारतको दिल्लीमा केन्द्रिय टेलिकम तथा सूचना प्रविधि मन्त्री अश्विनी वैष्णवले यसको सुरुवात गरेका थिए ।

वैष्णवले भारतमा सिक्स जि प्रविधिको विकासका लागि ४ देखि ६ हप्ताभित्रमा नै भारतको पहिलो सेमिकण्डक्टर चिप कारखाना (प्लान्ट)को शिलान्यास गरिने पनि बताए । उनले भने, ‘हामी डाटा संरक्षण विधेयकका साथ तयार अवस्थामा छौं । आशा छ, संसदको मनसुन सत्रमा यसलाई पेस गरिन्छ ।’

वैष्णवकाअनुसार सोमबारबाट सुरु भएको ‘भारत सिक्स जि अलायन्स’ले भारतमा सिक्स जि नेटवर्कको विकास तथा प्रशिक्षणका लागि काम गर्नेछ । यो निकायले स्वदेशी उद्योग, शैक्षिक संस्थाहरु, राष्ट्रिय अनुसन्धान निकाय र सरकारको सहायता प्राप्त संस्थाको रुपमा काम गर्ने उनले बताए । उनकाअनुसार यो अलायन्सलाई विभिन्न निकायबाट सहयोग प्राप्त हुनेछ ।

यो निकायबाट विकासका लागि अनुसन्धान र स्टार्टअप इकोसिस्टमको प्रयोग गरिनेछ । दुई चरणमा यसलाई पुरा गरिने उनले बताए । सन् २०२३ देखि २०२५ सम्म पहिलो चरण र २०२५ देखि २०३० सम्म दोस्रो चरण रहेनछ । वैष्णवकाअनुसार दोस्रो चरण पुरा हुने समयमा भारतमा सिक्स जि सेवाको सुरुवात हुनेछ ।

उनकाअनुसार भारतले सिक्स जि प्रविधिमा २ सयभन्दा धेरै पेटेन्टहरु प्राप्त गरेको छ । उनले सोमबारबाट सुरु भएको भारत सिक्स जि अलायन्सले सन् २०३० सम्ममा सिक्स जि प्रविधि र त्यससँग सम्बन्धित उत्पादनहरुमा अग्रणी योगदान गर्ने बताए ।

हाल भारत संसारभरकै तेस्रो फाइभ जि इकोसिस्टम भएको देशको रुपमा रहेको छ । भारतमा हालसम्म २.७० लाख फाइभजि साइटहरु तयार भएका छन् ।


क्लिकमान्डु