कृषिजन्य वस्तुको उत्पादन वृद्धिले बढायो निकासी, १६ अर्बको निर्यात



काठमाडौं । चालु आर्थिक वर्षमा कृषिजन्य वस्तुको उत्पादन बढेको छ । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार चालु आर्थिक वर्षमा अधिकांश कृषिजन्य वस्तुको उत्पादन बढेको देखाउँछ ।

यो वर्ष कृषिजन्य वस्तुको उत्पादन बढेसँगै निर्यातमा सुधार देखिएको छ । नेपालबाट निर्यात हुने मुख्य कृषिजन्य वस्तुको निर्यात उच्च बढेको व्यापार तथा निकासी प्रवर्धन केन्द्रको तथ्यांकले देखाएको छ ।

नेपालबाट निर्यात हुने वस्तुमध्ये सबैभन्दा बढी गैर कृषिजन्य वस्तु छन् । त्यसमा पनि तेस्रो मुलुकबाट आयात गरी प्रशोधन गरेर निर्यात गरिने वस्तुको हिस्सा ठूलो छ ।

नेपालले निर्यात गर्ने वस्तुमध्ये तेस्रो मुलुकबाट आयात गरेर प्रशोधन गर्ने तेलको हिस्सा बढी छ । नेपालले गत वर्ष २ खर्ब बढीको वस्तु निर्यात गरेकोमा खाने तेलको हिस्सा ५० प्रतिशतभन्दा बढी थियो ।

त्यसबाहेक कार्पेट, धागो, आइरन तथा स्टिललगायत अन्य वस्तु छन् । तर, नेपाली किसानले उत्पादन गरेका कृषिजन्य वस्तुको निर्यातको हिस्सा निकै कमजोर छ । नेपालबाट विशेषगरी कृषिजन्य वस्तुमा अलैंची, चिया, छुर्पी, अदुवा र दहलन निर्यात हुँदै आएको छ । चालु आर्थिक वर्ष यी कृषिजन्य वस्तुको उत्पादन बढ्दा निर्यातमा पनि सुधार आएको छ ।

आर्थिक सर्वेक्षणअनुसार चालु आर्थिक वर्षमा ४ लाख २३ हजार मेट्रिक टन दलहन उत्पादन हुने अनुमान छ । गत वर्ष ४ लाख ८ हजार ३७१ मेट्रिक टन दलहन उत्पादन भएको थियो ।

त्यस्तै, यो वर्ष चियाको उत्पादन पनि बढेको छ । गत वर्ष २४ हजार ६ सय मेट्रिक टन चिया उत्पादन भएकोमा यो वर्ष २६ हजार ८ सय मेट्रिक टन चिया उत्पादन हुने अनुमान छ ।

त्यसैगरी, यो वर्ष अलैंचीको उत्पादन करिब १ हजार मेट्रिक टन बढी उत्पादन भएको छ । गत वर्ष ८ हजार ७१४ मेट्रिक टन उत्पादन भएकोमा यो वर्ष ९ हजार ६ सय मेट्रिक टन उत्पादन हुने अनुमान छ ।

सर्वेक्षणमा यो वर्ष २ लाख ९५ हजार ८०६ मेट्रिक टन अदुवा उत्पादन हुने उल्लेख छ । गत वर्ष नेपालभर २ लाख ८७ हजार ८१३ मेट्रिक टन उत्पादन भएको थियो ।

उत्पादन बढेसँगै कृषिजन्य वस्तुको निर्यात ह्वात्तै बढेको छ । केन्द्रको तथ्यांकअनुसार गत वर्षको तुलनामा यो वर्ष अलैंची, चिया, कुकुर र बिरालोको खाना (छुर्पी), अदुवा र दलहनको निर्यात बढेको छ ।

नेपालले यी पाँच कृषिजन्य वस्तु मात्रै गत वर्ष ११ अर्ब २४ करोड ६३ लाख रुपैयाँको निर्यात गरेको थियो । यो वर्ष बढेर १५ अर्ब ७१ करोड ३७ लाख रुपैयाँ पुगेको छ ।

नेपालले गत वर्षको ११ महिनाको अवधिमा ४ अर्ब ५५ करोड ६६ लाख रुपैयाँको ५० लाख ५० हजार किलो अलैंची निर्यात गरेको थियो । यो वर्षको सोही अवधिमा नेपालले ७ अर्ब ७० करोड २२ लाख रुपैयाँको ९३ लाख ८६ हजार किलो अलैंची निर्यात गरेको छ, जुन ६९ प्रतिशतले बढी हो ।

विश्वमा अलैंची उत्पादनमा पहिलो स्थानमा रहेको नेपालले उच्च रुपमा निर्यात गर्दै आए पनि नेपालको अलैंचीको मुख्य बजार भारतबाहेक अन्यत्र छैन । भारतमा उत्पादनका आधारमा नेपाली अलैंचीको मूल्य र निर्यात निर्धारण हुन्छ ।

भारतले नेपालबाट आयात गरेको अलैंचीलाई प्रशोधन तथा प्याकेजिङ गरी साउदी अरब, यूएई, बंगलादेश र पाकिस्तान निर्यात गर्दै आएको नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई बताउँछन् । अलैंचीको प्रमुख आयातकर्ता यूएई रहेको छ । त्यसपछि अन्य देश छन् । ती देशमा भारतले नेपालबाट आयात गरी विश्वबजारमा निर्यात गर्दै आएको विभिन्न अध्ययनले देखाएको छ ।

नेपालले अन्य देशसँग निर्यातमा पहल गर्न नसक्दा भारतले विश्वबजारबाट फाइदा लिइरहेको भट्टराईको भनाइ छ । सरकारले अलैंची निर्यात हुने सम्भावित देशसँग सहकार्य गरी निर्यातमा सहज बनाउने हो भने नेपालबाट उच्च गुणस्तरको अलैंची निर्यात गर्न सक्ने उनको दाबी छ ।

त्यस्तै, गत वर्ष ३ अर्ब ६ करोड ५८ लाख रुपैयाँको १ करोड ११ लाख २ हजार किलो चिया निर्यात भएको छ । नेपालले यो वर्ष ३ अर्ब ६२ करोड १० लाख रुपैयाँको १ करोड ५५ लाख २६ हजार किलो चिया निर्यात गरेको छ ।

नेपालले सो अवधिमा २ अर्ब ९६ करोड ६६ लाख रुपैयाँको कुकुर तथा बिरोलाको खाना (छुर्पी) निर्यात गरेको छ । गत वर्ष २ अर्ब ५८ करोड रुपैयाँको निर्यात भएको थियो ।

यो वर्ष अदुवाको उत्पादन बढ्दा निर्यातमा पनि सुधार आएको छ । तथ्यांकअनुसार गत वर्षको तुलनामा यो वर्ष ८१.४ प्रतिशतले बढी अदुवा निर्यात भएको छ । नेपालले गत वर्षको ११ महिनाको अवधिमा ५५ करोड रुपैयाँको निर्यात भएकोमा यो वर्ष ९९ करोड ७७ लाख रुपैयाँको निर्यात भएको छ ।

अदुवाको मुख्य बजार भारत हो । त्यसबाहेक जर्मनी, बंगलादेश र कतारमा नेपाली अदुवा सानो परिमाणमा निर्यात हुँदै आएको छ । तर, अदुवाको निर्यातमा भने भारतकै भर छ ।

मेची उद्योग वाणिज्य संघका अध्यक्ष एवं नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघका सचिव गोपाल बस्नेतले हालसम्म नेपालले भारतमा मात्रै अदुवा निर्यात गर्दै आएको बताए । भारतबाहेक अन्य मुलुकमा निर्यातका लागि कागजपत्रदेखि प्रक्रिया धेरै लामो भएकाले पनि व्यवसायीले कम मूल्यमै भारतमा निकासी गर्दै आएका छन् ।

भारतमा भएको उत्पादनको आधारमा माग र मूल्य तय हुने भएकाले नेपाली व्यवसायीले उच्च जोखिम मोलेर उत्पादन गर्दै आएको पाइन्छ ।

अहिले नेपालका अदुवा व्यवसायीले भारतको नाकामा गएर भारतीय व्यापारीसँग सम्पर्क गरी सिधै निर्यात गर्दै आएका छन् । नेपालबाट अदुवा निर्यातका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष समस्या रहेकाले अन्य मुलुकमा निर्यात गर्न नसकेको व्यवसायीको भनाइ छ ।

व्यवसायीका अनुसार भारतबाहेक अन्य देशसँग नेपालले सहज वैदेशिक व्यापारको वातावरण सिर्जना गर्न नसक्दा उत्पादनको लागतभन्दा कम मूल्य बिक्री गर्न बाध्य छन् ।

नेपालले अदुवा क्षेत्रमा ठूलो लगानी गरी अदुवा उत्पादन, प्रशोधन, ग्रेडिङ, प्याकेजिङ, ब्रान्डिङ र उत्पादनमा विविधीकरण गर्ने हो भने अदुवा निकै सम्भावित क्षेत्र रहेको सरकारी अध्ययनले नै देखाउँछ । अध्ययनले देखाए पनि अदुवा उत्पादनमा विविधीकरणदेखि प्रशोधन, ग्रेडिङमा समस्या हुँदा तेस्रो मुलुकमा निर्यात हुन नसकेको केन्द्रको भनाइ छ । साथै, नेपालको अदुवाको बजारीकरण हुन नसक्दा पनि पछि परेको केन्द्रले जनाएको छ ।

यो वर्ष दलहनको निर्यात भने १३.६ प्रतिशतले घटेको छ । नेपालले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ४२ करोड ६१ लाख रुपैयाँको दलहन निर्यात गरेको छ । गत वर्षको सोही अवधिमा नेपालले ४९ करोड ३३ लाख रुपैयाँको निर्यात भएको थियो ।


अरिष्मा मोक्तान