बालेनले १ वर्षमा गरेका ५२ काम



काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले १ वर्षमा ५२ काम गरेको जानकारी गराएका छन् । आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बालेन ५२ काम गरेको बताएका हुन् ।

सडक क्षेत्रमा रहेको पार्किङ हटाई सवारी आवागमनलाई सहज बनाएको, अनधिकृत पार्किङ गरिएका सवारी साधन पक्राउ गरी कारबाही गरिएको, गैरकानुनी रुपमा सञ्चालित वर्कसपलाई कारबाही गरिएको, सडक अतिक्रमण नियन्त्रण गरिएकोलगायत काम उनले नीति तथा कार्यक्रममा उल्लेख गरेका छन् ।

यी हुन् ५२ काम

१. विद्यालयहरुमा कक्षा १ देखि कक्षा ८ सम्म स्थानीय विषय नेपाल भाषाको पाठ्यक्रम अनुरुप पठनपाठन भैरहेको छ ।

२. वडास्तरीय सामुदायिक सिकाइ केन्द्रमार्फत अनौपचारिक शिक्षा र सिप विकास प्रवर्धन गर्ने कार्यक्रम सञ्चालन गरिएको छ ।

३. विद्यालयहरुमा सिकाइको नविन अवधारणा बुक फ्री फ्राइडे सञ्चालनमा ल्याइएको छ । त्यसअन्तर्गत ८० प्रकारका सीपमूलक कार्यक्रम सञ्चालन भइरहेका छन् । एक्स्ट्रा करिकुलम एक्टिभिटिज (ईसीए) प्रवर्धन जस्ता कार्यक्रमलाई निरन्तर सञ्चालन गरिएको छ ।

४. महानगरपालिकाको पहलमा १२ हजार ९७० जना विद्यार्थीलाई संस्थागत विद्यालयमा छात्रवृत्ति प्रदान गरिएको छ । हालसम्म ४६५ वटा संस्थागत विद्यालयले छात्रवृत्ति प्रदान गरेको विवरण प्राप्त भएको छ भने अन्य विद्यालयबाट विवरण प्राप्त हुने क्रम जारी छ ।

५. सहरी स्वास्थ्य प्रवर्धन केन्द्र सञ्चालन कार्यविधि जारी गरी सबै वडा कार्यालयमा चिकित्सकसहितको स्वास्थ्य प्रवर्धन केन्द्र सञ्चालन गर्न आवश्यक पूर्वाधार विकासको कार्य गरिएको छ ।

६. विपन्न नागरिकका लागि सबै अस्पतालले प्रदान गर्नुपर्ने निःशुल्क बेड सुविधासहितको स्वास्थ्य सेवाका लागि महानगरपालिका क्षेत्रभित्रका अस्पतालसँग समन्वय गरी कार्य थालनी गरिएको छ ।

७. काठमाडौँ उपत्यकाभित्र चालु आर्थिक वर्षको हालसम्ममा ९ हजार १७६ जनालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइएको छ ।

८. इलेक्ट्रोनिक लजिस्टिक म्यानेजमेन्ट इन्फर्मेसन सिस्टमलाई स्वास्थ्य सेवासँग आबद्ध गरिएको छ भने इलेक्ट्रोनिक हेल्थ इन्फर्मेसन रेकर्डिङ सिस्टमसमेतको डिजिटल प्रणालीलाई स्वास्थ्य सेवासँग आबद्धताको सुरुवात गरिएको छ ।

९. आफ्नो भवन नभएका वडा नं. २, ६, १२ र ३१ नं. वडा कार्यालयको भवन निर्माण कार्य सम्पन्न भई नयाँ भवनवाट सेवा सञ्चालन सुरु भएको छ ।

१०. चालु आर्थिक वर्षमा १२३ रोपनी सार्वजनिक जग्गाको संरक्षण, २५ वटा नयाँ पार्कको निर्माण, १७ सयवटा स्मार्ट सडकबत्ती जडान, ४२ किमी सडक कालोपत्रे, ७ किमी नयाँ ढल निर्माण, १५ सय मिटर फुटपाथ निर्माण, सार्वजनिक शौचालय र सामुदायिक विद्यालय भवन निर्माण तथा मर्मतलगायतका पूर्वाधार विकासका कार्य सम्पन्न भएको छ ।

११. पैदलयात्रीहरुको सहज आवागमनका लागि फुटपाथको उपयोग सहज र सरल बनाइएको छ ।

१२. नेपाल सरकार तथा विभिन्न संस्थाको सहकार्यमा काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका विद्युत, टेलिफोन, केवल टेलिभिजन, इन्टरनेटलगायतका ३० ट्रक तार हटाएर व्यवस्थित गरिएको छ ।

१३. निजी क्षेत्रसँगको सहकार्यमा निजी शौचालयलाई सार्वजनिक प्रयोजनमा पहुँच वृद्धिका लागि सुरुवात गरिएको छ ।

१४. नेपाल विद्युत प्राधिकरणसँग सहकार्य गरी महानगर उज्यालो कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

१५. अमूर्त सम्पदाको संरक्षण र प्रवर्धनमा महानगरपालिकाको योगदानलाई निरन्तरता दिइएको छ । जीवित कुमारी, भैरव, गणेशको संरक्षणको कार्यक्रम तथा परम्परादेखि सञ्चालनमा रहेका जात्रा, पर्व, गुठी, त्वागुरु तथा बाजागुरु सम्मान कार्यक्रम निरन्तर सञ्चालन गरिएको छ ।

१६. सूचना प्रविधिमैत्री सेवा प्रवाह गर्न, ढुंगेधाराहरुको पुनर्जीवनका लागि कार्य गर्न र जमिनमुनिको पानीको पुनर्भरणसम्बन्धी अध्ययनका लागि त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गर्न समझदारी गरिएको छ ।

१७. नदीनालामाथि अतिक्रमण गरी बनाइएका अनधिकृत भवन संरचना हटाई नदीको बहाव क्षेत्र र दायाँबायाँको सार्वजनिक क्षेत्र संरक्षण गर्नुका साथै नदी करिडोरको विकासमा अग्रसरता लिइएको छ । महानगरको थुप्रै स्थानमा अनधिकृत रुपमा अतिक्रमण गरी निर्मित भवन संरचना हटाइएको छ र हटाउने क्रम निरन्तर जारी छ ।

१८. टुकुचा खोलाको बहाव क्षेत्रलाई खुला गर्न भएको प्रयासबाट नदीको खुला हुन पाउने स्वाभाविक, प्राकृतिक र कानुनी अधिकार स्थापित भएको छ । सामाखुशी खोला अतिक्रमण गरी बनेका अनधिकृत संरचना हटाउने कार्य सञ्चालन भइरहेको छ ।

१९. काठमाडौँ महानगरपालिकाअन्तर्गतका स्वीकृत कार्यक्रमको कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याइएको र कार्ययोजनाको प्रगतिका सम्बन्धमा सिनियर म्यानेजमेन्ट टिम मिटिङको अभ्यास गरिएको छ ।

२०. महानगरवासीको गुनासोको तत्काल समाधान गर्न कल सेन्टरलाई निरन्तरता दिइएको छ । हालसम्म ३० हजार ४०७ जनाले टेलिफोनमार्फत कल गरी २ हजार ९१० जनाले गुनासो टिपाएकोमा १ हजार ६५२ जनाको गुनासो सम्बोधन भएको र १ हजार २५८ जनाको गुनासो सम्बोधन हुने क्रममा छ । महानगरपालिकाको केन्द्र तथा वडा तहमा सार्वजनिक सुनुवाइ गरी सेवाग्राहीबाट प्राप्त हुने सुझाव तथा गुनासो व्यवस्थापन गरिएको छ ।

२१. लोकसेवा आयोग तथा सुरक्षा निकायहरुको वैकल्पिक सूचीमा रहेका इन्जिनियर र प्रहरीलाई करार सेवामा नियुक्त गरी योग्यता प्रणालीलाई प्रोत्साहित गरिएको छ ।

२२. सार्वजनिक खरिद नियमावली २०७९ जारी गरी सार्वजनिक खरिद प्रक्रियालाई विभाग र वडा तहसम्म विकेन्द्रित गरिएको छ ।

२३. काठमाडौँ महानगरपालिका र नेपाल ल क्याम्पसबीचको सहकार्यमा महानगरपालिकाबाट प्रवाह हुने सेवामा सेवाग्राहीको सहज पहुँच वृद्धिका लागि इच्छुक सेवाग्राहीलाई सामान्य कानुनी परामर्श सेवा, कानुनी लिखतहरुको मस्यौदा निःशुल्क दिने व्यवस्था वडा तहसम्म मिलाइएको छ । चैतबाट सुरु भएको यस सेवाबाट ७६ सयभन्दा बढी सेवाग्राहीलाई निःशुल्क कानुनी सेवा प्रदान गरिएको छ ।

२४. कर तथा गैरकर राजस्वको अनुगमन गर्न विशेष टोली गठन गरी परिचालन गरिएको छ ।

२५. बाह्य विज्ञापन नियमन निर्देशिका जारी गरी बाह्य विज्ञापनलाई प्रतिस्पर्धी, पारदर्शी र व्यवस्थित गर्ने प्रबन्ध गरिएको छ ।

२६ राजस्व संकलनलाई सरलीकरण गर्न अनलाइन प्रणाली प्रयोगमा ल्याई कार्यान्वयनका लागि वडास्तरमा अधिकार प्रत्यायोजन गरिएको, करदाता शिक्षालाई व्यापकता दिइएको, घरवहाल व्यवस्था निर्देशिका जारी गरी बहालमा लिने दिने कार्यलाई नियमित र व्यवस्थित गरिएको छ ।

२७. महानगरपालिका क्षेत्रभित्र आवासीय प्रयोजनका लागि निर्माण भएका बहुतले भवन (अपार्टमेन्ट) प्रयोग गर्ने करदाताबाट लिइने सम्पत्ति करमा पुनरावलोकन गरिएको छ ।

२८. करदाताले प्रत्यक्ष सम्पर्क गरी कुनै जानकारी लिन वा गुनासो गर्नका लागि करदाता सहायता कक्ष सञ्चालन गरिएको छ । यसबाट दैनिक ५० जनाभन्दा बढी करदातालाई प्रत्यक्ष तथा टेलिफोनमार्फत करसम्बन्धी जिज्ञासामा जानकारी दिने गरिएको छ ।

२९. सबै वडा कार्यालयमा स्थापना भई सञ्चालनमा रहेका मेलमिलाप केन्द्रलाई स्तरोन्नति गरी सबै विवाद दर्ता गर्ने, विपक्षी झिकाउने, प्राविधिकद्वारा स्थलगत निरीक्षण गरी प्रतिवेदन पेस गर्ने, मेलमिलाप प्रकिया सम्पादन गर्ने आदि कार्य वडा तहबाट हुने प्रबन्ध गरी न्यायलाई छिटोछरितो र पहुँचयोग्य वनाइएको छ ।

३०. वडा कार्यालयहरुमा वडा महिला सञ्जाल गठन गरी महिला सशक्तीकरण, लैंगिकताका आधारमा हुने हिंसा नियन्त्रण तथा महिलाको बहुपक्षीय क्षमता विकास गर्न महिला सञ्जाललाई क्रियाशीण्ल बनाइएको छ ।

३१. स्थानीय तहको विवाद समाधान गर्ने देशभरिका न्यायिक समितिका पदाधिकारीको सहभागितामा न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन आयोजना गरी न्यायिक समितिको काम कारबाहीलाई प्रभावकारी वनाउन तथा न्याय सम्पादन प्रक्रियालाई एकरुपता कायम गर्न विभिन्न पाँच कार्यपत्रमा छलफल गरी ११ बुँदे न्यायिक समिति काठमाडौं घोषणा २०७९ जारी गरिएको छ ।

३२. अदालत तथा न्यायिक निकायहरुमा कार्यालयको तर्फबाट हुने न्यायिक प्रतिरक्षालाई प्रभावकारी बनाइएको छ, महानगरपालिकाद्वारा जारी गरिएका स्थानीय कानुनहरुको आवश्यकताअनुसार संसोधन, परिमार्जन तथा एकीकरण गरिएको छ ।

३३. महानगरपालिकाबाट गैरसरकारी संस्थामार्फत गरिने विभिन्न क्षेत्रगत सामाजिक कार्यहरुलाई थप व्यवस्थित, संस्थागत र उपलब्धिमूलक बनाउन आवश्यक देखिएको हुँदा त्यस्ता कार्यक्रमहरु उपप्रमुख सामाजिक कार्यक्रमअन्तर्गत प्रतिस्पर्धाको माध्यमबाट २०४ सामाजिक संस्थाहरुमध्येबाट ९९ वटा संस्था छनौट गरी कार्य सम्पादन गरिएको छ ।

३४. असहाय, बेवारिस तथा सडक सहयोगापेक्षी मानव उद्धार, उपचार तथा व्यवस्थापनका लागि मानव सेवा आश्रमसँग निरन्तर सहकार्य भइरहेको छ । चालु आर्थिक वर्षमा २४५ जनाको उद्धार गरी मानव सेवा प्रदान गरिएको छ ।

३५. गणेशमान सिंह, मनमोहन अधिकारी, साधना प्रधान, मंगलादेवी सिंह र मदन भण्डारी स्मृति प्रतिष्ठानहरुमार्फत विभिन्न सामाजिक उत्थानशीलता प्रवर्धनसम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिएको छ ।

३६. संकटग्रस्त सहकारीलाई संघ, प्रदेश र सम्बन्धित स्थानीय तहसँगको समन्वयमा प्रभावकारी व्यवस्थापनका लागि संस्थागत प्रबन्ध मिलाई सुधारका लागि नीतिगत प्रबन्ध गरिएको छ ।

३७. महानगरपालिका १६ वडा बालाजुमा नयाँ वारुणयन्त्र शाखा विस्तार गरी सञ्चालनमा ल्याइएको छ ।

३८. दमकल छिर्न नसक्ने २ वटा साँघुरा गल्लीहरुमा फायर हाइड्रेन्ट जडान गरिएको छ ।

३९. विपद व्यवस्थापनका लागि स्थापित महानगर आपतकालीन कार्य सञ्चालन केन्द्रलाई थप प्रभावकारी बनाई सञ्चालनमा ल्याइएको छ ।

४०. भवनको नक्सा पास प्रक्रियालाई सरल, सहज र पारदर्शी बनाउन अनलाइनमार्फत मात्र नक्सा दर्ता प्रकिया सुरु गरिएको, विद्युतीय भवन अनुमति प्रणालीलाई प्रभावकारी बनाई डिजिटल सिग्नेचरलाई कार्यान्वयनमा ल्याइएको छ । ५ हजार वर्ग फिटसम्मको नक्सापास वडाबाट नै गर्ने प्रक्रिया थालनी गरिएको छ ।

४१. नेपाल सरकार, सहरी विकास मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभागबाट संशोधन गरी जारी गरिएको नेपाल राष्ट्रिय भवन संहिता २०७७ नेपाल नेसनल बिल्डिङ सेस्मिक डिजाइन अफ बिल्डिङ इन नेपाल पूणर्रुपमा कार्यान्वयनमा ल्याइएको छ ।

४२. भूमिगत वा भुँइ तल्लामा पार्किङ वा भण्डारण जुन प्रयोजनका लागि भवन निर्माण गर्न स्वीकृति लिएको हो, त्यसबाहेक अन्य प्रयोजनमा प्रयोग गर्न नपाइने व्यवस्था कडाइका साथ लागू गरिएको छ । अन्य प्रयोजनमा रहेको ९५ हजार ५३८ वर्गफिट भूमिगत क्षेत्रफललाई खाली गरी भूमिगत पार्किङ क्षेत्र कायम गरिएको छ ।

४३. १ लाख ८० हजार ७५६ वर्गफिट कालोपत्रे सडक क्षेत्रमा रहेको पार्किङ हटाई सवारी आवागमनलाई सहज बनाइएको, १६ हजार ७५७ अनधिकृत पार्किङ गरिएका सवारी साधन पक्राउ गरी कारबाही गरिएको, गैरकानुनी रुपमा सञ्चालित २३१ वर्कसपलाई कारबाही गरिएको, १ हजार २० सडक अतिक्रमण नियन्त्रण गरिएको, २९३ अनधिकृत फोहरमैला गरेबापत कारबाही गरिएको, २७० आगलागी नियन्त्रण भएको, १६ हजार ५७० अनधिकृत संरचना हटाइएको, १८ हजार ९८३ वटा होर्डिङ बोर्ड तथा परिचयपाटी हटाई सहरी सुव्यवस्थापन तथा सौन्दर्य कायम गरिएको छ ।

४४. काठमाडौँ महानगरपालिकाबाट प्रवाह हुने सार्वजनिक सेवामा सूचना तथा सञ्चार प्रविधिको उच्चतम उपयोग गरी विद्युतीय सुशासन प्रवर्धनका लागि आवश्यक पूर्वाधार निर्माण कार्य सुरु गरिएको छ ।

४५. नगर कार्यपालिकाको बैठकलाई प्रत्यक्ष प्रसारण गरिएको छ ।

४६. काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई क्षमता तथा सीप विकास तालिम र अवलोकन भ्रमणलाई निरन्तरता दिइएको छ । चालू आर्थिक वर्षमा ७० जना जनप्रतिनिधि र ३६५ जना कर्मचारीलाई विषयगत तालिम प्रदान गरिएको छ ।

४७. वडास्तरमा नै ई-सिफारिस केएमसी एप अवलम्बन गरी सेवा प्रवाहलाई छिटोछरितो र प्रविधिमैत्री बनाउन शुभारम्भ भएको छ । हालसम्म यस एपका प्रयोगकर्ता ४ हजार ७०३ जना छन् । ७८३ जना प्रयोगकर्ताले अनलाइन आवेदन दिएकोमा २० प्रतिशत कार्य पूणर्रुपमा सम्पन्न भएको छ र बाँकी आवेदन कार्य सम्पन्न हुने प्रक्रियामा छन् ।

४८. महानगरपालिका क्षेत्रभित्र सञ्चालित परियोजनाको अनुगमनलाई प्रभावकारी बनाई विकास निर्माणलाई गुणस्तरीय बनाउने कार्यमा सुधार भएको छ ।

४९. काठमाडौं महानगरपालिका ३२ वडास्थित जडिबुटी चोक, मैतिदेवी चोक र पुरानो बसपार्क गेटमा रहेको अनधिकृत संरचना हटाएर सवारी आवागमनलाई सहज बनाइएको छ ।

५०. महानगरपालिकाको सहकार्यमा छत्रपाटी निःशुल्क चिकित्सालयमा महानगरपालिका क्षेत्रभित्रका ज्येष्ठ नागरिक, जनप्रतिनिधि तथा कर्मचारीसमेत गरी चालु आर्थिक वर्षमा ५३३ जनालाई निःशुल्क स्वास्थ्य जाँच तथा उपचार सेवा उपलब्ध गराइएको छ । सामुदायिक स्वास्थ्य सेवा परिषद् डल्लुमा निःशुल्क स्वास्थ्य परीक्षण गर्ने कार्यलाई निरन्तर रुपमा सञ्चालनमा ल्याइएको छ ।

५१. काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डसँगको सहकार्यमा कमलपोखरी र पुष्पलाल पार्कमा वाटर एटीएम जडान गरिएको छ ।

५२. आइडिया बैंकका लागि आह्वान गरिएको प्रस्तावमा पेस हुन आएका ७७६ वटा प्रस्ताव मध्येबाट १०० वटा प्रस्ताव छनौट गरिएको छ ।


क्लिकमान्डु