वाणिज्य बैंकका २ महिना: ६१ अर्ब निक्षेप संकलन, कर्जा ३ अर्बले ऋणात्मक
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ‘क’ वर्गका वित्तीय संस्थामा दुई महिनामा ६१ अर्ब निक्षेप संकलन हुँदा कर्जा प्रवाह ३ अर्ब रुपैयाँले घटेको छ । वैशाख र जेठमा वाणिज्य बैंकहरुमा ६१ अर्ब हाराहारी निक्षेप संकलन हुँदा कर्जा प्रवाह ३ अर्ब रुपैयाँभन्दा बढीले ऋणात्मक बनेको हो ।
वैशाख २ गते ४८ खर्ब २२ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरुको निक्षेप जेठ २९ सम्ममा ४८ खर्ब ८५ अर्ब पुगेको छ भने कर्जा ४३ खर्ब १ अर्बबाट घटेर ४२ खर्ब ९८ अर्बमा झरेको छ । समग्र मागमा आएको कमी तथा उच्च ब्याजदरका कारण कर्जाको माग घटेको हो ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा भने सामान्य बढेको छ । वैशाख २ गते ५४ खर्ब ७३ अर्ब रहेको बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप जेठ २९ गते ५५ खर्ब ३७ अर्ब पुगेको छ भने कर्जा ४८ खर्ब ५० अर्बबाट बढेर ४८ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ ।
चैत मसान्तसम्ममा व्यक्तिगत निक्षेप २९ खर्ब ४२ अर्ब १७ करोड रुपैयाँभन्दा बढी छ । जेठ २९ सम्ममा वाणिज्य बैंकबाहेकका वित्तीय संस्थाको कुल निक्षेप ६ खर्ब ५२ अर्ब छ भने कर्जा प्रवाह ५ खर्ब ५५ अर्ब रुपैयाँ छ ।
दुई महिनाको अवधिमा औसत कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ८५.२ बाट ८४.४ प्रतिशतमा झरेको छ । सीडी रेसियो चैत मसान्तमा ८५.७५ र असोज मसान्तमा ८७.२१ प्रतिशत थियो । समीक्षा अवधिमा अन्तर बैंक ब्याजदर ७ प्रतिशतबाट ६.१८ प्रतिशतमा ओर्लिएको छ ।
तरलता सहज हुँदै जाँदा निक्षेपको ब्याजदर र कर्जाको ब्याजदर पनि घटेको छ । वैशाख २ गते २ खर्ब ६२ अर्ब हाराहारी रहेको लगानीयोग्य रकम जेठ २९ गते ३ खर्ब १० अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । त्यस्तै आधार दर पुस मसान्तको १०.८६ प्रतिशतबाट घटेर चैत मसान्तमा १०.४८ झरेको छ । माघमा यो वर्षकै उच्च विन्दु १३.०३ प्रतिशत पुगेको वाणिज्य बैंकको औसत कर्जाको ब्याजदर वैशाखमा १२.८४ प्रतिशतमा झरेको छ ।