देशमा भेडाको संख्या घट्यो, बाख्राको संख्या ४.१% ले बढ्यो



काठमाडौं । पछिल्लो समय भेडाको संख्या र ऊन उत्पादन घटेको छ । नेपालमा रहेका भेडा मध्ये बरूवाल जातका भेडाको बाहुल्यता रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

यसको उत्पादकत्व उन्नत भेडाको भन्दा तुलनात्मकरूपले कम हुने हुँदा ऊन उत्पादन समेत कमी देखिएको अर्थमन्त्री डा प्रकाशशरण महतले आइतबार संघीय संसदमा पेस गरेको आर्थिक सर्वेक्षणमा जनाइएको छ ।

नेपालमा प्रायः ऊन उत्पादन भन्दा मासुका लागि भेडाको प्रयोग गरिने प्रचलन रहेको र अप्ठ्यारो भूगोलमा व्यवसाय सञ्‍चालन गर्नुपर्ने हुँदा भेडा र ऊनको उत्पादन घट्दै गएको छ ।

व्यावसायिक रूपमा गाईभैंसी तथा बाख्रापालनमा युवाको आकर्षण बढ्दै गएको छ । वैदेशिक रोजगारीबाट फर्केका व्यक्ति स्वदेशमा पशुपन्छीपालनमा आवद्ध हुँदा कृषिको व्यावसायीकरण तथा रोजगारी सिर्जनामा समेत सकारात्मक प्रभाव परेको छ ।

पछिल्ला वर्षहरूमा गाई भैंसीको संख्यामा केही घटबढ देखिए पनि रैथाने पशुको तुलनामा उन्नत नश्ल र बढी उत्पादन क्षमताका गाई भैंसीको संख्यामा वृद्धि भएको छ ।

फलस्वरूप, दूध उत्पादनमा समेत वृद्धि भएको छ। बोयर लगायतका उन्नत जातको बाख्राको आयात तथा स्वदेशमै उत्पादनबाट बाख्राको नश्ल सुधारमा थप सहयोग पुगेको छ। बाख्राको संख्या गत आर्थिक वर्षको तुलनामा ४.१ प्रतिशतले वृद्धि भएको छ ।

२०७८ चैत्र महिनादेखि देशका विभिन्न स्थानमा अफ्रिकन स्वाईन फिभर रोग फैलिएको करण सुँगुर तथा बङ्गुरका संख्यामा ५.३ प्रतिशतले कमी आएको छ ।

कोभिड–१९ महामारीको कारण हालसम्म पनि कुखुरा व्यावसाय पुरानो लयमा फर्कन नसकेको उल्लेख छ । व्यावसायिक कुखुराको संख्यामा करिव ९ प्रतिशतले कमी आएको छ ।


क्लिकमान्डु