डिजेलमा अझै १६ र पेट्रोलमा १५ रुपैयाँ नाफा, किन घटेन पेट्रोलको मूल्य ?



काठमाडौं । मंगलबार नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाए पनि पेट्रोलको मूल्य समायोजन गरेन । जुन १६ गते भारतीय आयल कर्पोरेसनले पठाएको मूल्य सूचीअनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ नाफा छ ।

मंगलबार बसेको निगम सञ्चालक समितिको बैठकमा पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाउने प्रस्ताव पेस भएको थियो । तर, सञ्चालक समितिको बैठकमा नेपालमा मूल्य समायोजन गर्दा भारततर्फ तस्करी बढ्ने र नेपालमा पेट्रोलको आयात ह्वात्तै बढ्न सक्ने प्रश्न उठेपछि पेट्रोलमा मूल्य समायोजन गर्ने प्रस्ताव पारित भएन ।

हाल भारतीय सीमा नाका रक्सौलमा नेपालभन्दा प्रतिलिटर २३ पैसा मात्रै पेट्रोल महँगो छ । नेपालमा भारतमा भन्दा पेट्रोलियम पदार्थ सस्तो भएपछि तस्कारी बढ्ने गरेको छ । हाल नेपालमा पेट्रोलियम पदार्थ महँगो हुँदा तस्करी रोकिए पनि विगत वर्षहरुभन्दा पेट्रोलियम पदार्थको आयात घटेको निगमका अधिकारी बताउँछन् ।

तस्करीको कारण देखाएर पेट्रोलको मूल्य समायोजन नगरेको निगमले डिजेलमा अत्यधिक नाफा हुँदा पनि त्यसअनुसार मूल्य घटाएको छैन ।

प्रतिलिटर १० रुपैयाँ घटाउँदा पनि मंगलबार प्राप्त नयाँ मूल्य सूचीअनुसार निगमलाई डिजेलमा प्रतिलिटर १६ रुपैयाँ नाफा छ । भारतमा भन्दा नेपालको सीमा नाकामा डिजेलको मूल्य १ रुपैयाँ ५६ पैसा मात्रै महँगो हुनुका साथै निगमले ४२ अर्ब दायित्व पूरा गर्नुपर्ने भएकाले धेरै मूल्य नघटाएको निगम प्रवक्ता मनोज ठाकुर बताउँछन् ।

उनका अनुसार निगमले गत वर्ष मूल्य समायोजन नहुँदा मूल्य स्थिरीकरण कोषको २० अर्ब रुपैयाँ प्रयोग गरेको छ । यस्तै, कर्मचारी आवास कोष ३ अर्ब तथा वायु सेवा कम्पनी र विक्रेता धरौटी १ अर्ब रुपैयाँ पनि निगमको दायित्व भएको ठाकुर बताउँछन् ।

नेपाल सरकारसँग वार्षिक ७ प्रतिशत ब्याजदरमा लिएको ७ अर्ब रुपैयाँ ऋण पनि भुक्तानी गर्न बाँकी रहेकाले निगमले पर्याप्त मूल्य समायोजन गर्न नसकेको ठाकुरको भनाइ छ ।

ठाकुरका अनुसार निगमलाई आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर ३८ रुपैयाँ र बाह्यतर्फको हवाई इन्धनमा प्रतिलिटर ७६ रुपैयाँ नाफा छ ।

एलपीजी ग्यासमा भने निगमलाई प्रतिसिलिन्डर २१८ रुपैयाँ घाटा छ । निगमले मंगलबारको मूल्य समायोजनपछि आगामी १५ दिनमा १ अर्ब ७५ करोड नाफा हुने अनुमान छ ।

‘प्रत्येक महिनाको १ तारिकमा हामीले खरिद गर्ने सबै पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची प्राप्त गर्छौं । १६ तारिक भने पेट्रोल र डिजेलको मात्रै नयाँ मूल्य आउँछ,’ ठाकुरले भने, ‘१५ दिनपछि प्राप्त हुने नयाँ मूल्य र सीमावर्ती भारतीय बजारको मूल्यलाई हेर्दै आगामी दिनमा थप मूल्य समायोजन हुनेछ ।’


क्लिकमान्डु