सेबोनमा आर्थिक अनियमितता भयो छानबिन गरी कारबाही गर्नुपर्छः ब्रोकर, गम्भीर ध्यानाकर्षण भयोः बोर्ड



काठमाडौं । सेयर बजारको नियामक निकाय धितोपत्र बोर्डले लाइसेन्स दिएका ब्रोकर कम्पनीबीच जुहारी सुरु भएको छ।

स्टक ब्रोकर एसोसिएसन अफ नेपालले पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डलाई नयाँ ब्रोकरलाई लाइसेन्स दिने बेला आर्थिक चलखेल र अनियमितता गरी लाभ लिन खोजेको र भ्रष्टाचार गरेको भनेर आरोप लगाउँदा बोर्ड भने खेद व्यक्त गर्दै ध्यानाकषर्ण भयो भनेर बसेको छ । लाइसेन्स वितरणमा आर्थिक अनियमितता भएको भन्दै छानबिन गरी कारबाही गर्न एसोसिएसनले माग गरेको छ ।

ब्रोकरले यति संघीन आरोप लगाउँदा पनि धितोपत्र बोर्ड भने खेद व्यक्त गरेको भन्दै विज्ञप्ति जारी गरेर बसेको छ ।
ब्रोकरहरुले सेबोनको नैतिकतामाथि नै प्रश्न उठाएपछि धितोपत्र बोर्डले तीन दिनपछि समग्र बजार विकासमा बाधा पुर्‍याउन प्रयास भएको भन्दै विज्ञप्ति जारी गरेको छ ।

‘कानूनी रुपमा नै समय सीमा तोकी, जवाफदेही पद्धतिको विकास गरी, सार्वजनिक रुपमा आह्वान गर्दै पारदर्शी प्रकृयाबाट मापदण्ड पुरा गरेका सबैलाई समान अवसर प्रदान गरी तोकिएको समयमै पूर्वाधार तयार गर्न सूचित गरिएको थियो’ जारी विज्ञप्तिमा भनिएको छ ‘केही संस्थाहरुले धितोपत्र दलाल व्यवसायलाई प्रतिस्पर्धी हुन नदिई सधै सीमित व्यवसायीको घेरा भित्र राख्ने कुण्ठित मनसायबाट प्रेरित भई बोर्डको यस कार्यको विरोध गर्दै बोर्डलाई विभिन्न प्रकारका आधारहीन, कपोकल्पित आरोपहरु लगाइएकोमा बोर्डको गम्भिर ध्यानाकर्षण भएको छ ।’

यस्तै बोर्डले पछिल्लो समयमा समग्र धितोपत्र बजार विकास तथा विस्तारमा निरन्तर पहलकदमी लिइरहेको सन्दर्भमा आफ्नो न्यूनतम व्यवसायीक मर्यादालाई समेत कायम नराखि निश्चित आत्मकेन्द्रीत स्वार्थ प्रेरित विज्ञप्ति प्रकाशित गरी समग्र बजार विकासमा वाधा पुर्‍याउने प्रयास भएको भन्दै खेद प्रकट गरेको छ ।

‘धितोपत्र बोर्डले नयाँ नेतृत्व पाए देखि नै सीमित साहुजीहरुलाई प्रत्यक्ष लाभ पुग्ने गरी अध्ययन बिना र औचित्य बिना नै विद्यमान ऐन नियममा पटक–पटक संशोधन गरी स्टक एक्सचेञ्ज र धितोपत्र दलाल व्यवसायीको लाइसेन्स बितरण प्रक्रिया अगाडि बढाई सकेको थियो’वैशाख २९ गते ब्रोकर एसोसिएसनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ,‘नेपाल सरकारलाई यसै विज्ञप्ती मार्फत् स्टक एक्सचेञ्जको लाईसेन्स रोके जस्तै दलाल व्यवसायीको लाईसेन्स पनि तत्कालै रोकी यसमा भएको आर्थिक अनियमितताको छानविन गरी कारबाही गर्न अनुरोध गर्दछौं ।’

एसोसिएसनले साहुजीहरुको प्रभावमा परी कोठे बैठकबाट नियमावली ड्राफ्ट गरी मन्त्रिपरिषद्बाट ३ दिन भित्रैमा पटक पटक नियमावली संशोधन गराउन सफल हुनुले आर्थिक लेनदेन भैसकेको अनुमान लगाउन सकिने दाबी गरेको छ ।

‘नेपालको पूँजीबजार आर्थिक बेथितिको पहाड बनेको छ । विद्यमान कानूनमा रहेको जालसाझीयुक्त कारोबार तथा भित्री कारोबारहरुको अनुगमन गर्ने भरपर्दो संयन्त्र नै नबनाई संस्थागत सुशासनमा नै प्रश्नचिन्ह लागेका कम्पनीहरु तथा निजका सञ्चालक, संस्थापकबाट खुल्लमखुल्ला नियमकिय कमजोरीको फाईदा उठाई सर्वसाधारण लगानीकर्ताहरुको दोश्रोबजारमार्फत् गरिएको खर्बीको लगानी जोखिममा छ’ विज्ञप्तिमा भनिएको छ, ‘अनावश्यक बिषयवस्तुको उठान गरी राजनैतिक नेतृत्वलाई प्रभावमा पारी बितरण गर्न लागिएको दलाल व्यवसायीको लाईसेन्सले भविष्यमा पूँजी बजारमा ठूलो दुर्घटना हुने निश्चित छ ।’

बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम ३ को उपनियम (३) बमोजिम निवेदन प्राप्त भएपछि रितपूर्वक निवेदन परे नपरेको, आवश्यक विवरण तथा कागजात संलग्न भए नभएको र ऐन तथा यस नियमावली बमोजिम पूरा गर्नुपर्ने शर्त पूरा भए नभएको जाँचवुझ गरी निवेदन दिने म्याद समाप्त भएको मितिले ३५ दिनभित्र आशय पत्र दिएको जनाएको छ ।

धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम ३ को उपनियम (३) बमोजिम अनुमतिपत्र जारी सक्ने देखिँदा ४३ वटा निवेदक कम्पनीहरुलाई धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम ४ बमोजिम आवश्यक पूर्वाधार तयार गर्न सूचित गरिएको जनाएको छ ।

१२ वटा ’क’ बर्गका बैंकको सहायक कम्पनीहरु तथा ३१ अन्य संस्थाहरुलाई धितोपत्र दलाल तथा व्यपारीको रुपमा प्रवेश गराउने प्रक्रियाले धितोपत्र बजार थप प्रतिस्पर्धी तथा पारदर्शी हुने, धितोपत्र बजार सेवाको स्तरवृद्धिको साथै सेवा तथा मुल्यमा प्रतिस्पर्धा भई लगानीकर्ता लाभान्वित हुने भएकोले ४३ वटालाई आशयपत्र दिएको जनाएको छ ।


क्लिकमान्डु