बैंक वित्तीय संस्थामा एक महिनामा थपियो ७१ अर्ब निक्षेप, ३८ अर्ब कर्जा प्रवाह



काठमाडौं । बैंक तथा वित्तीय संस्थामा एक महिनामा ७१ अर्ब निक्षेप थपिएको छ । चैत १ सम्म बैंक वित्तीय संस्थामा ५४ खर्ब २ अर्ब निक्षेप रहेकोमा वैशाख २ सम्ममा ५४ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको हो ।

यो अवधिमा वाणिज्य बैंकको निक्षेप ४७ खर्ब ६१ अर्बबाट बढेर ४८ खर्ब २२ अर्ब पुगेको छ भने अन्य वित्तीय संस्थाको निक्षेप ६ खर्ब ४१ अर्बबाट ६ खर्ब ५१ अर्ब पुगेको छ ।

त्यस्तै एक महिनामा बैंक वित्तीय संस्थाले ३८ अर्ब कर्जा प्रवाह गरेका छन् । चैत १ सम्म बैंक तथा वित्तीयको कर्जा प्रवाह स्थिति ४८ खर्ब १२ अर्ब रहेकोमा वैशाख २ सम्ममा ४८ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा वाणिज्य बैंकको कर्जा प्रवाह ४२ खर्ब ७० अर्बबाट बढेर ४३ खर्ब १ अर्ब पुगेको छ । अन्य वित्तीय संस्थाको ५ खर्ब ४२ अर्बबाट ५ खर्ब ४९ अर्ब पुगेको छ ।

एक महिनाको अवधमिा कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) पनि ८५.६९ प्रतिशतबाट घटेर ८५.२ प्रतिशतमा झरेको छ । ब्याजदर उच्च भएपछि कर्जा प्रवाह सुस्ताएको हो ।

वाणिज्य बैंकहरुले वैशाखदेखि लागू हुने गरी निक्षेपमा ब्याज घटाएका छन् । वैशाखदेखि मुद्दति निक्षेपको ब्याज ११ प्रतिशतबाट १.०१ प्रतिशत विन्दुले घटाएर ९.९९ प्रतिशतमा झारेका हुन् ।

त्यस्तै संस्थागत निक्षेपकर्ताको ब्याजदर ७.९९ प्रतिशत र बचतको ब्याजदर ५.४ देखि ७.४ प्रतिशतको बीचमा छ । कल डिपोजिटको ब्याजदर पनि २.७ प्रतिशतमा झारिएको छ । निक्षेपको ब्याजदर घटेपछि कर्जाको पनि ब्याजदर घट्छ ।

अहिले समग्र माग घटेका कारण ब्याजदर घटे पनि कर्जा प्रवाहमा उत्साह आएन र ब्याजदर घटेका कारण निक्षेप पनि बढ्न सकेन भने अर्को चुनौती सामना गर्नुपर्ने स्थिति आउन सक्ने अनुमान पनि भइरहेको छ । नेपाल बैंकर्स संघका अनुसार अहिले वाणिज्य बैंकहरु करिब अढाई खर्ब कर्जा प्रवाह गर्नसक्ने अवस्थामा छन् ।


क्लिकमान्डु