सेयर बजार र घरजग्गाको असर राजस्वमा, आन्तरिक राजस्व विभागले उठाउन सकेन गत वर्ष बराबर कर



निक्षेपको ब्याजदर बढ्दा ब्याज आयको कर संकलन गत वर्ष भन्दा ४४ प्रतिशतले बढे पनि आयकर गत वर्षभन्दा १० प्रतिशत कम संकलन हुँदा सरकारलाई गत वर्ष बराबर पनि राजस्व उठाउन हम्मेहम्मे परिरहेको छ ।

काठमाडौं । घट्दो सेयर बजार र सुस्त घरजग्गा कारोबारको असर राजस्व संकलनमा देखिएको छ । गत वर्ष सेयर बजार उच्च अंकले बढ्नुका साथै घरजग्गा कारोबार वृद्धि हुँदा सरकारको पुँजीगत लाभकर आम्दानी बढेको थियो ।

तर, चालू आर्थिक वर्षको साउनदेखि नेप्से परिसूचक घट्नुका साथै घरजग्गा कारोबारमा गिरावट आउँदा गत वर्षभन्दा ५७ प्रतिशत कम पुँजीगत लाभकर संकलन भएको छ । गत वर्ष चैत मसान्तसम्म २४ अर्ब ३० करोड रुपैयाँ पुँजीगत लाभकर संकलन गरेको आन्तरिक राजस्व विभागले यो वर्ष सोही अवधिमा १० अर्ब ३७ करोड रुपैयाँ मात्रै संकलन गर्न सकेको छ ।

सेयर बजार घट्नुका साथै र घरजग्गा कारोबार सुस्त हुँदा विभागले गत वर्षभन्दा निकै कम पुँजीगत लाभकर संकलन गर्न सकेको विभागका सूचना अधिकारी राजु प्याकुरेल बताउँछन् । यो वर्ष बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर बढाएकाले ब्याज राजस्व संकलन गत वर्षभन्दा ४४ प्रतिशतले बढेको छ ।

गत वर्ष चैत मसान्तसम्म १७ अर्ब ५६ करोड रुपैयाँ ब्याज राजस्व संकलन भएकोमा यो वर्ष सोही अवधिमा २५ अर्ब २१ करोड रुपैयाँ संकलन भएको छ । यो वर्ष सरकारी संस्थानले गत वर्षभन्दा बढी आयकर तिरेका छन् । गत वर्ष ४ अर्ब ५९ करोड रुपैयाँ तिरेकोमा यो वर्ष सोही अवधिमा ५ अर्ब ८६ करोड रुपैयाँ तिरेका छन् ।

तर, सोही अवधिमा प्रालिले गत वर्षभन्दा १७ प्रतिशत कम आयकर तिरेका छन् । गत वर्ष चैत मसान्तसम्म ३४ अर्ब २७ करोड रुपैयाँ आयकर तिरेका प्रालिले यो वर्ष सोही अवधिमा २८ अर्ब ३८ करोड रुपैयाँ मात्रै तिरेका छन् ।

गत वर्षभन्दा एनसेलको आम्दानी घटेकाले निजी कम्पनीको आयकरमा ठूलो गिरावट आएको ठूला करदाता कार्यालयका एक अधिकारी बताउँछन् । बैंक वित्तीय संस्थाले ब्याजदर बढाउन निजी कम्पनीको नाफा घट्दा आयकर दायित्व घटे पनि ब्याजदर बढाउँदा बैंक तथा वित्तीय संस्थाको नाफा भने बढेको छ ।

गत वर्ष पब्लिक कम्पनीले चैत मसान्तसम्म ३८ अर्ब ५२ करोड रुपैयाँ आयकर तिरेकोमा यो वर्ष सोही अवधिमा ३९ अर्ब २१ करोड रुपैयाँ तिरेका छन् । यो वर्ष चैत मसान्तसम्म सुर्तिजन्य पदार्थ, बियर र अन्य औद्योगिक उत्पादनले गत गत वर्षभन्दा बढी अन्त:शुल्क तिरेका छन् ।

गत वर्ष बियर उत्पादक कम्पनीले २१ अर्ब २ करोड रुपैयाँ अन्त:शुल्क तिरेकोमा यो वर्ष सोही अवधिमा २२ अर्ब २४ करोड रुपैयाँ तिरेका छन् । गत वर्ष सुर्तिजन्य पदार्थमा १७ अर्ब ७५ करोड रुपैयाँ अन्तशुल्कः तिरेकोमा यो वर्ष सोही अवधिमा २० अर्ब ११ करोड रुपैयाँ तिरेका छन् ।

यस्तै, अन्य औद्योगिक उत्पादनले गत वर्ष ११ अर्ब ७५ करोड रुपैयाँ अन्त:शुल्क तिरेकोमा यो वर्ष सोही अवधिमा १३ अर्ब ३५ करोड रुपैयाँ तिरेका छन् । तर, मदिरामा भने यो वर्ष १३ प्रतिशत कम अन्तःशुल्क संकलन भएको छ । गत वर्ष चैत मसान्तसम्ममा २० अर्ब ९५ करोड रुपैयाँ संकलन भएकोमा यो वर्ष सोही अवधिमा १८ अर्ब १७ करोड रुपैयाँ मात्रै संकलन भएको छ ।

यो वर्ष लक्ष्यअनुसार मूल्य अभिवृद्धि कर र आयकर संकलन नहुँदा समग्र राजस्व लक्ष्य प्रभावित भएको हो । चालू आर्थिक वर्षको चैत मसान्तसम्म विभागले ४ खर्ब ३७ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिए पनि गत वर्षबराबर पनि राजस्व संकलन गर्न सकेको छैन ।

विभागले चैत मसान्तसम्म लक्ष्यभन्दा २३ प्रतिशत कम र गत वर्षभन्दा १.५ प्रतिशत कम राजस्व संकलन गरेको हो । गत वर्ष चैत मसान्तसम्म ३ खर्ब ४२ अर्ब रुपैयाँ राजस्व संकलन गरेको सरकारले यो वर्ष सोही अवधिमा ३ खर्ब ३७ अर्ब रुपैयाँ मात्रै संकलन गर्न सकेको छ ।

यस्तै, चैतमा मात्रै ८३ अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिए पनि विभागले ५५ अर्ब २ करोड रुपैयाँ मात्रै संकलन गर्न सकेको छ । जबकि विभागले गत वर्ष चैतमा ५७ अर्ब ५३ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।

गत आर्थिक वर्षमा ४ खर्ब ८३ अर्ब रुपैयाँ राजस्व संकलन गर्न सकेको विभागलाई चालू आर्थिक वर्षमा ६ खर्ब २६ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिइएको थियो । साउनदेखि लक्ष्यअनुसार राजस्व संकलन नभएपछि अर्थ मन्त्रालयले माघ मसान्तमा विभागले ५ खर्ब ४० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने संशोधित लक्ष्य तय गरेको थियो ।

तर, चालू आर्थिक वर्षको अन्त्यसम्ममा गत वर्षबराबर पनि राजस्व संकलन हुन कठिन भएकाले संशोधित लक्ष्यअनुसार राजस्व संकलन हुने सम्भावना छैन । विभागले साउनदेखि नै लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेको छैन ।

फागुनमा ३३ अर्ब ११ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको विभागले २८ अर्ब ९८ करोड रुपैयाँ मात्रै संकलन गर्न सकेको थियो । विभागले गत वर्ष फागुनमा २८ अर्ब ४८ करोड रुपैयाँ संकलन गरेको थियो ।

विभागले माघमा ३९ अर्ब ४३ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ३१ अर्ब ५ करोड रुपैयाँ मात्रै संकलन गर्न सकेको थियो । विभागले गत वर्ष माघमा ३१ अर्ब २६ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।

पुसमा १ खर्ब ६ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको विभागले ७१ अर्ब ३१ करोड रुपैयाँ मात्रै संकलन गर्न सकेको थियो । मंसिरमा ३३ अर्ब २२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको २५ अर्ब ७४ करोड रुपैयाँ मात्रै संकलन गरेको थियो ।

कात्तिकमा ३५ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिएकोमा विभागले २९ अर्ब ५ करोड रुपैयाँ मात्रै संकलन गरेको थियो । त्यसैगरी असोजमा २९ अर्ब ६२ करोड रुपैयाँ उठाउने लक्ष्य लिएको विभागले २७ अर्ब ९३ करोड रुपैयाँ मात्रै संकलन गर्न सकेको थियो ।

भदौमा पनि विभागले लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेको थिएन । भदौमा ३१ अर्ब ७१ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको विभागले २८ अर्ब ११ करोड रुपैयाँ मात्रै संकलन गर्न सकेको थियो । साउनमा विभागले ४३ अर्ब ७० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ४० अर्ब रुपैयाँ मात्रै संकलन गरेको थियो ।


शरद ओझा