अर्थमन्त्रीसँग छलफलका लागि गभर्नर अर्थ मन्त्रालयमा



काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महत नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग अर्थ मन्त्रालयमा छलफलमा जुटेका छन् । छलफलमा मन्त्रालय र राष्ट्र बैंकका उच्च अधिकारीको पनि सहभागिता छ ।

मन्त्री महतले मंगलबार गभर्नर अधिकारीसहितका पदाधिकारीलाई मन्त्रालयमा बोलाएर देशको वर्तमान आर्थिक अवस्थाका बारेमा छलफल सुरु गरेका हुन् । बैंकको ब्याजदर, सेयर बजार, विदेशी विनियम सञ्चिति, मूल्यवृद्धिलगायतका विषयमा चासोका साथ कुराकानी भइरहेको छ ।

डा. महत मन्त्री भएपछि उद्योग वाणिज्य महासंघ महासंघ, उद्योग परिसंघ, बैंकर्स संघ, सेयर लगानीकर्तालगायतका पदाधिकारीसँग भेटवार्ता गरिसकेका छन् ।

अर्थमन्त्री डा. महतले आइतबार र सोमबार निजी क्षेत्रका विभिन्न संगठनसँग छलफलका क्रममा अर्थतन्त्रमा देखिएका समस्या सम्बोधन गर्ने र निजी क्षेत्रको खस्किएको मनोबल उकास्ने प्रतिबद्धता जनाएका थिए ।

अर्थमन्त्रीको सचिवालयका अनुसार सोमबार नेपाल बैंकर्स संघसँगको छलफलका क्रममा बैंकको ब्याजदर, तरलता अभाव र कर्जा असुलीमा देखिएका समस्याबारे छलफल भएको थियो । छलफलका क्रममा अर्थमन्त्री महतले सबै क्षेत्रको सुझाव सल्लाह लिएर अघि बढ्ने बताउँदै संवादलाई निरन्तरता दिने आश्वासन दिएका थिए ।

यस्तै मन्त्री डा. महतले धितोपत्र बोर्डका अध्यक्षलाई बोलाएर केही दिनभित्रै पुँजीबजार सुधारका लागि ठोस योजना बनाएर सकारात्मक नतिजा निकाल्ने गरी अघि बढ्न निर्देशन दिएका थिए ।

विभिन्न क्षेत्रसँगको छलफलका क्रममा बजारमा तरलता प्रवाह गरेर ब्याजदर घटाउन नेपाल राष्ट्र बैंक र सरकारले संयुक्त रुपमा पहल गर्नुपर्ने, सरकारको पुँजीगत खर्च बढाउनुपर्ने, सीमाबाट हुने अवैध आयात रोक्नुपर्ने र विदेशी लगानी भित्र्याउन पहल गर्नुपर्नेलगायतका सुझाव प्राप्त गरेपछि अर्थमन्त्रीले गभर्नरलाई भेटका लागि बोलाएका हुन् ।

अर्थमन्त्री डा. महतले निजी क्षेत्रका अधिकारीहरुलाई भेटेर समस्याग्रस्त अर्थतन्त्र सुधार्ने आफ्नो पहिलो प्राथमिकता र प्रतिबद्धता रहेकाले यसमा निजी क्षेत्रका छाता संस्थाको सुझाव र सहकार्यबाट आफू अगाडि बढ्ने विश्वास दिलाएका थिए ।

गभर्नर अधिकारीले अर्थतन्त्र सुधारउन्मुख रहेको बताएका छन् । उनले गत वर्ष अर्थतन्त्रको बाह्य क्षेत्रमा परेको चाप घट्दो क्रममा रहेको जानकारी अर्थमन्त्रीलाई गराएका छन् ।

बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पुँजी बढिरहेको भन्दै आगामी दिनमा क्रमश: ब्याजदर पनि घट्दै जाने गभर्नर अधिकारीले जानकारी दिए । मन्त्री महतले निजी क्षेत्रले ब्याजदर बढी भएको गुनासो गरेको भन्दै ब्याजदर घटाउने सम्भावना के-कस्तो छ भन्ने चासो राखेका थिए ।

रेमिट्यान्स आप्रवाहमा भएको सुधारले विदेशी मुद्राको सञ्चितिमा सुधार भए पनि आगामी दिनमा उच्च दरमा आयात बढ्यो भने फेरि अर्थतन्त्रको बाह्य क्षेत्रमा चाप पर्न सक्ने उनले बताए ।


क्लिकमान्डु