अधिकतम बोनसदर पाइने बीमालेखमा बीमितको आकर्षण कम



काठमाडौं । जीवन बीमा कम्पनीहरुले दिने अधिकतम बोनसदरका बीमालेखमा बीमितको आकर्षण न्यून देखिएको छ ।

बीमितहरुको आकर्षण लामो अवधि र बढी बोनसदर भएका बीमालेखको तुलनामा कम अवधि र कम बोनसदर भएका बीमालेखमा देखिएको हो ।

कम्पनीहरुले सार्वजनिक गरेको बोनसदर तालिकाअनुसार बीमितले छोटो अवधिका लागि जारी हुने बीमालेखमा कम बोनसदर पाउँछन् । भने लामो अवधिका लागि जारी हुने बीमालेखमा बढी बोनसदर पाउने देखिन्छ ।

कम्पनीहरुले प्रकाशित गरेको बोनसदर तालिकाअनुसार कम्पनीहरुले घोषणा गर्ने अधिकतम बोनसदर पाइने बीमालेख कम मात्रामा बिक्री हुने गरेको देखिन्छ ।

मर्जरमा गएका कम्पनी गरी हालसम्म ७ वटाले आर्थिक वर्ष २०७८/०७९ को लागि बीमितलाई दिने नयाँ बोनसदर सार्वजनिक गरेका छन् । यस्तै, ६ वटा कम्पनीले आव २०७७/०७८ का लागि र २ वटाले आव २०७६/७७ को लागि बीमितलाई दिने बोनसदर सार्वजनि गरेका छन् ।

नेशनल लाइफले गत आवमा अधिकतम प्रतिहजार ८५ रुपैयाँ बोनसदर कायम गरेको थियो । सावधिक जीवन बीमालेखमा २६ देखि २९ वर्षे बीमा अवधि र ३० वा सो भन्दा माथिका बीमालेखका लागि प्रतिहजार ८५ रुपैयाँ बोनसदर कायम भएको थियो । जसमा २६ देखि २९ वर्षे बीमा अवधिका २ हजार ४५३ र ३० वा सो भन्दा माथिका बीमालेखका २ हजार ४८३ वटा बीमालेख बिक्री भएका थिए ।

सिटिजन लाइफले बीमितलाई बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम २५ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर दिने घोषणा गरेको थियो । इन्स्योरेन्स कायम गरेको अधिकतम बोनसदरको लाभ लिने बीमितको संख्या जम्मा २०४ रहेको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्सले प्रतिहजार न्यूनतम २९ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको थियो । इन्स्योरेन्सले नवीन आजीवन बीमालेख(सावधिक तथा आजीवन) बीमा योजनामा २५ वा सो भन्दा बढी बीमा अवधिका लागि प्रतिहजार ७५ रुपैयाँ बोनसदर कायम गरेको थियो । जसको लाभ लिनेको संख्या ६५ मात्रै थियो ।

साविककको ज्योति लाइफ इन्स्योरेन्सले प्रतिहजार न्यूनतम २९ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको थियो । जसको लाभ लिनेको संख्या ७५ थियो ।

अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी(मेट लाइफ)ले प्रतिहजार न्यूनतम ५४ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँ बोनसदर कायम गरेको थियो । इन्स्योरेन्सले सावधिक जीवन बीमा योजनाअन्तर्गत २१ वा सोभन्दा माथिका बीमा अवधिका लागि इन्स्योरेन्सले प्रतिहजार ८० रुपैयाँ बोनसदर कायम गरेको छ । जसको लाभ लिनेको संख्या १ हजार ५८४ छ ।

यस्तै, इन्स्योरेन्सले शिक्षा संरक्षण योजनाअन्तर्गत २१ वा सो भन्दा माथिका बीमा अवधिका लागि प्रतिहजार ८० रुपैयाँ बोनसदर कायम गरेको छ । जसको लाभ लिनेको संख्या ४ हजार ८६२ रहेको छ ।

एशियन लाइफले प्रतिहजार न्यूनतम ४२ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

इन्स्योरेन्सले सावधिक तथा आजीवन बीमालेखअन्तर्गत २५ वा सो भन्दामाथिका बीमा अवधिका लागि प्रतिहजार ७५ रुपैयाँ बोनसदर कायम गरेको छ । जसको लाभ लिनको संख्या ७११ छ ।

सूर्या लाइफले प्रतिहजार न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

इन्स्योरेन्सले चौरासी पुँजा एकल भुक्तानी बीमा योजनामा ३० र सो भन्दामाथिका बीमा अवधिका लागि प्रतिहजार ९० रुपैयाँ बोनसदर कायम गरेको छ । जसको लाभ लिनेको संख्या २ छ ।

नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/०७८ मा प्रतिहजार न्यूनतम ५६ रूपैयाँ र अधिकतम ८२ रुपैयाँ बोनसदर कायम गरेको थियो ।

अधिकतम बोनसदर पाउने बीमालेखअन्तर्गत ५ हजार ३८१ वटा बीमालेख जारी भएका थिए । उक्त आवमा कम्पनीमा कुल ७ लाख ६१ हजार भन्दामाथि बीमालेख जारी भएका थिए ।

आइएमई लाइफले आर्थिक वर्ष २०७७/७८ मा बीमितलाई प्रतिहजार न्यूनतम २० रुपैयाँ र अधिकतम ७० रुपैयाँसम्म बोनसदर कायम गरेको थियो । इन्स्योरेन्सले सावधिक जीवन बीमालेख अन्तर्गत ३० वा सो भन्दा माथिका बीमा अवधिका लागि प्रतिहजार ७० रुपैयाँ बोनसदर कायम गरेको थियो ।

उक्त बोनसदरको लाभ लिने बीमालेखको संख्या ७३ छ । यस्तै, इन्स्योरेन्सले सावधिक/अग्रिम भुक्तानी तथा आजीवन बीमालेख अन्तर्गत ३० वा सो भन्दा माथिका बीमा अवधिका लागि प्रतिहजार ७० रूपैयाँ बोनसदर कायम गरेको छ । जुन बोनसदरको लाभ लिने बीमालेखको संख्या ७ छ ।

प्राइम लाइफ इन्स्योरेन्सले प्रतिहजार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ८० रूपैयाँसम्म बोनसदर कायम गरेको थियो । कम्पनीले घोषणा गरेको अधिकतम बोनसदरको लाभ लिनेको संख्या ९१ मात्रै छ ।

रिलायन्स लाइफ इन्स्योरेन्सले आव २०७७/७८ मा सबैभन्दा बढी बोनसदर २५ वर्ष वा त्यसभन्दा माथिको सावधिक बीमा योजनामा दिएको थियो ।

यो योजनाअन्तर्गत प्रतिहजारमा ७५ रुपैयाँ बोनसदर निर्धारण गरिएको थियो । उक्त आवमा सावधिक बीमा योजनामा ३३६ पोलिसी विक्री भएका छन् ।

गुराँस लाइफ इन्स्योरेन्सको सावधिक बीमा योजनाअन्तर्गत २५ वर्षदेखि माथि अवधिका लागि प्रतिहजार ७६ हजार रुपैयाँ बोनसदर कायम भएको थियो । जसअन्तर्गत १ हाजर ५७१ वटा पोलिसी बिक्री भएका छन् ।

यस्तै, गुराँस बालसुरक्षा र गुराँस नौलो बालबसुरक्षा सावधिक जीवन बीमा योजनामा २५ वर्षदेखिमाथिका लागि ७६ रुपैयाँ बोनसदर कायम भएको थियो । जसमा ४८ वटा बीमालेख बिक्री भएका थिए ।

यूनियन लाइफले आव २०७७/०७८ का लागि बीमितलाई प्रतिहजार अधिकतम ७३ रुपैयाँ बोनसदर कायम गरेको थियो । कम्पनीकाअनुसार उक्त बोनसदर पाउने गरी १८४ वटा बीमालेख बिक्री भएका थिए ।

प्रभु लाइफले आव २०७६/७७ का का प्रतिहजार अधिकतम ७० रुपैयाँ बोनसदर कायम गरेको थियो । सावधिक जीवन बीमालेख अन्तर्गत २५ वा सो भन्दामाथिका १५३ वटा र सावधिक तथा आजीवन बीमालेख अन्तर्गत २५ वा सोभन्दा माथिका १९ वटा बीमालेख बिक्री भएका थिए ।

महालक्ष्मी लाइफले आव २०७६/७७ मा बीमितलाई प्रतिहजार अधिकतम ५१ रुपैयाँ बोनसदर कायम गरेको थियो । महालक्ष्मी सरल जीवन बीमा योजनाअन्तर्गत ९० वटा र महालक्ष्मी जीवन हेरचाह बीमा योजनाअन्तर्गत १ हजार ३२४ वटा बीमालेख बिक्री भएका थिए ।

के हो बोनसदर ?

जीवन बीमा कम्पनीले बीमितहरुलाई भुक्तान गर्ने प्रतिफललाई बोनसदर भनिन्छ । बीमा कम्पनीहरुले आर्जन गरेको मुनाफाको आधारमा प्रतिवर्ष प्रतिहजारमा बोनसदर निर्धारण गर्ने गर्छन् ।

कम्पनीले आम्दानी गरेको वार्षिक कुल नाफामध्ये ९० प्रतिशत रकम बीमितहरूलाई वितरण गरिन्छ भने १० प्रतिशत रकम लगानीकर्तालाई वितरण गर्नुपर्ने व्यवस्था छ । बीमितले पाउने बोनसदर हरेक वर्ष थपघट हुन्छ ।


क्लिकमान्डु