टाट पल्टिएको एयर इण्डियालाई टाटा ग्रुपले लिएपछि आक्रामक विस्तार, के भारत बन्ला उड्डयन ‘हब’ ?
एजेन्सी । गत वर्ष जनवरीमा भारत सरकारबाट निजीकरण हुँदै टाटा ग्रुपको स्वामित्वमा पुगेको एयर इण्डिया पछिल्लो समय उड्डयन क्षेत्रसँगै व्यापारिक क्षेत्रमा पनि चर्चाको विषय बनेको छ । हालसालै ४७० विमान खरिद गर्ने घोषणा गरेको एयर इण्डिया विस्तार हुने क्रम बढ्दै जाँदा यसले भारतलाई नै अन्तर्राष्ट्रिय स्तरमा हवाई उडानको ‘हब’ बनाउन सक्ने देखिएको छ ।
भारतको दिल्लीस्थित गुरुग्राममा रहेको एयर इण्डियाको अस्थायी हेडक्वाटरमा जाने हो भने त्यहाँ दैनिक नै अन्तर्वार्ताका लागि आएका प्रतिस्पर्धीदेखि रोजगारीका लागि आउने एयर इण्डियाकै कर्मचारीहरुलाई देख्न सकिन्छ ।
भारतको एक अनलाइन ट्राभल एजेन्सी ‘यात्रा अनलाइन’की सहसंस्थापक सविना चोपराकाअनुसार एयर इण्डियाप्रति पछिल्लो समय मानिसमा विश्वास र रुचि दुवै बढेको छ । उनी भन्छिन्, ‘निजीकरणपछि झण्डै ३० प्रतिशतले एयर इण्डियाको टिकट बिक्री बढेको छ । अहिले यो विमान कम्पनीप्रति मानिसमा सकरात्मक भावना विकास भएको देख्न सकिन्छ ।’
गत फेब्रुअरी १४ मा एयर इण्डियाले दुई ठूला अर्डरको घोषणा गरेको थियो । एयरबस र बोइङ दुई कम्पनीबाट एयर इण्डियाले ४७० वटा विमान किन्ने घोषणा गर्यो, जुन विमान क्षेत्रकै एक ठूलो अर्डर थियो । यसले पनि एयर इण्डिया भारतमा मात्रै नभएर विश्वव्यापी रुपमा नै विस्तार हुने लक्ष्य लिएको देख्न सकिन्छ ।
एयर इण्डियाले गरेको यो विमान खरिदको अर्डर यति ठूलो थियो कि फ्रान्स र अमेरिकाका कार्यकारी प्रमुखले पनि आफ्नो अभिव्यक्ति दिएका थिए । सहमति जनाउँदै फ्रान्सका राष्ट्रपति इमान्नुयल म्याक्रोनले यो अर्डरका कारण फ्रान्समा कति फरक पर्ने बताएका थिए । सँगै अमेरिकी राष्ट्रपति जो वाइडेनले पनि एक अभिव्यक्तिमा यो अर्डरका कारण अमेरिकाका ४४ राज्यहरुमा १० लाख रोजगारी सिर्जना हुने बताएका थिए ।
यो बाहेक एयर इण्डियासँग थप ३७० विमानहरु विश्वका उत्कृष्ट विमान निर्माण गर्ने कम्पनीबाट पुरानै मापदण्डमा खरिद गर्न पाउने विकल्प पनि छ । कम्पनीले यो विकल्पलाई स्वीकार गरेर अघि बढेमा एयर इण्डियाले कुल ८४० विमान खरिद गर्नेछ । यो खरिद यति ठूलो हुनेछ भन्ने अनुमान लगाउन अहिले भारतमा उड्ने व्यवसायिक उडानलाई हेर्न सकिन्छ । हाल भारतमा कुल ७१७ वटा व्यवसायिक विमानहरु छन् । तर, एयर इण्डियाले थप ३७० विमान खरिद गरेमा भारतका कुल विमानभन्दा धेरै विमान एयर इण्डियासँग हुनेछ ।
एयर इण्डियाले सन् २०२५ को मध्यबाट आफूले अर्डर गरेका विमानहरु पाउनेछ । एयर इण्डियाले आफूलाई विश्वस्तरको एयरलाइन्सको रुपमा स्थापित गर्न लिएको लक्ष्यअनुरुप आगामी ५ वर्षमा स्वदेशी बजारमा ३० प्रतिशत बर्चश्व जमाउने देखिएको छ ।
एयर इण्डियाले गरेको अर्डरलाई स्वागत गर्दै कम्पनीका पूर्व कार्यकारी निर्देशक जितेन्द्र भार्गवले भनेका छन्, ‘भारतभित्रै आफ्नो वृद्धि गरिरहेको कम्पनी यो नै हुनेछ ।’
एयर इण्डियाको सिको गर्दै अन्य एयरलाइन्स कम्पनीहरुले पनि नयाँ र आधुनिक विमानहरुमा लगानी गर्नुपर्ने महत्त्व बुझ्ने धेरैले बताएका छन् । एयर इण्डियाको अर्डरपछि भारतकै आकाशा एयरले पनि बोइङसँग थप विमानहरु खरिद गर्ने बारे छलफल गरिरहेको विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन् । विश्वमा आर्थिक शक्तिको रुपमा अघि बढिरहेको भारतमा एयर इण्डियाको यो कदम र अबको लक्ष्यले थप तरंगित अवस्था सिर्जना हुने देखिएको छ ।
एयर इण्डियाले यति ठूलो अर्डरको लागत कसरी उठाउँछ भन्ने प्रश्न पनि उठिरहेको छ । तर, एयर इण्डियाका प्रमुख क्याम्पबेल विल्सन यी सबै विमानहरुको सञ्चालनको न्यूनतम आयु २५ वर्षसम्म भएकाले त्यो समयमा सहजै लगानी उठ्ने बताउँछन् । ‘ यो विमान खरिद गर्दाको लगानी उठाउन हामीसँग लामो समय उपलब्ध छ । सँगै विमानलाई भविष्यमा बिक्री गर्ने विषयलाई पनि आम्दानीको स्रोत मानिन्छ’उनले भने ।
यस्तै भिस्तारालाई टाटा ग्रुपको टाटा सन्समा मर्ज गर्दा सिंगापुर एयरलाइन्सले २५० मिलियन अमेरिकी डलर लगानी गर्नेमा स्वीकृति जनाएको छ । यसले पनि टाटा ग्रुपलाई एयर इण्डियाको लक्ष्य पूरा गर्न सहज हुने छ ।
टाटा ग्रुपले करिब २ खर्ब ८८ अर्बमा खरिद गरेको एयर इण्डियालाई लिएर अहिले भारत सरकारले पनि सकरात्मकता देखाइरहेको छ । भारतका विमानस्थलमा अन्य अन्तर्राष्ट्रिय विमान कम्पनीहरुलाई थप उडान अनुमति दिनेभन्दा पनि भारतीय कम्पनीहरुलाई सहयोग पुर्याउने पक्षमा सरकार देखिएको छ ।
भारतीय उड्डयन मन्त्री ज्योदिरादित्य सिन्धियाले गत साता स्वदेशी उडानहरुलाई अन्तर्राष्ट्रिय बजारमा पनि विस्तार गराउन सरकारले सहयोग गर्ने बताएका थिए । र यसका लागि आवश्यक प्रक्रिया सुरु भइसकेको उनको भनाइ थियो ।
रोयटर्ससँगको कुराकानीमा उनले भनेका थिए, ‘यो समय हाम्रै विमानहरुलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने समय हो । हामी यसका लागि एयरलाइन्सहरुलाई पनि सहयोग गर्नेछौं र यो प्रक्रिया पनि सुरु भइसकेको छ ।’
भारतीय नागरिकहरुले एक ठाउँबाट अर्को ठाउँ उडानभर्दा विमान परिवर्तन गर्ने झन्झट झेल्नु नपरोस् भनेर स्वेदशी विमानलाई नै लामो दूरीका उडानहरु गर्ने गरि तयारी गर्न निर्देशन दिएको उनले बताए । यो निर्देशनको केन्द्रमा एयर इण्डिया छ । एयर इण्डियाले नै पछिल्लो समय आफूलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा प्रमुख विमान कम्पनीको रुपमा स्थापना गर्न लागिरहेको छ ।
सन् २०२२ मा फोर्ब्ससँगको कुराकानीमा विल्सनले भनेका थिए, ‘टाटा ग्रुपअन्तर्गत रहेका विभिन्न एयरलाइन्स र विभिन्न ब्राण्डलाई छाडेर हेर्ने हो भने एयर इण्डियालाई हामीले न्यून रकममा पूर्ण सुविधासहित सञ्चालन गर्ने बनाउनु छ । हामी यसका लागि काम पनि गरिरहेका छौं । हाम्रो लक्ष्य विश्वस्तरको विमान तर, सस्तो मूल्यमा उपलब्ध गराउने भन्ने हो ।’
भारतमा स्वदेशी विमान कम्पनीहरु स्थापित रुपमा सञ्चालन भइसकेका छन् । अन्तर्राष्ट्रिय स्तरमा पनि यस्तै किसिमले भारतीय एयरलाइन्स कम्पनीलाई स्थापित गराउने लक्ष्य लिएर अहिले टाटा ग्रुपले एयर इण्डियामा काम गरिरहेको छ ।
आगामी दिनमा अन्तर्राष्ट्रिय आकाशमा भारतीय विमान कम्पनीको उपस्थिति कस्तो हुन्छ भन्ने कुरा एयर इण्डियाको सफलतासँग जोडिनेछ । टाट पल्टने अवस्थामा पुगेको एयर इण्डियालाई सरकारले निजीकरण गर्दै टाटा ग्रुपले स्वामित्वमा दिएपछि यसको अवस्था फेरिएको छ ।