८ महिनामा १० खर्ब ५७ अर्बको आयात, गत वर्षभन्दा १९ प्रतिशत कम



काठमाडौं । चालू आर्थिक वर्षको ८ महिनामा १० खर्ब ५७ अर्ब रुपैयाँ बराबरको आयात भएको छ । गत वर्ष सोही अवधिमा १३ खर्ब ८ अर्ब रुपैयाँको आयात भएको थियो ।

नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चिति जोगाउन भन्दै ब्याजदर बढाउने निर्णय गरेपछि बजारमा माग घट्दा आयात गत वर्षभन्दा १९ प्रतिशत कम भएको हो ।

पछिल्लो समय आयातमा गिरावट आएपछि सरकारले लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेको छैन ।

गत वर्ष फागुन मसान्तसम्म ३ खर्ब ३३ अर्ब रुपैयाँ राजस्व संकलन गरेको भन्सार विभागले यो वर्ष ४ खर्ब ३२ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर, विभागका अनुसार यो वर्ष ८ महिनामा २ खर्ब ५० अर्ब ६४ करोड रुपैयाँ मात्रै राजस्व संकलन हुन सकेको छ । जुन लक्ष्यको ५७.९ प्रतिशत हो ।

बैंक तथा वित्तीय संस्थाले उपभोगका लागि सहजै कर्जा प्रवाह नगर्दा निजी सवारी साधानको बिक्री ह्वात्तै घटेको छ । सरकारको राजस्वमा मुख्य योगदान निजी सवारी साधानको हुने गर्छ ।

बजारमा माग कम भएपछि गत जेठमै भन्सार विन्दुमा पुगेका गाडीहरु जाँचपास हुन सकेका छैनन् । सरकारले गत बैशाखमा गरेको आयात प्रतिबन्ध लगाउने निर्णय पुसदेखि हटाउँदासमेत निजी सवारीको आयात बढ्न सकेको छैन ।

चालू आर्थिक वर्षको ८ महिनामा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी २.२२ प्रतिशतले मात्रै वृद्धि भएपछि बजारमा समग्र माग घटेको छ ।

गत वर्ष बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी १२.७ प्रतिशतले वृद्धि हुँदा आयात २४.७ प्रतिशतले बढेको थियो । यस्तै, कोरोना महामारीको वर्ष आर्थिक वर्ष २०७७/७८ मा कर्जा लगानी २७.८ प्रतिशतले वृद्धि हुँदा आयात २८.७ प्रतिशतले बढेको थियो ।

तर, पछिल्लो समय कर्जा लगानी ठप्प हुँदा बजारमा माग घटेको छ । आम्दानी बढेर अर्थतन्त्र चलायमान हुनु पर्नेमा कर्जा लगानी बढेर आर्थिक गतिविधी बढेको असर पछिल्लो समय देखिएको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

विगतमा वर्षहरुमा सेयर बजार र घर जग्गा कारोबारबा पैसा कमाएर पनि बजारमा माग बढ्ने गरेको थियो । तर, पछिल्लो समय सेयर बजार र घर जग्गा कारोबारमा मन्दी छ ।

दुई आर्थिक वर्षमा आयात उच्च दरले बढेर विदेशी मुद्राको सञ्चितिमा गिरावट आएपछि केन्द्रीय बैंकले आयात निरुत्साहित गर्ने नीति लिएको थियो । जसले गर्दा पछिल्लो समय विदेशी मुद्राको सञ्चिति ७ महिनामा १०.२ प्रतिशतले बढेर १० अर्ब ५० करोड डलर पुगेको छ ।

गत वर्ष माघ मसान्तमा विदेशी मुद्राको सञ्चिति १७ प्रतिशतले घटेर ९ अर्ब ७५ करोड डलर पुगेको थियो ।

यस्तै गत वर्ष माघ मसान्तमा शोधानान्तर स्थिती २ खर्ब ४७ अर्ब रुपैयाँले घाटामा थियो । चालू आर्थिक वर्षको माघ मसान्तमा शोधानान्तर स्थिती १ खर्ब ३३ अर्ब रुपैयाँले बचतमा छ ।

आयात घटाउने केन्द्रीय बैंकले नीतिले अर्थतन्त्रको बाह्य क्षेत्र सुधार भएपनि सरकारको वित्त अवस्था भने निकै खराब बन्दै गएको छ ।

आयात १९ प्रतिशतले गिरावट हुँदा गत वर्ष भन्दा १५ प्रतिशत कम राजस्व संकलन भएपनि सरकारी कोष निरन्तर घाटामा छ ।

आगामी दिनमा बजार चलायमान भएर माग बढ्दै आयात बढेन भने सरकारलाई खर्च व्यवस्थापन गर्न निकै चुनौतिपूर्ण हुनेछ ।
पछिल्लो दुई वर्षमा ४४ प्रतिशतसम्मले कर्जा विस्तार हुँदा समेत आन्तरिक उत्पादन बढाउन कुनै योगदान नदिएकाले तत्कालै आन्तरिक स्रोत परिचालन गर्दै सरकारी खाता बलियो बनाउन सकिने अवस्था छैन ।

भन्सार विभागका निर्देशक रामप्रसाद मैनाली आगामी चैतदेखि आयात बढ्ने र राजस्व संकलन पनि बढ्ने बताउँछन् ।


क्लिकमान्डु