लघुवित्तले घर घरमा पुगेर कर्जा दिँदा समस्या, आत्महत्याको बाटोमा ऋणी



काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले केही लघुवित्त वित्तीय संस्थाले सदस्यलाई घर घरमा गएर कर्जा दिँदा अहिले समस्या देखिएको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको ‘संकटमा लघुवित्तः कारण र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले केही वर्षअघि देखिको समस्याको ‘बाइप्रडक्ट’ अहिले देखापरेको बताए ।

‘कम्पनीले कर्मचारीलाई लक्ष दिने र उनीहरुले सदस्यको घर घरमा गएर कर्जा दिने गरेका छन्’ उनले भने, ‘कोरोनाको समस्या र अहिले देखिएको तरलता अभावले समस्या बढेको हो । तरलता अभाव हुँदा सापटी लिन सकेनन् । केही बर्षदेखिका समस्याको बाई प्रडक्ट अहिले देखिएको छ । सदस्यहरुले आन्दोलन गरिरहेका छन् ।’

कम्पनीका कर्मचारीले नबुझाएको र सदस्यले पनि बुझ्न नचाहेका कारण समस्या भएको उनको भनाइ छ । एकै जना व्यक्तिले धेरै लघुवित्तबाट कर्जा लिँदा समस्या देखिएको भन्दै उनले अब राष्ट्र बैं‌कले एक जना सदस्य तीन वा चारवटा कम्पनीको मात्रै सदस्य बन्ने व्यबस्था गर्न लागेको बताए ।

अरुका कुरा सुनेर कर्जा नलिन उनले सबैलाई आग्रह गरेका छन् । अहिले समस्या बढ्दै गएपछि को कति वास्तविक पीडित हुन् त्यसको विवरण १ महिनाभित्र बुझाउन माइक्रो फाइनान्सलाई निर्देशन दिएको उनले बताए ।

कुनै पनि कम्पनीका कर्मचारी मध्ये राति सदस्यको घरमा जाने, बाख्रा, कुखुरा, भैंसी, लगाएका गहना तान्ने काम गर्न नहुने भन्दै यस्तो काम रोक्न निर्देशन जारी गर्न सबै कम्पनीलाई आग्रह गरे ।

उनले सबै कम्पनीलाई १५ प्रतिशत भन्दा बढी ब्याज नलिन आग्रह गरे । साथै बढी लिएको पाइएमा कारबाही गर्ने उनले चेतावनी दिए । अहिले लघुवित्तमा ‘केहि सेयरका खेलाडी पसेर’ समस्या जटिल बनाउन लागेको उनले आरोप लगाए ।

कार्यक्रममा सिवाईसी लघुवित्तका सीईओ डोलेन्द्र शर्माले माईक्रो फाइनान्समा समस्या रहेको स्वीकार गरे । अहिले सबै संस्था दुधले नुहाएका नभएको उनको भनाइ छ । अहिलेको समस्या समाधान गर्न सदस्यलाई तालिमको खाँचो रहेको उनको भनाइ छ।

माइक्रो फाइनान्स एसोसिएसनका अध्यक्ष जगत पोखरेलले धेरै माइक्रो फाइनान्स भएर हो वा सुविधा बढी भएर हो अहिले समस्या भएको बताए । सोझा महिलाको नाममा लोन लिएर खाने प्रवृत्ति बढेको उनको भनाइ छ ।

लघुवित्तबिरुद्धको स‌घर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीले लामो समय अध्ययन गरेर संघर्षमा जानु परेको गुनासो गरे । अहिले लघुवित्त लघुवित्त जस्तो नबन्दा समस्या बढेको बताए ।

लघुवित्त कम्पनी ऐन अन्तर्गत दर्ता हुनु गलत भएको उनको भनाइ छ । यसको समस्या समाधान गर्न सहुलियत पूर्ण कर्जा लघुवित्तबाट दिन नहुने उनले बताए । एक पटक लोन लिएर तिर्न सकेनन् भने फेरि पटक पटक लोन दिँदा समस्या भएको उनको भनाइ छ ।

धेरैबाट लोन लिँदा तिर्न नसकेको र जति तिरेपनि नसकिएपछि सदस्यले आत्महत्याको बाटो रोज्नु परेको उनले बताए । अहिले नेता र ठूला कर्मचारीको सेयर भएका कम्पनीमा समस्या रहेको उनको दाबी छ ।


क्लिकमान्डु