‘कर्णाली घर’ जसले काठमाडौंलाई चखाउँछ ‘अर्गानिक’ उत्पादनको स्वाद



काठमाडौं । देखेको सपना पूरा हुन्थ्यो भने यति बेला मनोज भारती क्रिकेट खेलाडी हुन्थे । जुम्ला बजारमा जन्मिएका/हुर्किएका मनोज एसएलसीपछि काठमाडौं आउँदा त्रिकेट खेलाडी बन्ने सपना उनको पहिलो प्राथमिकतामा थियो । तर, त्यो सपना विपनामा परिणत हुन पाएन ।

खेलाडी बन्ने सपना बोकेका मनोजको मन विस्तारै अर्कैतिर गयो । चाहना र बुझाइको आयतन फरक भयो । बजार बुझेपछि उनभित्रको अर्को चाहना अंकुराउन थाल्यो । यो चाहना थियो, सपना थिएन । त्यो चाहनाले अहिले मूर्त रुप लिएको चार वर्षभन्दा धेरै भइसकेको छ ।

अहिले ‘कर्णाली घर’ले काठमाडौंलाई देशैभरका विभिन्न ठाउँको स्थानीय स्वाद चखाइरहेको छ । र कर्णाली घर मनोजको त्यहि सपना हो, जुन सपनाको पछि उनी निरन्तर लागिरहेका छन् ।

स्थानीय उत्पादन, देशकै बजार, कृषकदेखि उपभोक्तासम्मलाई सेवा । यी सबैको समिश्रण हो कर्णाली घर । शुरुवातमा जुम्लाबाट स्याउ ल्याएर शुरु भएको कर्णाली घर अहिले जुम्लामा मात्र सीमित छैन । गुल्मीको सख्खर काठमाडौंलाई चखाइरहेको छ । मुस्ताङको आलु काठमाडौंको भान्सासम्म पुर्‍याइरहेको छ, कर्णाली घरले ।

‘मेरो अध्ययन बीबीएस थियो’, मनोज भन्छन्, ‘व्यापारप्रति रुचि बढेपछि विस्तारै यसको बजार बुझियो । बजार बुझेपछि आफ्नै क्षेत्रको उत्पादनलाई बजारसम्म पुर्याउनुपर्छ भन्ने सोच आएपछि ‘कर्णाली घर’को शुरुवात भयो ।’

मनोज भारती

मनोजले कर्णाली घरको शुरुवात गर्नुभन्दा अघि उनका आफन्तहरु जुम्ला र हुम्लालगायतका क्षेत्रबाट स्याउ ल्याएर काठमाडौंमा बिक्री वितरण गरिरहेका थिए । मनोजले पनि त्यो व्यवसायलाई नजिकबाट नियाल्ने मौका पाएका थिए । उनी आफैं पनि व्यापार र बजारसँगै सम्बन्धित विषयको अध्ययन गरिरहेका थिए ।

‘जुम्लाबाट काठमाडौं आउँदा क्रिकेट खेल्ने सपना थियो,’ मनोज भन्छन्, ‘कलेज पढ्दा पनि क्रिकेट खेलिरहेको थिएँ । काठमाडौंमा अंकलसँग बस्थे । त्यो बेला उहाँहरुको सानो व्यवसाय थियो । त्यहाँबाट म आफैं पनि व्यवसायतर्फ तानिए । बजार बुझ्न मैले त्यो बेला पाएको थिएँ ।’

‘कर्णाली घर’को शुरुवात गर्नुअघि मनोजले जुम्लामै सिनेप्स नामको कम्पनी खोलेका थिए । उक्त कम्पनीले घरमा विद्युतीयदेखि प्लम्बिङसम्मका सम्पूर्ण सेवाहरु दिने गर्थ्यो । चार वर्षअघि कर्णाली घरको शुरुवात गर्ने बेला भने मनोज उक्त व्यवसाय आफ्नो बुबालाई जिम्मा लगाएर काठमाडौं आए । उनको सम्पूर्ण ध्यान ‘कर्णाली घर’लाई स्थापित गराउनतर्फ थियो ।

शुरुवात मनोजको ध्यान जुम्लाको स्याउमा नै थियो । स्याउसँगै संसारकै उच्च स्थानमा फल्ने मार्सी चामलजस्ता स्थानीय उत्पादनको बजारीकरण नभएको मनोजले देखेका थिए । स्थानीय उत्पादन सोही क्षेत्रमा मात्रै थियो, बजारसम्म पुगेको थिएन । उनी भन्छन्, ‘जुम्लामा पाउँथ्यो । तर, यहाँसम्म आइपुगेको थिएन् ।’

त्यहि बेला बजारको मनोविज्ञान नियाल्दा मनोजले मानिसहरु आफ्नो स्वास्थ्यप्रति अलि संवेदनशिल भएको पाए । स्थानीय उत्पादनप्रति पनि मानिसमा रुचि बढिरहेको थियो । रासायनिक मल तथा विषादी प्रयोग नभएको सामानप्रति मानिसहरु आकर्षित थिए । तर, बजारमा त्यो किसिमको उत्पादन वा वस्तुको उपलब्धता थिएन । उपलब्ध भएका वस्तुहरुमा पनि पर्याप्त मात्रा तथा ठाउँमा त्यो नपुग्ने, पुगिहालेमा मूल्य महंगो हुने जस्तो अवस्था थियो बजारको ।

मनोजले त्यहि कुरालाई ध्यानमा राखेर ‘कर्णाली घर’को शुरुवात गरे ।

शुरुवातमा जुम्ला, हुम्ला, मुस्ताङजस्ता क्षेत्रमा उत्पादन हुने स्थानीय सीमित उत्पादनबाट शुरु भएको यात्रा अहिले ‘मेड इन नेपाल’ वस्तुसम्म विस्तारित भएको छ । अहिले कर्णाली घरले देशभरका विभिन्न ठाउँबाट सामग्री ल्याएर काठमाडौंलाई चखाउँछ । आफूहरुले अहिले नेपाली माटोमा उत्पादन भएको सामग्रीको प्रवर्धन र त्यसको बजारीकरणतर्फ ध्यान दिइरहेको मनोज बताउँछन् ।

‘त्यत्तिखेर जोखिम नै थियो, धेरै कुरा बुझिएको थिएन,’मनोज भन्छन्, ‘रेड डिलिसियस भन्ने स्याउ जुम्लामा धेरै फल्ने स्याउ हो । यसमा कुनै विषादी प्रयोग भएको हुँदैन । त्यसलाई स्टोर गरेर बजारमा ल्याएर चीन र भारतबाट आएका स्याउसँग प्रतिस्पर्धा गर्नु गाह्रो थियो । हाम्रो ज्ञान पनि थिएन त्यो बेला । पछि पछि हामीले बजार बुझ्यौं ।’

अहिले जुम्लाको स्याउ भन्ने बित्तिकै मान्छेले खोजी खोजी किन्ने गरेको मनोज बताउँछन् ।

मनोजले कर्णाली घरको यात्रा शुरु गर्दा जुम्लाको स्याउबाट शुरु भएको थियो । अहिले यो देशका विभिन्न ठाउँसम्म पुगेको छ । स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउने काम गरिरहेका छन् मनोजले ।

‘जुम्लाको स्याउको बजार ठूलो छ,’ मनोज भन्छन्, ‘यसको उत्पादन पनि ठूलो छ । अहिले पनि वर्षेनी १२ देखि १५ हजार टनसम्म स्याउ उत्पादन हुन्छ । तर, यसरी उत्पादन भएको स्याउ गाईले खाने अवस्थामा पुग्छ ।’

स्थानीय उत्पादनको बजारीकरण नहुनुको परिणाम हो यो उदाहरण । मनोजले यहि कुरालाई ध्यानमा राखेर आफूले व्यवसाय शुरु गरेका थिए । उनी भन्छन्, ‘यहि कुरालाई ध्यानमा राखेर हामीले कर्णाली घरको शुरुवात गरेका थियौं ।’

चार वर्षअघि शुरुवातमा आफूहरुले जुम्लाबाट स्याउ ल्याएर काठमाडौंको बजारको मूल्यांकन गरेको मनोज बताउँछन् । असोजमा फल्ने स्याउलाई बजारमा ल्याएर त्यसको बिक्रीपछि भने औपचारिक रुपमा कर्णाली घर खुलेको थियो ।

‘चार वर्षअघि शुरुवातमा स्याउ ल्याएर बेचेपछि हामीले कर्णाली घरको शुरुवात गरेका थियौं,’ उनी भन्छन्, ‘स्याउको सिजन असोजमा शुरु हुन्थ्यो । हामीले स्याउ ल्याएर बेचेपछि फाल्गुनबाट यसलाई नै व्यवसायको रुप दिने सोचसहित ‘कर्णाली घर’ खोल्यौं । अनौपचारिक रुपमा स्याउ बिक्री गर्दाबाट नै यसको शुरुवात भएको थियो ।’

त्यसपछि भने मार्सी चामल, सिमीको दाल, जुम्मोजस्ता वस्तुहरु ल्याएर बजारमा बिक्री गरेको उनी बताउँछन् ।

कर्णाली घरको शुरुवातबाट नै विभिन्न शैलीमा व्यवसायलाई अघि बढाउन खोजेको सम्झिन्छन् मनोज । ई–कमर्श, वितरणको शैली र आफ्नै आउटलेटबाट बिक्री गर्ने शैली कर्णाली घरले अपनाएको थियो । शुरुवातमा विभिन्न मार्ट तथा डिपार्टमेन्टल स्टोरहरुमा वितरण गरेर उनीहरुले व्यवसाय सुरु गरेका थिए ।

कर्णाली घरको शुरुवात गर्दा १२ लाख खर्च भयो । ‘कम्पनीको शुरुवातमा दुईवटा कुर्सी राखेर व्यवसाय शुरु भएको थियो । पहिलो लगानी १२ लाख थियो । मार्सीदेखि स्याउसम्म ल्याउँदा यो लगानी थियो ।’

अहिले वार्षिक रुपमा हुने फाइदा करिब ४० देखि ७० लाखसम्म पुग्ने अवस्था भएको उनी सुनाउँछन् । चार वर्षको अवधिमा मनोजले उद्यमीको रुपमा बजारमा संघर्षदेखि खुसी दुवै भोग्न पाएका छन् ।

‘नेपाली उत्पादनहरु अझैं पनि कर्मसियलाइज भएको छैन,’ मनोज भन्छन्, ‘यसको उत्पादनदेखि बजारमा बिक्रीको लागि वातावरण मिलाउने काम गर्न पनि अलिकति गाह्रो छ । सँगै बजारमा पनि आज अलि गाह्रो अवस्था छ ।’

‘आफ्टर सेल्स पेमेन्ट’ हुने अवस्था हुँदा उद्यमशिलताको शुरुवात गर्दा केही असहज अवश्य नै हुन्छ । मनोजले पनि यो अवस्था भोगेर आएका छन् । तर, यो सबै संघर्षसँग जुधेर मनोज आफू यहाँसम्म आइपुगेका छन् ।

अहिले ‘कर्णाली घर’को माध्यमबाट ७ वटासम्म वस्तुहरु होलसेल र खुद्रा दुवै रुपमा बिक्री भइरहेको छ । यी बाहेकका अन्य वस्तुहरु खुद्रा रुपमा मात्रै बजारमा बिक्री वितरण भइरहेको बताउँछन् मनोज ।

८ वटा स्थानीय वस्तुहरु कर्णाली घरकै ब्राण्डिङमा बिक्री भइरहेको छ भने अन्य वस्तुहरुलाई प्रत्यक्ष उपभोक्तालाई नै बिक्री गरिरहेको छ कर्णाली घरले ।

‘कर्णाली घर’ले अहिले जुम्लाको स्याउदेखि मार्सी चामलसम्म, यार्सागुम्लाजस्ता जडिबुटीदेखि कालो भटमास, भीर मौरीको महदेखि जाजरकोटको मसलासम्म बिक्री गरिरहेको छ ।

मनोज ‘कर्णाली घर’ले देशभरकै स्थानीय उत्पादनलाई बजारी करण गर्नुको कारण उपभोक्ता भएको सुनाउँछन् । जुम्लाबाट शुरु भएको यात्रा देशभर नै फैलिने सोच उपभोक्ताहरुमार्फत नै आएको उनको भनाइ छ ।

स्थानीय स्याउ खाएका ग्राहकले अर्को ठाउँको स्थानीय उत्पादनको माग गर्थे । त्यसरी नै माग हुन थालेपछि कर्णाली घरको आयतन बढ्यो । त्यसपछि नै जुम्लाबाट देशभरका विभिन्न ठाउँबाट उत्पादनहरु आफूहरुले ल्याउन थालेको मनोज बताउँछन् ।
हालसम्म कर्णालीघरले करिब ३० हजार ग्राहकहरुलाई अनलाइनमार्फत नै ई–कमर्श सुविधा दिएको छ । विभिन्न मार्ट तथा आफ्नै आउटलेटबाट सेवा लिने ग्राहकको निश्चित संख्या नै छैन ।

‘कोरोना महामारीका कारण केही खुम्चियौं’, मनोज सुनाउँछन्, ‘८ वटा आउटलेट काठमाडौंमै खुलेको थियो । कोरोना महामारीको दोस्रो लहरका बीच विभिन्न आउटलेट बन्द भएका थिए । तर, त्यो बेला डेलिभरीमार्फत भने कर्णाली घरका ग्राहक बढेका थिए ।’

काठमाडौं उपत्यकामा अहिले तीनवटा आउटलेट छन् । काठमाडौं बाहेक बुटवल र नेपालगञ्जमा पनि फ्रेन्चाइजको रुपमा कर्णाली घरले सेवा दिइरहेको उनी बताउँछन् ।

‘नबुझ्दा जोखिम थियो । आफूले बुझ्दै गएपछि अहिले केही सहज अवस्था भएको छ’, उनी भन्छन्, ‘स्याउकै कुरा गर्दा असोजको स्याउ चैतसम्म वितरण गर्न सक्छौं । हामीले स्याउकै कुरामा हार्भेस्ट हुँदाबाट देखि नै ध्यान दिने हो भने यसलाई लामो समयसम्म वितरण गर्न सक्ने अवस्था भएको छ ।’

अहिले ‘कर्णाली घर’मार्फत बिक्री हुने धेरै उत्पादन किसानबाट नै आउँछ । कतिपय वस्तुहरु स्थानीय फर्महरुबाट पनि ल्याइन्छ । ‘धेरै जसो हाम्रो सामान किसानबाट नै आउने गरेको छ’ उनले भने ।

कर्णाली घरसँग नियमित सम्पर्कमा रहने किसानहरुमध्ये स्याउको उत्पादन गर्ने किसानहरु धेरै छन् । स्याउको उत्पादन गर्ने करिब ५ सय किसानहरुसँग नियमित सम्पर्कमा रहेका छन् उनी । अन्य प्रमुख वस्तुहरुमा पनि सय/डेढ सय किसानहरुसँग आफूहरुले सम्पर्क गरिरहने गरेको मनोज बताउँछन् ।

कर्णाली घरले स्थानीय उत्पादनलाई बजारसम्म त ल्याइ नै रहेको छ । सँगै रोजगारी पनि दिइरहेको छ । मनोज भन्छन्, ‘अहिले १६ जना हामीसँग काम गरिरहेका छन् । २१ जना थियौं । तर, अहिले १६ जना छौं ।’

अब देशव्यापी रुपमै जाउँ भन्ने सोच उनले राखेका छन् । व्यवसायमै रमाएमा छन् । क्रिकेट खेलाडी बन्ने सपना देखेको मान्छेले व्यवसाय शुरु गरेपश्चात विस्तारै बजार बुझेकाले आफू पनि म्याचुअर्ड हुँदै गएको मान्छन् उनी । भन्छन्, ‘हामी हाम्रो व्यवसायको मोडलमा अझैं केही काम गरेर यो ब्राण्डलाई देशव्यापी रुपमा लैजाने भन्ने सोचेका छौं ।’


युवराज भट्टराई