सन् २०२५ मा अमेरिका र चीनबीच युद्ध हुन सक्छ ?



एजेन्सी । ताइवानको विषयलाई लिएर चीन र अमेरिकाबीचको विवाद पुनः सतहमा देखिन थालेको छ । अमेरिकाका जनरल माइक मिनिहनको एक भनाइका कारण दुवै देश पुनः विवादमा तानिएका छन् ।

गत शुक्रबार माइकले भनेका थिए, ‘मलाई लाग्छ २०२५ मा चीन र अमेरिकाको बीचमा युद्ध हुन सक्छ ।’

माइकको यो भनाइ आएसँगै अमेरिकी प्रतिनिधिसभामा रिपब्लिकन माइकल मैककालले पनि ताइवानको विषयमा चीनसँग अमेरिकी संघर्षको सम्भावना धेरै भएको बताएका थिए । अमेरिकी पक्षबाट यस्तो बयान आएपछि चीनको विदेश मन्त्रालयले पनि यसप्रति प्रतिक्रिया जनाएको छ ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निंगले पत्रकार सम्मेलन गर्दै अमेरिकाविरुद्धमा अभिव्यक्ति दिएका छन् । माओले भनेका छन्, ‘नयाँ विवादको जडमा दुई कुरा छन् । पहिलो कुरा ताइवानको डेमोक्रेटिक प्रोग्रेसिव पार्टी स्वतन्त्रताका लागि अमेरिकामाथि परनिर्भर भइरहेको छ । दोस्रो कुरा अमेरिकाका केही मानिसहरुले चीनमाथि अधिकार जमाउनका लागि ताइबानको प्रयोग गर्ने कोसिस गरिरहेका छन् ।’

निंगले अमेरिकाले एक चीन नीति र दुई देशबाट जारी गरिएको साझा वयानलाई मान्नुपर्ने बताएका छन् । चीनले अमेरिकालाई अमेरिकी नेतृत्वले गरेका बाचाहरु ध्यानमा राखेर ताइवानको मुद्दामा जबरजस्ती छिर्न नहुने बताएको छ । सँगै चीनले अमेरिकालाई ताइवान क्षेत्रमा सैन्य सम्बन्धलाई पनि रोक लगाएको छ ।

चीनले ताइवान चीनको हिस्सा भएको र आफूहरुले यसलाई शान्तिपूर्ण र इमान्दारीपूर्वक एकीकरण गर्न खोजिरहेको बताउँदै आवश्यक परेमा सेनाको प्रयोगसमेत गर्न सक्ने चेतावनी दिएको छ ।

अमेरिकाले आफ्ना सहयोगीहरुमाथि चीनको चिप प्रविधिको प्रयोग नगर्न दबाब सिर्जना गरेर आफू शक्तिशाली बन्न खोजिरहनु र दुनियाँमा बर्चस्व बनाउन खोज्नुले दुनियाँभरकै उद्योग क्षेत्रलाई नोक्सान हुन सक्ने पनि चिनियाँ पक्षले बताएको छ ।

सँगै चीनको एक चीन नीतिको पालना हुनुपर्ने र दुई देशको सम्बन्ध, शान्ति र स्थायित्व प्रभावित हुन सक्ने कुनै पनि किसिमको काम अमेरिकी सांसदबाट हुन नहुने चीनले बताएको छ । अमेरिकाले सधैं लोकतन्त्र, स्वतन्त्रा र मानवअधिकारको वकालत गरे पनि आफू भने अन्य देशको घरेलु मुद्दामा जबरजस्ती प्रवेश गर्ने गरेको चिनियाँ पक्षले बताएको छ ।

सँगै अमेरिकाको टेनेसी राज्यमा भएको २९ वर्षिया टायरी निकोल्सको मृत्युको विषयमा पनि चीनले अमेरिकालाई प्रश्न उठाएको छ । टेनेसी राज्यमा प्रहरीसँगको झडपमा निकोल्सको मृत्यु हुनुले संसारकै ध्यान अहिले अमेरिकाले खिचेको छ । यसअघि जर्ज फ्लोयडको यस्तै किसिमले भएको मृत्युसँग जोडेर निकोल्सको मृत्युलाई हेरिएको छ ।

चिनियाँ विदेश मन्त्रालयले प्रश्न गर्दै भनेको छ, ‘हामीलाई आशा छ, अमेरिका त्यहाँको नश्लभेदसँग जोडिएको मुद्दा र आवश्यताभन्दा बढी बल प्रयोग हुने विषयमा गम्भीर हुनेछ ।’

अमेरिकामा एयर मोबिलिटी कमान्डको प्रमुखका रुपमा माइक मिनिहन रहेका छन् । यो समूहमा १ लाख १० हजारभन्दा धेरै सदस्यहरु छन् । मिनिहनले शुक्रबार २०२५ मा चीन र अमेरिकाबीच द्वन्द्व हुन सक्ने अभिव्यक्ति दिएका थिए । यो विषय अमेरिकाको प्रतिनिधिसभामा पनि चर्चाको विषय बनेको छ ।

अमेरिकी प्रतिनिधिसभामा विदेशी मामला हेर्ने कमिटिका प्रमुख माइकल मैककालले भनेका थिए, ‘म चाहन्छु, माइक गलत हुन् । तर, मलाई लाग्छ यो कुरा सहि हुनेछ ।’

हुन त जनरल माइकको अभिव्यक्ति वा विचारलाई अमेरिकी सरकारको आधिकारित बयानको रुपमा लिन मिल्दैन । तर, उनको अभिव्यक्तिले अमेरिकी सेनाको उच्च स्तरमा रहेका अधिकारीहरुको सोच कस्तो छ भन्ने विषय भने देखिन्छ ।

मिनिहनले आफ्नो अभिव्यक्तिमा भनेका छन्, ‘२०२४ मा अमेरिका र ताइवानमा राष्ट्रपति चुनाव हुनेछ । यस्तोमा चीनले ताइवानमा सैनिक संघर्ष सुरु गर्न उपयुक्त समय हुनेछ । यदि चीन बिना रगत बगाएर ताइवानमाथि नियन्त्रण पाउने कुरामा असफल भयो भने उसले पक्कै सैन्य आक्रमण गर्नतर्फ सोच्न सक्छ । हामी त्यसका लागि तयार भएर बस्नुपर्छ ।’

२०२२ अगस्टमा अमेरिकी सभामुख न्यान्सी पेलोसीले अचानक ताइवानको भ्रमण गरेकी थिइन् । यो भ्रमणका कारण चीन र अमेरिकाबीच ताइवानको मुद्दामा तनाव सुरु भएको थियो । तब चीनले सैन्य अभ्यास गरेर यसको प्रतिक्रिया दिएको थियो । चीनको विदेश मन्त्रालयले एक चीन नीतिपालना हुनुपर्ने भन्दै अमेरिका समक्ष अपिल गरेको थियो ।

‘वान चाइना पोलिसी’ अर्थात एक चीन नीति चीनको यस्तो राजनीतिक स्वीकृति हो, जसअनुसार केवल एउटा चिनियाँ सरकार रहन्छ । यो नीति अन्तर्गत रहँदा अमेरिकाले ताइवानसँग नभएर चीनसँग औपचारिक सम्बन्ध राख्ने गर्दछ ।

चीनले ताइवानलाई आफू अन्तर्गतकै एउटा छुट्टै राज्यको रुपमा लिन्छ । र यसलाई चीनको मुख्य भूमिसँग जोड्ने चाहना चीनको पुरानो चाहना हो ।

चीनको आधिकारिक नाम– पिपल्स रिपब्लिक अफ चाइना हो भने ताइवानको आधिकारिक नाम– रिपब्लिक अफ चाइना हो । यी दुई देशले एकअर्काको संप्रभुतालाई मान्यता दिएका छैनन् । दुवैले आफूलाई आधिकारिक चीनको रुपमा हेर्छन र आफू नै चीनको मुख्य भूमि र ताइवान द्विपको आधिकारिक प्रतिनिधि भएको दाबी गर्ने गरेका छन् ।

ताइवान यस्तो द्विप हो, जुन १९५० मा स्वतन्त्र भएको थियो । तर, चीनले भने यसलाई आफ्नो विद्रोही राज्यको रुपमा हेर्छ । एकातिर ताइवानले आफूलाई स्वतन्त्र र संप्रभु राष्ट्रको रुपमा लिन्छ भने अर्कातिर चीनले ताइवान पनि आफूसँग सामेल हुनुपर्ने तर्क राख्दै आएको छ । यसका लागि चीन सरकार र त्यहाँका प्रतिनिधिहरु बल प्रयोग गर्न पनि पछि नहट्ने बताउँदै आएका छन् ।

चीन र ताइवानको अहिलेको विवादको सुरुवात भने १९४९ बाट भएको हो । यो समय त्यस्तो बेला थियो, जब चीनमा भएको गृहयुद्धमा माओत्से तुंगको नेतृत्वमा कम्युनिष्टहरुले चियांग काई शेकको नेतृत्वको राष्ट्रवादी कामिंगतांग पार्टीलाई पराजित गरेका थिए ।

चीनको सत्तामा आएको कम्युनिष्ट सरकारसँग नौसैनिक शक्ति लगतग शून्य जस्तै थियो । यहि कारण माओको सेनाले समुन्द्र पारी रहेको ताइवानमाथि आफ्नो नियन्त्रण जमाउन सकेका थिएनन् । र यो विवाद अहिलेसम्म पनि उस्तै रुपमा रहेको छ ।

बीबीसीबाट


क्लिकमान्डु