यी ७ बीमा कम्पनीको सेयर किन्दा अझै पाइन्छ लाभांश, कुनको कति ?



काठमाडौं । सञ्चालनमा रहेका १८ वटा निर्जीवन बीमा कम्पनीहरुमध्ये १३ वटाले लाभांश घोषणा गरेका छन् । कम्पनीहरुले आर्थिक वर्ष २०७८/०७९ को वितरण योग्य मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् ।

शिखर, नेको, प्रिमियर, सगरमाथा, एनएलजी, सिद्धार्थ, नेपाल, आईएमई जनरल, यूनाइटेड इन्स्योरेन्स, हिमालयन एभरेष्ट, प्रभु, प्रुडेन्सियल र लुम्बिनी जनरलले लाभांश घोषणा गरेका हुन् ।

हालसम्म लाभांश घोषणा गरेका १३ निर्जीवन बीमा कम्पनीहरुमध्ये अझै ७ वटाले साधारणसभा र बुक क्लोज गर्ने निर्णय गरेका छैनन् । त्यसैले यी कम्पनीको सेयर किन्दा अझै लाभांश पाइन्छ ।

७ मध्ये शिखर इन्स्योरेन्सले भने साधारणसभा र बुक क्लोजको मिति तय गरेको छ । कम्पनीले दुई आर्थिक वर्षको साधारणसभा माघ २५ गते बोलाएको छ ।

साधारणसभा प्रयोजनका लागि इन्स्योरेन्सले माघ १७ गतेदेखि साधारणसभा सम्पन्न नहुन्जेलसम्मका लागि बुकक्लोज गर्ने भएको छ । जसअनुसार माघ १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले इन्स्योरेन्सको साधारणसभामा सहभागिता जनाउन र लाभांश पाउन योग्य हुनेछन् ।

यस्तै, लाभांश घोषणा गरेका कम्पनीहरुमध्ये हिमालयन एभरेष्ट, प्रभु इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, लुम्बिनी जनरल, सगरमाथा र एनएलजी भने साधारणसभा र बुक क्लोजको मिति तय गरेका छैनन् ।

कुनको कति ?

शिखरले सेयरधनीलाई कुल १६.८४२१ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमध्ये १६ प्रतिशत बोनस सेयर र ०.८४२१ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

एनएलजी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुल १०.५२६३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीले १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद गरी उक्त दरमा लाभांश दिने भएको हो ।

हिमालयन एभरेष्ट इन्स्योरेन्स आव २०७८/०७९ को नाफाबाट सेयरधनीलाई २.८९ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले २.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.१४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको थियो ।

प्रभु इन्स्योरेन्सले गत आवको मुनाफाबाट सेयरधनीहरुलाई ७.०५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । कम्पनीले ६.७ प्रतिशत बोनस सेयर ०.३५ प्रतिशत नगद गरी उक्त दरमा लाभांश दिने भएको हो ।

प्रुडेन्सियल इन्स्योरेन्सले हाल कायम रहेको चुक्ता पुँजीको ६.८४२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । आव २०७८/७९ को मुनाफाबाट कम्पनीले ६.५ प्रतिशत बोनस सेयउर र ०.३४२ प्रतिशत नगद लाभांश दिने भएको हो ।

लुम्बिनी जनरल इन्स्योरेन्सले गत आवको मुनाफाबाट सेयरधनीहरुलाई कुृल ७.३५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । कम्पनीले उक्त आवको मनाफाबाट ७ प्रतिशत बोनस सेयर र ०.३५ प्रतिशत नगद लाभांश दिने भएको हो ।

पुस ५ गते बसेको सगरमाथा इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट १३.०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो । कम्पनीले १२.५० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.६५७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरि स्वीकृतिको लागि बीमा प्राधिकरणमा पठाएको थियो ।

उक्त लाभांशलाई प्राधिकरणले संशोधन गर्दै हाल कायम रहेको चुक्ता पुँजीको १२.४० प्रतिशत बोनस सेयर र ०.६५२६ प्रतिशत नगद लाभांश वितरण गर्न स्वीकृति दिएको कम्पनीले जनाएको छ ।

यस्तै, नेपाल इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट ८.४२११ प्रतिशत, आइएमई जनरलले ६.८४ प्रतिशत, यूनाइटेड इन्स्योरेन्सल ५.२६३२ प्रतिशत, प्रिमियर इन्स्योरेन्सले १५ प्रतिशत, सिद्धार्थ इन्स्योरेन्सले ९.४७३७ प्रतिशत र नेको इन्स्योरेन्सले कुल १५.७९ प्रतिशत लाभांश घोषणा गरेका थिए ।

कम्पनीको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि कम्पनीहरुको साधारणसभाले अनुमोदन गरेपछि मात्रै सेयरधनीहरुमा वितरण हुन्छ ।

कम्पनीहरुले सेयरधनीहरुको रेकर्ड राख्ने रजिस्टर (सेयरधनी दर्ता किताब) साधारण सभा, लाभांश वितरण र हकप्रद सेयर जारी गर्नु अघि निश्चित अवधिका लागि सेयरधनी दर्ता किताब बन्द अर्थात बुक क्लोज गर्नेगर्छन् ।

कम्पनीहरुले कुन मितिसम्म कायम रहेका सेयरधनीहरुलाई साधारण सभामा सहभागी गराउने तथा लाभांश, बोनस सेयर र हकप्रद सेयर जस्ता प्रतिफलहरु प्रदान गर्ने लगायतका विषयहरुको निर्णय लिनका लागि बुक क्लोज गर्ने निर्णय गरेका हुन्छन् । बुक क्लोज भएको अवधिमा पनि सेयर खरिद बिक्री गर्न भने सकिन्छ । तर, कम्पनीले घोषणा गरेको प्रतिफल भने बुक क्लोज हुनु भन्दाअघि कायम रहने सेयरधनीले मात्र पाउँछन् ।


क्लिकमान्डु