स्वास्थ्य बीमामा ६२ लाख समेटिए, अझै ७९ प्रतिशत पहुँच बाहिर



काठमाडौं । स्वास्थ्य क्षेत्रमा सर्वव्यापी पहुँच पुर्याउने र सम्पूर्ण स्वास्थ्य सेवामा गुणस्तरको सुनिश्चितता कायम गर्ने उद्देश्यले २०७२ सालमा सरकारले स्वास्थ्य बीमा कार्यक्रम शुरु गरेको थियो ।

सरकारले पाइलट प्रोजेक्टको रुपमा कैलाली जिल्लाबाट कार्यक्रम शुरु गरेको थियो । ठूलो महत्वाकांक्षी लक्ष्यसहित शुुरु गरिएको उक्त कार्यक्रम विस्तारको गति भने सुस्त देखिन्छ ।

२०७२ सालमा सुचारु भएको उक्त कार्यक्रम देशका ७७ वटै जिल्लामा विस्तार भएको छ । तर, जिल्ला र स्थानीय तहमा कार्यक्रम पुगे पनि पुहँचको दायरामा आएको जनसंख्या भने न्यून छ ।

५ वर्षमा सबै नागरिकमा स्वास्थ्य बीमा पुर्याइने लक्ष्य भएपनि सात वर्ष लागिसक्दा अझै ७९.४४ प्रतिशत जनता स्वास्थ्य बीमाको दायरा भन्दा बाहिर छन् । बोर्डकाअनुसार २०.५६ प्रतिशत नेपालीमा स्वास्थ्य बीमा पुगेको छ । अर्थात करीब ६२ लाख जना नागरिक यस कार्यक्रममा सहभागी भएका छन् ।

हालसम्म ६२ लाख नागरिक समेटिए

बोर्डको सूचनापाटिमा राखिएको तथ्यांकअनुसार हालसमम्म यस कार्यक्रममा कुल ६२ लाख ८ हजार बीमित सहभागी भएका छन् । जुन कुल जनसंख्याको २०.५६ प्रतिशत हुन आउँछ । कार्यक्रममा ३२ लाख तीन हजार महिला र ३० लाख ४ हजार जना पुरुष बीमित सहभागी भएका छन् । कुल बीमितमध्ये महिलाको संख्या ५१ प्रतिशत छ भने पुरुष बीमितको संख्या ४८.३९ प्रतिशत छ ।

कुन प्रदेशबाट कति सहभागी ?

तथ्यांअनुसार यस कार्यक्रममा प्रदेश नम्बर १ बाट धेरै सहभागी भएका छन् । प्रदेश १ बाट १९ लाख ६० हजार भन्दा धेरै बीमित सहभागी भएका छन् ।

प्रदेश १ पछि बागमती प्रदेशका बीमित धेरै छन् । यस कार्यक्रममा बागमती प्रदेशबाट १२ लाख ४७ हजार जना बीमित सहभागी भएका छन् ।

यस्तै, लुम्बिनी प्रदेशबाट ९ लाख ३८ हजार, गण्डकी प्रदेशबाट ७ लाख ८२ हजार, सुदुरपश्चिम प्रदेशबाट ४ लाख ८६ हजार, मद्येश प्रदेशबाट ४ लाख ३७ हजार र कर्णाली प्रदेशबाट ३ लाख ५५ हजार बीमित सहभागी भएका छन् ।

१५ देखि २९ वर्ष उमेर समूहका बीमित बढी

तथ्यांअनुसार कार्यक्रममा सहभागी भएका बीमितहरुमध्ये १५ देखि २९ वर्ष उमेर समूहका धेरै रहेका छन् । यस उमेर समूहका एक लाख ४८ हजार अर्थात २३.८ प्रतिशत बीमित सहभागी भएका छन् । यस्तै, यस कार्यक्रममा ६० वर्ष भन्दा माथिका २३ प्रतिशत, ४० देखि ५९ वर्ष उमेर समूहका २१ प्रतिशत, १४ वर्ष उमेर समूहका १७ प्रतिशत र ३० देखि ३९ वर्ष उमेर समूहका १३ प्रतिशत सहभागी भएका छन् ।

यस्तै, ४० देखि ५९ उमेर समूहका बीमितले बढी सेवा लिएका छन् । बोर्डकाअनुसार ३२.६९ प्रतिशत दाबी यस उमेर समूहकाले गरेका छन् । यस्तै, ६० वर्षदेखि माथि उमेर समूहका बीमितले बढी सेवा लिएका छन् ।

१५ अर्ब योगदान रकम संकलन

यस कार्यक्रममा हालसम्ममा १५ अर्ब ६५ करोड ८५ लाख रुपैयाँ योगदान रकम संकलन भएको छ । कुल योगदान रकमममा प्रदेशक १ को योगदान साढे २९ प्रतिशत, बागमती प्रदेशको योगदान १८ प्रतिशत, लुम्बिनी प्रदेशबाट १६ प्रतिशत, गण्डकी प्रदेशको १४ प्रतिशत, सुदुरपश्चिम प्रदेशको ९ प्रतिशत, मद्येश प्रदेशको ७ प्रतिशत र कर्णाली प्रदेशको ४ प्रतिशत रहेको बोर्डको तथ्यांक छ ।

के हो स्वास्थ्य बीमा कार्यक्रम ?

बीमा कार्यक्रम परिवारका सबै सदस्य सहभागी हुने गरी परिवारको योगदानमा आधारित छ । प्रति पाँच जनाको परिवारले वार्षिक तीन हजार ५०० रुपैयाँ तिनुपर्ने हुन्छ ।

परिवारमा पाँच जना भन्दा बढी सदस्य भए प्रति सदस्य ७०० रुपैयाँ थप रकम बुझाउनुपर्ने हुन्छ । बीमाको सुविधा थैलीमा पाँच जनाको परिवारको हकमा १ लाख र पाँच जनाभन्दा बढी परिवारका सदस्य भएका खण्डमा प्रति ७०० थप गर्दा २० हजारको दरले अधिकतम २ लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा लिन सक्छन् । बीमा सुविधा अन्र्तगत बीमितले १ हजार १३३ औषधिको सुविधा पाउँछन् ।

कार्यक्रम अनुसार बीमा गर्ने कुनै पनि व्यक्तिले तोकिएका मध्ये कुनै पनि स्वास्थ्य संस्थाबाट बीमा भुक्तानी रकम ननाघ्ने गरी ओपीडी, इमर्जेन्सी, ल्याब, शल्यक्रिया, एक्सरे लगायतका उपचार सेवा पाउन सक्ने व्यवस्था छ ।

तर, कस्मेटिक सर्जरी, व्यक्तिगत झै–झगडाका कारण चोटपटक लागेमा, मादकपदार्थ सेवनका कारण कुनै दुर्घटनामा परी चोटपटक लागेमा, गर्भपतन गराएमा भने बीमाबापतको सेवा भने यस कार्यक्रममा उपलब्ध छैन । यस्तै, बीमितले सरकारले तोकेको निःशुल्क औषधिसमेत बीमितले पाउँछन् ।

स्थानीय गाउँ, नगर, उप तथा महानगरपालिकाका प्रत्येक वडामा एक/एक जना दर्ता सहयोगी नियुक्ति गरी बीमा दर्ता र नवीकरण गर्ने व्यवस्था गरिएको छ ।


क्लिकमान्डु