बीमा अभिकर्ताको परीक्षा अनलाइन माध्यमबाट हुने, शुल्क ५ सय



काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा मध्यस्थकर्ता (अभितकर्ता) परीक्षा सञ्चालन सम्बन्धी निर्देशिका, २०७९ जारी गरेको छ ।

प्राधिकरणले बीमा व्यवसायको विकासको लागि समय सापेक्ष दक्ष जनशक्ति तयार गर्न बीमा ऐन, २०७९ को दफा ९२ को उपदफा २ को व्यवस्था बमोजिम सञ्चालन गरिने बीमा मध्यस्थकर्ता (अभिकर्ता)को परीक्षालाई व्यवस्थित, गुणस्रीय र नियमित बनाउने उद्देश्यले उक्त निर्देशिका जारी गरेको हो ।

परीक्षा दस्तुर र परीक्षा सञ्चालन
परीक्षार्थीले आफूले सहभागी हुन चाहेको परीक्षा कार्यक्रमको लागि परीक्षा शुल्कवापत ५ सय रुपैयाँ तोकिएको विद्युतीय भुक्तानी सेवा प्रदायक ‘अनलाइन पेमेन्ट गेटवे’ मार्फत प्राधिकरणको बैंक खातामा भुक्तानी गर्नुपर्नेछ ।

एक व्यक्तिको लागि जम्मा गरिएको परीक्षा शुल्कले अर्को व्यक्तिले परीक्षा दिन नपाउने व्यवस्था समेत निर्देशिकाले गरिदिएको छ ।

यस्तै, बीमा अभिकर्ताको परीक्षा विद्युतीय (अनलाइन) माध्यमबाट सञ्चालन हुनेछ । परीक्षार्थीले परीक्षा अवधिभरमा पूरै अनुहार देखिने र आवाज सुनिने गरी भिडियो क्यामरा सुचारु राख्नुपर्नेछ । परीक्षा अवधिभरमा विद्युत तथा इन्टरनेको वैकल्पिक व्यवस्था परीक्षार्थीले गर्नुपर्नेछ ।

बीमा अभिकर्ताको परीक्षामा दुई अङ्कभारको जम्मा ५० वटा वस्तुगत प्रश्न सोधिनेछन् । र सो परीक्षाको समय एक घण्टा ३० मिनेटको हुनेछ ।

परीक्षाको नतिजा प्राधिकरणको बीमा अभिकर्ता इजाजतपत्र हेर्ने महाशाखाले गर्नेछ । भने नतिजा प्राधिकरणको वेवसाइटमा राखिनेछ । यस्तै, परीक्षामा ५० प्रतिशत प्राप्ताङ्क भएका परीक्षार्थीलाई सो परीक्षा उत्तीर्ण भएको बेहोराको प्रमाणपत्रपत्र विद्युतीय माध्यमबाट प्रदान गरिनेछ ।

बीमा अभिकर्ताको परीक्षालाई व्यवस्थित र मर्यादित रुपमा व्यवस्थापन गराउन ६ सदस्सीय परीक्षा समिति हुनेछ । प्राधिकरणका कार्यकारी निर्देशक संयोजक रहनेछन् । परीक्षा समितिको काम, कर्तव्य र अधिकारको व्यवस्था समेत निर्देशिकाले गरिदिएको छ ।

परीक्षा सम्बन्धी कार्यक्रम र सोही तालिका परीक्षा हनुभन्दा १५ दिन अगावै प्राधिकरणको वेवसाइटमा सामान्यतया त्रैमासिक रुपमा प्रकाशन गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । बीमा अभिकर्ताको परीक्षामा सहभागी हुन प्राधिकरणबात तयार गरिएको अनलाइन पोर्टलमार्फत निवेदन पेश गर्नुपर्नेछ ।

यस्तो छ पाठ्यक्रम
प्राधिकरणले बीमा अभिकर्ताको पाठ्यक्रम समेत तयार पारेको छ । प्राधिकरणले जीवन बीमा अभिकर्ताका लागि र निर्जीवन बीमा अभिकर्ताका लागि छुट्टाछुट्टै पाठ्यक्रम तयार पारेको छ ।

जीवन बीमा अभिकर्ताको परीक्षाको पाठ्यक्रममा जोखिम र जोखिम व्यवस्थापन, बीमाको परिचय, बीमा अभिकर्ता, बीमाको सिद्धान्त, बीमालेख, जीवन बीमा सम्बन्धी कागजात, बीमाशुल्क र बोनस, जोखिमाङ्कन, दाबी, रजीवन बीमाको बजारीकरण, बीमा अभिकर्ता र कर, बीमा सम्बन्धी कानूनी व्यवस्था र बीमा बजार लगायतका विषयवस्तुलाई समेटेको छ ।

यस्तै, निर्जीवन बीमा अभिकर्ताको परीक्षाको पाठ्यक्रममा जोखिम र जोखिम व्यवस्थापन, बीमाको परिचय, बीमा अभिकर्ता, बीमाको सिद्धान्त, बीमालेख, निर्जीवन बीमा सम्बन्धी कागजात, बीमाशुल्क र बीमादर, जोखिमाङ्कन, दाबी, निर्जीवन बीमाको बजारीकरण, बीमा अभिकर्ता र कर, बीमा सम्बन्धी कानूनी व्यवस्था र बीमा बजार लगायतका विषयवस्तुलाई समेटेको छ ।


क्लिकमान्डु