३० दिनभित्र प्रचण्ड नेतृत्वको सरकारले विश्वासको मत लिन कठिन: कांग्रेस नेता विश्वकर्मा



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत लिन नै कठिन हुने दाबी गरेका छन् ।

कांग्रेस जस्तो लचिलो पार्टीलाई त मिलाएर जान नसक्ने प्रधानमन्त्री दाहालले ७ वटा राजनीतिक पार्टीहरुलाई मिलाएर विश्वासको मत लिन कठिन हुने उनको तर्क थियो ।

मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा नेता विश्वकर्माले ३० दिनभित्र विश्वास मत लिएको खण्डमा दाहाल नेतृत्वको सरकार २ वर्षसम्म चल्ने अनुमान गरे ।

संघीयतानै नचाहिने राष्ट्रिय स्वतन्त्र पार्टी, राजा आउ भन्ने राप्रपालगायतका राजनीतिक दलहरु रहेको वर्तमान गठबन्धन सरकार टिक्न गाह्रो हुने उनको भनाइ थियो ।

‘अब उहाँसँगको सिट संख्याले अहिले त १६९ पुगेको छ । तर त्यो १६९ को आधारहरु हेर्ने हो भने सातवटा दल छन् । ७ वटा दलको दाबी त बाहिर आएकै छैन । त्यो दाबी सुन्नै पाएका छैनौं । भर्खरै सुने–राष्ट्रिय प्रजातन्त्र पार्टीले हाम्रा पनि केही सर्तहरु छन् । ती सर्त पूरा हुने लक्षण देखिएमात्रै सरकारमा जान्छौं । उहाँहरुको राजा आऊ, देश बचाऊ होला । यसैगरी फेरी राष्ट्रिय स्वतन्त्र पार्टी त सरकारमा गइहाल्यो । अब उहाँहरुले प्रदेशमा उम्मेदवारी उठाउनु भएको छैन । किनभने उहाँहरुलाई प्रदेश सरकारप्रति विश्वास छैन । संघीयताप्रति भरोसानै छैन । यत्रो ८/९ सय सांसद कहाँ पाल्न सकिन्छ ? भन्ने चिन्ताले मैले त्यतातिर उम्मेदवारी नदिएको रवि लामिछानेले भन्नु भएको छ । यसको अर्थ उहाँलाई संघीयताप्रति विश्वास छैन । राप्रपालाई गणतन्त्रप्रति विश्वास छैन । अनि अरु दलहरुपनि त्यस्तैत्यस्तै क्षेत्रीय दलहरु छन । अव ती सबै दलहरुलाई मिलाएर लिएर जानलाई यसको जिम्मेवारी त फेरी पनि प्रचण्डजीमै जान्छ । प्रचण्डजीले आफूलाई केन्द्रमा राखेर कांग्रेस जस्तो लचिलो पार्टी त मिलाउन सक्नु भएन भने यी सबै दलहरु कसरी मिल्लान ?’ उनले भने ।

नेता विश्वकर्माले प्रधानमन्त्री दाहाललाई गठबन्धन अड्याएर अघि बढ्न मुस्किल हुने दाबी गरे ।

कार्यक्रममा सत्तारुढ नेकपा (एमाले)का सांसद सूर्य थापाले संवैधानिक, कानुनी र राजनीतिक सबै हिसावले सत्तारुढ गठबन्धनको सरकार बनेको र यो सहज ढंगले अघि बढने दाबी गरे ।

‘यो गठबन्धन बन्नु स्वभाविक हो, बाध्यात्मक हो भन्ने मेरो मान्यता हो । सरकार बन्यो राजनीतिमा । राजनीतिमा असम्भव समिकरण बन्छ, अहिले बन्यो । तर, नेपालको संविधान बमोजिम भएको दोस्रो आवधिक निर्वाचनबाट आएको प्रतिनिधिसभाको संरचनामा हामीले चाहेर अथवा गठबन्धनले चाहेर यस्तो भएको होइन । कुरा पुरानो गठबन्धनले चाहेर यस्तो भएको होइन । संविधान अनुसार सात पार्टीको यो सरकार बनेको छ । जनताको बीचमा पुगेका सबै पार्टीहरु हुनुहुन्छ नेपाली काँग्रेस र राष्ट्रिय जनमोर्चाबाहेक सबै हुनुहुन्छ । राष्ट्रपतिको आह्वान भएबमोजिम देशले सरकार पाएको छ । यो संवैधानिक, कानुनी र राजनीतिक प्रक्रियाबाट गठबन्धन भएको छ’उनले भने ।

नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले आफूहरुले मिलेर सरकार चलाउने बताए । विगतमा फुट आए पनि अब मिलेर अघि बढ्ने गरी जनादेश आएकाले सोही अनुसार आफूहरु अघि बढनुपर्ने अवस्था रहेको बताए ।

‘हामी फुट्यौं, झगडा पनि गर्‍यौं । अ‍ब मिलेर जान्छौं । मिल्छौं । विगतको आत्मसमिक्षा गरेर अघि बढछौं’उनले भने ।


क्लिकमान्डु