काठमाडौंमा बालेनले थापेको धराप !



काठमाडौं । गत भदौं तथा असोजमा काठमाडौं महानगरपालिकाले नक्सा र मापदण्ड विपरित बनेका संरचनाहरु हटाउने अभियान चलाएको थियो । तर, त्यो बेला महानगरले भत्काएर असरल्ल छाडेका संरचनाहरु अहिले पनि उस्तै छन् ।

भत्काइएका संरचनाहरुको व्यवस्थापन हुन नसक्दा काठमाडौं महानगरभित्रका विभिन्न ठाउँमा यी संरचनाले दुर्घटना कुरिरहेका देखिन्छन् ।

महानगरपालिकाले केही महिनाअघि नै वीरअस्पताल अगाडि सटरहरुमा रहेका औषधि पसलहरुलाई हटाउन डोजर चलाएको थियो । महानगरले असोज ६ गते यो क्षेत्रमा रहेका अनधिकृत संरचना हटाउन सुरु गरेको थियो ।

अस्पतालको भवनको उत्तरतर्फ रहेका अनधिकृत संरचनाहरुमा डोजर चलाएको महानगरले त्यसपछि भने यी संरचनाहरलाई व्यवस्थापन नगरि छाडेको छ ।

वीर अस्पतालको उत्तरतर्फ अहिले आधा भत्किएका संरचनाहरु छन् । फलामे छडको सहारामा जसोतसो अडिएका संरचनाहरुले पैदलयात्री देखि अस्पताल परिसरमा आउने सर्वसाधारणहरुलाई समेत खतरा महसुस गराइरहेका छन् ।

रत्नपार्क तथा न्युरोड क्षेत्रमा काक्रा बेच्ने असिमा श्रेष्ठ महानगरले शहरलाई सुन्दर बनाउने भन्दै भत्काएका संरचनाहरुलाई व्यवस्थापन गर्न आवश्यक भएको बताउँछिन् ।

मंगलबार वीर अस्पताल परिसरमा भेटिएकी उनी भन्छिन्, ‘यो भत्काएर हिँड्न त सजिलो भएको छ । तर, यसरी लड्न लागेको भित्ता र भवन देख्दा हामीलाई नै डर हुन्छ । यसको व्यवस्थापन गर्नुपर्ने हो ।’

वीर अस्पतालको उत्तरतर्फ महानगरद्वारा भत्काइएको ‘आरफ फार्मेसी’को संरचनाको अवस्था अहिले दुर्घटना निम्त्याउने किसिमको छ । उक्त संरचनाको अघिल्तिरको भाग आधा भत्किएर खस्न लागेको अवस्थामा देखिन्छ ।

पैदलयात्रीले हिँड्दा पनि सो संरचनाबाट जोगिएर हिँड्नु पर्ने अवस्था छ । अस्पताल परिसरमा आउने सर्वसाधारणहरु आराम गर्न सोही संरचनाको मुन्तिर बसिरहेका देखिन्छन्, जसकारण दुर्घटना हुन सक्ने अवस्था देखिन्छ ।

अस्पताल परिसरमा भेटिएका सुरेश यादव महानगरको काम ठीक भएपछि त्यसलाई व्यवस्थापन गर्न नसक्दा खतरा भएको बताउँछन् । ‘यसरी हटाएर हिँड्ने मान्छेलाई सजिलो त बनाएको हो । तर, उनीहरुले यो भत्काएको सबै कुरा मिलाएनन् । नमिलाउँदा झर्ने खतरा भएको छ ’ उनी भन्छन् ।

वीर अस्पताल परिसरमा जस्तै अवस्था रत्नपार्क अघिल्तिर पनि छ । शहरको सौन्दर्यलाई बढाउने भन्दै महानगरले भत्काएको रत्नपार्कको संरचनाको पनि व्यवस्थापन हुन सकेको छैन । पैदलयात्रीले हिँड्ने फुटपाथ भरि नै भत्काइएको संरचनाका इट्टाहरु छरिएका छन् ।

यसअघि रत्नपार्क क्षेत्रमा ‘पाले घर’ रहेको उक्त संरचना महानगरले केही महिना अघि नै भत्काएको थियो । तर, भत्काएपछि त्यसलाई व्यवस्थापन नगर्दा अहिले इट्टादेखि पर्खालहरु खतरापूर्ण बनेका छन् भने पैदलयात्रीदेखि सर्वसाधारणकै निम्ति पनि दुर्घटना निम्त्याउन सक्ने देखिएका छन् ।

बागबजारमा कपडा पसल सञ्चालन गरिरहेका सोभित महर्जन महानगरका मेयर बालेन्द्र शाह(बालेन) ले हतारमा काम गरेर त्यसलाई दीर्घकालिन रुपमा लैजान नसकेको बताउँछन् ।

अनधिकृत संरचना भत्काउनु स्वागत योग्य कदम भए पनि त्यसलाई व्यवस्थापन गर्न नसक्नु र भत्काइएका संरचनाहरुलाई जीर्ण अवस्थामा छोडेर सर्वसाधारण र पैदलयात्रीका लागि थप असहज अवस्था सिर्जना गर्नु महानगरको लाचारीपन भएको उनी बताउँछन् ।

‘महानगरले यो भत्काउनु नराम्रो होइन । हिँड्ने मान्छेलाई सजिलो बनाउन खोज्नु ठिक हो,’ उनी भन्छन्, ‘तर, मेयरको पारा केटाकेटीको जस्तो भयो । हतारमा चलाएर त्यसलाई यत्तिकै छाड्नु ठीक होइन । यहाँ कुन दिन दुर्घटना हुन्छ भन्न नसक्ने अवस्था छ ।’

टुकुचा भेटियो, फुटपाथ हरायो

गत भदौं ३० मा हात्तिसारस्थित जय नेपाल हल परिसरमा डोजर चलाएर टुकुचा खोला भेट्टाएको महानगरले घोषणा गरिरहँदा महानगरका मेयर बालेन्द्र शाहको प्रशंसा भएको थियो । बालेनका समर्थकदेखि सर्वसाधारणले पनि उनको यो कदमको प्रशंसा गरेका थिए ।

बालेन नेतृत्वको महानगरले विभिन्न स्थानमा टुकुचालाई भूमिगत गर्न बनाइएको संरचना (सुरुङ) भत्काएर खाल्डो बनाएको थियो । तर, त्यसविरुद्ध अदालतमा मुद्दा पर्‍यो ।

अदालतले तत्काल नभत्काउन आदेश दियो भने पुरातत्व विभागले पनि भूमिगत सुरुङ नभत्काउन भन्यो । विभागले गरेको अध्ययनमा टुकुचाको भूमिगत सुरुङ पुरातात्विक सम्पदा भएको पुष्टि भएको र यसको संरक्षण गर्नुपर्ने बताएसँगै भत्काइएका संरचना जस्ताको तस्तै रहन गयो ।

विभागको अध्ययन समितिले नारायाणहिटीभन्दा बाहिरको जयनेपाल हलदेखि काठमाडौं प्लाजाम्म टुकुचा भूमिगत रुपमा बनाइएको सुरुङ सय वर्षभन्दाअघि नै बनेको निष्कर्ष निकालेको थियो ।

महानगरले टुकुचा खोला खोतल्नका लागि खनेको १० फिट गहिरा खाडल अहिले खतरा बनेका छन् । खोलाबाट आउने दुर्गन्धका साथसाथै मानिसहरुलाई हिँड्नसमेत जोखिम देखएको छ ।

जय नेपाल हल क्षेत्रमा टुकुचा खोला भेटिएपछि फुटपाथ भने बेपत्ता भएको छ । महानगरले डोजर चलाएर बनाएको खाल्डो क्षेत्रलाई वरिपरिबाट टिनका जस्ता पाताले घेरा हालिएको छ ।

सो क्षेत्रमा सर्वसाधारणले हिँड्नका लागि बनाइएको फुटपाथ भने अहिले भेट सकिदैँन । तारदेखि जस्ता पाताका कारण सर्वसाधारण व्यस्त सडकबाटै हिँड्न बाध्य भएका छन् ।

‘पैदलयात्री हिँड्ने ठाउँमा यस्तो बनाएपछि हामी कहाँबाट हिँड्ने?’, जय नेपाल क्षेत्रमा भेटिएका पैदलयात्री रामशरण दनुवारले भने, ‘मेयरको काम सस्तो लोकप्रियता पाउने मात्रै भयो । यसरी व्यवस्थापन नै नगरि काम गर्दा भोली हुने दुर्घटनाको जिम्मेवारी कसले लिन्छ?’

महानगरले शहरको सौन्दर्यमा बाधा पुग्नेभन्दै यस्ता संरचनाहरुमाथि रुपमा डोजर चलायो । तर, त्यसरी डोजर चलाएपछि भत्किएका संरचनाहरुलई व्यवस्थापन गर्न नसक्दा महानगरको कार्यले थप जोखिम र दुर्घटना निम्त्याएको छ भने महानगरकै शहरलाई सुन्दर बनाउने लक्ष्य विपरित शहरलाई थप कुरुप बनाएको देखिन्छ ।

सोमबार साँझ सामाजिक सञ्जालमा कुमार विनोद पौडेलले महानगरले गरेको काम तारिफ योग्य भए पनि भत्काइएका संरचनालाई भद्रगोल छाड्नु नहुने भन्दै पोस्ट गरेका थिए ।

रत्नपार्क क्षेत्रमा महानगरले भत्काएर भद्रगोल बनाएको संरचनाको तस्बिर राख्दै उनले लेखेका छन्, ‘महानगरपालिकाले महिनौं अघि यो संरचना भत्कायो । एकदम राम्रो काम गर्यो । तारिफ योग्य थियो यो काम । तर, के यसलाई यतिकै भद्रगोल छाड्ने हो? यसलाई व्यवस्थापन गर्ने जिम्मेवारी कसको हो?’

पैदलयात्रीदेखि सर्वसाधारणहरुले पनि महानगरको काम स्वागतयोग्य भए पनि त्यसमा भएको लापरबाहीको भने जिम्मेवारी लिनुपर्ने बताउँछन् । महानगरका मेयर बालेनले डोजर चलाएर भत्काएका संरचनाहरुको उचित व्यवस्थापन गरिनुपर्ने उनीहरुको भनाइ छ ।

महानगरका प्रवक्ता मानन्धर भन्छन्– अदालत गएर मुद्दा जित्नुस्, अनि काम गरौंला

महानगरपालिकाका प्रवक्ता नविन मानन्धर भने महानगरले भत्काएका संरचनाहरु अरु कसैको निजी सम्पत्ति भएकाले त्यसलाई महानगरले चलाउन नमिल्ने बताउँछन् ।

क्लिकमाण्डुले महानगरपालिकाले डोजर चलाएर भद्रगोल छाडेका संरचनाहरु व्यवस्थापन हुन नसकेको विषयमा प्रश्न गर्दा उनी त्यस्तो कतै नभएको दाबी गर्छन् ।

‘कहाँ छ त्यस्तो? तपाईंले भनेको जस्तो कहाँ छ?’ उनी भन्छन्, ‘निजी सम्पत्ति मा हामीले काम गर्न मिल्दैन् । तर, फुटपाथ नै नभएको अवस्था कहाँ छ?’

महानगरले व्यवस्थापन गर्नुपर्ने विषयलाई व्यवस्थापन गर्न नसकेको विषयमा महानगरपालिका भने खास चासो देखाएको छैन । महिनौंदेखि जय नेपाल हल क्षेत्रको फुटपाथलाई व्यवस्थित गर्न नसकेको महानगरपालिका यो विषयमा विस्तारै हेर्ने मुडमा छ । मानन्धर भन्छन्, ‘हामी हेरौंला नि । तपाईंलाई तुरुन्तै चाहिएको हो भने अदालतमा जानुस् न, अदालतमा मुद्दा हाल्नुस्, मुद्दा जित्नुस अनि काम गरौला नि हुन्न?’

तस्बिरहरु/भिडियो : विकास राई


युवराज भट्टराई