निर्जीवन बीमा कम्पनीको कुल लगानी ५४ अर्ब नाघ्यो, घरजग्गा र पूर्वाधार बैंकको मुद्दती निक्षेपमा शून्य



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासको अवधिमा निर्जीवन बीमा कम्पनीहरुको कुल लगानी ५४ अर्ब नाघेको छ ।

बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांअनुसार सञ्चालनमा रहेका १९ निर्जीवन बीमा कम्पनीहरुले तोकिएका विभिन्न क्षेत्रमा चालु आवको पहिलो त्रैमासमा ५४ अर्ब २० करोड १९ लाख रुपैयाँ लगानी गरेका हुन् ।

कुल लगानीको ८१.०६ प्रतिशत लगानी बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा केन्द्रित हुँदा घर जग्गा र नेपाल पूर्वाधार बैंकको मुद्दती निक्षेपमा कम्पनीहरूको लगानी शून्य देखिएको छ ।

१९ निर्जीवन बीमा कम्पनीहरुले कुल लगानीको ८१.०६ प्रतिशत अर्थात ४३ अर्ब ९३ करोड ४१ लाख रुपैयाँ लगानी नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र पाएका बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गरेका छन् ।

कम्पनीहरूले यस अवधिमा क वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ३७ अर्ब ३४ करोड ५९ लाख रूपैयाँ घ बर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ५ अर्ब ६४ करोड ४८ लाख रुपैयाँ र ग बर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ९४ करोड ३३ लाख रुपैयाँ लगानी गरेका हुन् ।

कम्पनीहरुले सूचीकृत पब्लिक कम्पनीको डिबेन्चरमा १ अर्ब ५६ करोड ३९ लाख रूपैयाँ, क, ख, ग वर्गको बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर र ऋणपत्र १ अर्ब ७३ करोड ४२ लाख रूपैयाँ, कृषि पर्यटन र जलस्रोत लगायतका पूर्वाधारमा ३० करोड ६९ लाख रुपैयाँ लगानी गरेका छन् ।

यस्तै, कम्पनीहरुले नेपाल सरकारको बचतपत्रमा २३ करोड ५३ लाख रुपैयाँ र म्युचुअल फण्ड तथा नागरिक लगानी कोषमा ५८ करोड २१ लाख रुपैयाँ लगानी गरेका छन् ।

कम्पनीहरुले सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा २ अर्ब ८० करोड २१ लाख लगानी गरेका छन् ।

समितिद्धारा जारी बीमकको लगानी निर्देशिका, २०७५ बमोजिम निर्जीवन बीमा कम्पनीहरुले घर जग्गामा बढीमा ५ प्रतिशत र नेपाल पूर्वाधार बैंकको मुद्दती निक्षेपमा न्यूनतम ४० प्रतिशतसम्म लगानी गर्न पाउनेछन् ।

कम्पनीहरूले क वर्गको बैंकको मुद्दती निक्षेपमा न्यूनतम ४० प्रतिशत, सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा बढीमा १० प्रतिशत, क, ख र ग बर्गको बैंक तथा वित्तीय संस्थाको सेयर र ऋणपत्रमा बढीमा २० प्रतिशत, सूचीकृत पब्लिक कम्पनीको सुरक्षित डिबेञ्चरमा बढिमा २० प्रतिशत लगानी गर्न सक्ने व्यव्स्था निर्देशिकाले गरिदिएको छ ।

यस्तै, उक्त निर्देशिकाअनुसार निर्जीवन बीमा कम्पनीहरुले कृषि, पर्यटन र जलश्रोत लगायतका पूर्वाधारमा बढिमा २० प्रतिशत, म्युचुअल फण्ड र नागरिक लगानी कोषमा बढिमा ५ प्रतिशत, ख बर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा बढिमा २० प्रतिशत र ग वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा बढिमा १० प्रतिशत लगानी गर्न सक्ने व्यवस्था छ ।


क्लिकमान्डु