१ हजार २०९ जना बीमा सर्भेयरको लाइसेन्स नवीकरण



काठमाडौं । बीमा समितिले आर्थिक वर्ष २०७९ का लागि नवीकरण भएका बीमा सर्भेयरहरूको विवरण सार्वजनिक गरेको छ । समितिकाअनुसार १ हजार २०९ जना बीमा सर्भेयरले लाइसेन्स नवीकरण गरेका छन् ।

समितिले कार्यानुभवका आधारमा बीमा सर्भेयरको लाइसेन्सलाई ४ भागमा विभाजन गरिदिएको छ ।

समितिकाअनुसार ‘क’ वर्गका ५० जना सर्भेयरको लाइसेन्स नवीकरण भएको छ । यस्तै ‘ख’ वर्गमा ५६ जना, ‘ग’ वर्गमा १३० जना र ‘घ’ वर्गमा ९७३ जना गरी १ हजार २०९ जना सर्भेयरको लाइसेन्स नवीकरण भएको समितिको तथ्यांक छ ।

समितिकाअनुसार बीमा सर्भेयरहरूलाई कार्य अनुभवका आधारमा ‘क’ ‘ख’ ‘ग’ र ‘घ’ वर्गीकरण गर्ने गरिन्छ ।

१५ वर्षभन्दा बढी अवधि नियमित रूपमा सर्भेयरको काम गरेका सर्भेयरलाई ‘क’ वर्ग, १० वर्षदेखि पन्ध्र वर्षसम्म नियमित रूपमा सर्भेयरको काम गरेका सर्भेयरलाई ‘ख’ वर्ग, ५ वर्षदेखि १० वर्षसम्म नियमित रूपमा सर्भेयरको काम गरेका सर्भेयरलाई ‘ग’ वर्ग र ५ वर्षसम्म नियमित रूपमा सर्भेयरको काम गरेका सर्भेयरलाई ‘घ’ वर्गमा वर्गीकरण गरिने व्यवस्था छ ।

सर्भेयरले आफ्नो इजाजतपत्र नवीकरण गराउनको लागि ऐनको दफा ३१ को उपदफा (१) बमोजिमको म्यादभित्र नवीकरण दस्तुर वापत ‘क’ वर्गको इजाजतपत्र भए १२ हजार रूपैयाँ ‘ख’ वर्गको इजाजतपत्र भए ९ हजार रूपैयाँ र ‘ग’ वर्गको इजाजतपत्र भए ७ हजार रूपैयाँ र ‘घ’ वर्गको इजाजतपत्र भए ५ हजार रूपैयाँसहित समितिको कार्यालयमा निवेदन दिनुपर्ने व्यवस्था छ ।

समितिबाट सर्भेयरको इजाजतपत्र पाएका सर्भेयरले प्रत्येक वर्ष आफ्नो लाइसेन्स नवीकरण गर्नुपर्ने व्यव्स्था छ । जसअनुसार सर्भेयरहरूले चैत मसान्तसम्म आफ्नो लाइसेन्स नवीकरण गरिसक्नु पर्ने हुन्छ ।

म्यादभित्र कुनै सर्भेयरले आफ्नो इजाजतपत्र नवीकरणको लागि निवेदन दिन नसकेको कारण खुलाई समितिको कार्यालयमा निवेदन दिएमा नवीकरणको म्याद नाघेको पहिलो दुई महिनासम्मको लागि ५ सय रूपैयाँ र त्यस पछिको ४ महिनासम्मको लागि प्रति दिन ५० रूपैयाँ थप दस्तूर लिई त्यस्तो इजाजतपत्र नवीकरण गरिदिन सक्नेछ । समय थप गरेका आधारमा समितिले असोज महिनासम्ममा लाइसेन्स नवीकरण गरिदिन्छ ।

बीमा गरिएको सम्पत्तीको क्षति भएमा सम्बन्धित बीमा कम्पनीले बीमितिलाई क्षतिपूर्ति प्रदान गर्नुपर्दछ । उक्त क्षतिको मूल्यांकन गर्न सक्ने व्यक्ति तथा संस्था नै सर्भेयर हो । सर्भेयरले पेश गरेको प्रतिवेदनको आधारमा बीमा कम्पनीहरुले बीमितलाई दाबी वापतको रकम भुक्तानी गर्दछ ।

बीमा सर्भेयर बन्नको लागि चार्टर्ड एकाउन्टेन्ट, इन्जिनियर, बीमा कम्पनीका अधिकृत स्तरमा कम्तीमा दश वर्ष भन्दा बढी काम गरेको वा बीमा सम्बन्धी विशेष अध्ययन गरेको हुनुपर्दछ । त्यस्ता व्यक्ति मात्रै बीमा समितिले संञ्चालन गर्ने सर्भेयरको तालिम लिएर लाइसेन्स लिन सक्नेछन् ।


क्लिकमान्डु