कोरोना बीमाको १ अर्ब ८१ करोड रूपैयाँ भुक्तानी गर्दै बीमा समिति



काठमाडौं । बीमा समितिले कोरोना बीमाको दाबी भुक्तानी गर्न बाँकी रहेको रकम मध्ये १ अर्ब ८१ करोड रूपैयाँ तत्काल भुक्तानी गर्ने तयारी गरेको छ ।

सरकारले कोरोना बीमाको दाबी भुक्तानीको लागि १ अर्ब रूपैयाँ निकासा गरेको थियो । जसमा ८१ करोड रूपैयाँ थप गरी कुल १ अर्ब ८१ करोड रूपैयाँ भुक्तानी गर्ने तयारी समितिले गरेको हो ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले सरकारले निकासा गरेको १ अर्ब रूपैयाँमा बीमा कम्पनी, बीमा समिति र पुनर्बीमा कम्पनीले ८१ करोड रूपैयाँ थप गरी कुल १ अर्ब ८१ करोड रूपैयाँ भुक्तानी दिने तयारी गरेको बताए ।

तर, रकम वितरण गर्नमा भने अर्थमन्त्रालयको स्वीकृति आवश्यक रहेको उनको भनाइ छ । अर्थमन्त्रालयको स्वीकृतिपछि मात्रै भुक्तानी गरिने उनले बताए ।

सरकारले आफ्नो दायित्वमा परेको रकम निकासा नगरेको भन्दै कम्पनीहरूले भुक्तानी प्रक्रिया रोकेका थिए । कम्पनीहरूले भुक्तानी रोकेको ५ महिना पछि सरकारले भुक्तानी कसरी गर्ने भन्ने विषयमा छलफल चलाएको थियो । छलफलमा अर्थमन्त्री जर्नादन शर्माले कसरी भुक्तानी गर्न सकिन्छ भनेर बीमा समितिसँग विकल्पसहितका सुझाव माग गरेका थिए ।

अर्थमन्त्रालयको निर्देशनबमोेजिम समितिले २०७८ भदौं २५ गते विकल्पसहितका सुझावहरू बुझाएको थियो ।
समितिले अर्थमन्त्रालयलाई २ वटा विकल्प पेश गरेको थियो । सरकारबाट एक अर्ब रूपैयाँ प्राप्त भएपछि विकल्प नम्बर २ का आधारमा उक्त रकम भुक्तानी गर्न लागिएको समितिको भनाइ छ ।

विकल्प २ मा भने कुल भुक्तानी हुन बाँकी रकम ११ अर्ब ४३ करोड ९६ लाख ६३ हजार ८९२ रूपैयाँलाई ४ भागमा बाँडफाँड गर्ने रहेको थियो ।

जसमा नेपाल सरकार ५५ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनी १२ प्रतिशत(कुल प्रिमियको २० प्रतिशत प्रत्यक्ष हिस्साको पुनर्बीमा गरिएको हुँदा), बीमा कम्पनीहरूले २५ प्रतिशत (सबै निर्जीवन बीमा कम्पनीहरूले समानुपातिक रूपमा भुक्तानी गर्नुपर्ने र बीमा समितिले ८ प्रतिशत (अर्थमन्त्रालयको निर्देशक बमोजिम समितिको कोषबाट व्यहोर्ने) थियो ।

सोही आधारमा सरकारले दिएको १ अर्ब रूपैयाँलाई ५५ प्रतिशत मानि नेपाल पुनर्बीमा कम्पनीबाट १२ प्रतिशत, बीमा कम्पनीबाट २५ प्रतिशत र बीमा समितिबाट ८ प्रतिशत रकम भुक्तानी गर्न लागिएको हो ।

‘तत्कालका लागि सरकारले निकासा गरेको १ अर्ब रूपैयाँमा ८१ करोड रूपैयाँ थप गरी १ अर्ब ८१ करोड रूपैयाँ भुक्तानी गर्ने तयारी गरेका छौं,’ पौडेलले क्लिकमाण्डूसँग भने, ‘अर्थमन्त्रलायको स्वीकृतिपछि मात्रै भुक्तानी हुनेछ।’

समितिले पीसीआर टेस्टको मितिअनुसार पुरानोलाई प्राथमिकता दिएर रकम दिने योजना बनाएको उनले बताए ।
बीमा समितिकाअनुसार २० वटा निर्जीवन बीमा कम्पनीमा १७ लाख ५८ हजार ३४३ जनाले उक्त बीमालेख खरिद गरेका थिए । जसमध्ये लाख ६५ हजार ५९ जना बीमितको दाबी परेको समितिको तथ्यांक छ ।

सो संख्या बराबर बीमा कम्पनीमा १५ अर्ब ४२ करोड २३ लाख रूपैयाँको दाबी परेको छ ।

जसमध्ये हालसम्म २० निर्जीवन बीमा कम्पनीबाट ५१ हजार ६६९ बीमितलाई ४ अर्ब ९८ करोड १४ लाख ८८ हजार २३५ रूपैयाँ बराबरको दावी भुक्तानी भएको हो । जुन कुल दाबी भुक्तानी संख्याको ३१.३० प्रतिशत हो भने कुल दाबी रकमको ३१.४८ प्रतिशतमात्रै भुक्तानी भएको हो ।

सरकारले भुक्तानी गर्न बाँकी रकम १० अर्ब ८४ करोड ६ लाख ८३ हजार ३१९ रूपैयाँ र अनुदान रकम २ करोड ३ लाख ६४ हजार ११६ रूपैयाँ समेत गरी १२ अर्ब ३८ करोड २५ लाख ३५ हजार ६७० रूपैयाँ दिन बाँकी छ ।
कोरोना बीमा मापदण्डमा १ अर्ब रूपैयाँसम्म बीमकले र १ अर्ब रूपैयाँदेखि २ अर्ब रूपैयाँसम्म पुनर्बीमा कम्पनीले बेहोर्ने उल्लेख छ ।

साथै, २ अर्ब रूपैयाँदेखि २ अर्ब ५० करोड रूपैयाँसम्म बीमकको महाविपत्ति पुलमार्फत् र २ अर्ब ५० करोड रूपैयाँभन्दा माथि ३ अर्ब ५० करोड रूपैयाँसम्म बीमा समितिले बेहोर्ने उल्लेख छ ।

मापदण्डअनुसार बीमा कम्पनी, बीमा समिति, पुनर्बीमा कम्पनीले दायित्व बहन गरिसकेका छन् ।


क्लिकमान्डु