आयोगलाई बोर्डको जवाफः आचारसंहिता उल्लंघन गरेको छैन, लाइसेन्स रोकिँदैन



काठमाडौं । नेपाल धितोपत्र बोर्डले निर्वाचान आयोगलाई आफूले निर्वाचन आचार संहिता उल्लंघन नगरेको र लाइसेन्स बाँडने क्रम पनि नरोक्ने जवाफ पठाएको छ ।

निर्वाचन आचारसंहिता लागेको समयमा नयाँ स्टक एक्सचेञ्ज, सेयर ब्रोकर, कमोडिटी एक्सचेञ्ज, ब्रोकर शाखा, विशिष्टीकृत लगानी कोष व्यवस्थापक, क्रेडिट रेटिङ कम्पनीलाई लाईसेन्स दिन थालेपछि निर्वाचन आयोगले धितोपत्र बोर्डलाई स्पष्टीकरण सोधेको थियो ।

बोर्डले नयाँ स्टक एक्सचेञ्ज, सेयर ब्रोकर, कमोडिटी एक्सचेञ्ज, ब्रोकर शाखा, विशिष्टीकृत लगानी कोष व्यवस्थापक, क्रेडिट रेटिङ कम्पनीलाई लाइसेन्स दिन निर्वाचन आचार संहिताले नरोक्ने प्रष्ट पारेको छ ।

बोर्डले आयोगलाई सोमबार पठाएको जवाफमा लाइसेन्स दिन निर्वाचन आयोगको आचार संहिताले नरोक्ने दाबी छ ।
‘हामीले सोमबार नै आयोगलाई स्पष्टीकरणको जवाफ पठाइसकेका छौं’ बोर्डका एक अधिकारीले भने ‘हामीले पठाएको जवाफमा नयाँ लाइसेन्स दिन आचारसंहिताले रोक्दैन भनेर भनेका छौं ।’

उनकाअनुसार बोर्डले आयोगले आचारसंहिता लागू भन्दा पहिला नै सूचना प्रकाशित गरेकाले गर्दा कुनै असर नपर्ने उल्लेख गरेको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा पुँजी बजारलाई प्रतिस्पर्धी बनाउने, बस्तु विनियम बजार सञ्चालन गर्ने भनेको र बोर्ड नीति तथा कार्यक्रममा पनि उक्त कुरा उल्लेख भएका कारण यो विषयलाई आचार संहिताले नरोक्ने आयोगलाई पठाएको पत्रमा उल्लेख छ ।

बोर्डले जवाफमा सबै काम आफ्नो नीति तथा कार्यक्रममा समावेश भएको र सोही अनुसार गरेकाले आचारसंहिता उंल्लघन नभएको उल्लेख छ ।

यसअघि आयोगमा बोर्डले विभिन्न कम्पनीलाई निर्वाचनको समयमा लाइसेन्स दिन लागेको भन्दै उजुरी परेको थियो ।
उक्त उजुरीका आधारमा आयोगले गत शुक्रबार सेबोनसँग स्पष्टीकरण माग गरेको थियो ।

आयोगले सेबोनलाई पठाएको पत्रमा ‘निर्वाचन आचारसंहिता लागू भएको अवस्थामा लाइसेन्स वितरण गर्ने सम्बन्धमा कुनै प्रक्रिया अगाडि बढेको छ, छैन ?’ स्पष्ट पार्न भनेको छ ।

निर्वाचन आचारसंहिता २०७९ को दफा ५ मा बार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका अन्य कार्यक्रम गर्न वा नयाँ नीति योजना वा कार्यक्रमको घोषणा गर्न, स्वीकृत गर्न वा सञ्चालन गर्न नहुने व्यवस्था छ ।

आयोगले असोज १२ गतेदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ । नेपाल धितोपत्र बोर्डले गत असोज २ गते स्टक ब्रोकरका लागि ३० दिन र नयाँ स्टक एक्सचेञ्ज तथा कमोडिटी एक्सचेञ्जको लाइसेन्स वितरण गर्न ४५ दिनको सूचना प्रकाशित गरेको थियो । नयाँ ब्रोकरका लागि ४५ वटा कम्पनीले आवेदन दिएका छन् भने स्टक र कमोडिटी बजारका लागि आवेदन दिने समय कात्तिक १५ गतेसम्म रहेको छ ।

यी विषयमा आयोगले अर्थ मन्त्रालयलाई पनि स्पष्टिकरण सोधेको थियो । मन्त्रालयले लाईसेन्स दिने काम आफ्नो नभएको र नियामक निकायले दिने भन्दै जवाफ पनि नियामकले दिने भन्दै पन्छेको थियो ।


क्लिकमान्डु