एनसीसी बैंकको लाभांशः बोनस अहिलेसम्मकै कम, कुन वर्ष कति दियो ?



काठमाडौं । कुनै सूचीकृत कम्पनीले लाभांश घोषणा गरेलगत्तै अधिकांश नेपाली लगानीकर्ता त्यो कम्पनीले कति बोनस सेयर दियो भन्नेतर्फ ध्यान दिन्छन् ।

नेपालका लगानीकर्ताको मनोविज्ञान नगद लाभांशमा भन्दा बढी बोनस सेयर केन्द्रित छ । जुन कम्पनीले बढी बोनस दिन्छ लगानीकर्ताको ध्यान केही समय भएपनि त्यता बढी जाने गरेको छ ।

आर्थिक वर्ष २०७८/०७९ मुनाफाबाट आइतबार लाभांश घोषणा गरेको एनसीसी बैंकले इतिहासमा नै पहिलो पटक थोरै बोनस सेयर दिने प्रस्ताव गरेको छ ।

कुमारी बैंकसँग मर्जरमा जान लागेको बैंकले गत आवमा मुनाफाबाट सेयरधनीलाई १०.९९ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा ३.३६ प्रतिशत बोनस र ७.६३ प्रतिशत नगद लाभाश रहेको छ । बैंकले प्रस्ताव गरेको लाभांश मध्ये विगत ५ वर्षको इतिहास हेर्दा सबैभन्दा थोरै बोनस दिएको छ ।

५ वर्षको लाभांश इतिहासलाई हेर्दा गत आवमा अघिल्लो आवको भन्दा बढी नै रहेको छ । तर बोनस तर्फ हेर्दा नै अहिलेसम्मकै सबैभन्दा थोरै बोनस हो ।

बैंकले दिएको लाभांश हेर्दा आर्थिक वर्ष २०७४/०७५ मा १६.७२ प्रतिशत लाभांश दिएको थियो । जसमा बोनस १५.८९ प्रतिशत र नगद ०.८३ प्रतिशत रहेको छ ।

५ वर्षको लाभांश इतिहास हेर्ने हो भने यो नै सबैभन्दा बढी हो । अन्य वर्षमा भने यो भन्दा पनि कम लाभांश दिएको छ ।
यस्तै आव २०७५/०७६ मा १५.७९ प्रतिशत लाभांश दिएकामा १५ प्रतिशत बोनस र ०.७९ प्रतिशत नगद लाभांश रहेको थियो ।
यस्तै आर्थिक वर्ष २०७६/०७७ मा १०.८१ प्रतिशत लाभांश दिएको थियो । जसमा बोनस १०.२७ र नगद लाभांश ०.५४ प्रतिशत दिएको थियो ।

यस्तै सबैभन्दा थोरै आव २०७७/०७८ मा ८.४२ प्रतिशत लाभांश दिएको थियो । उक्त आवमा बोनस ८ र नगद ०.४२ प्रतिशत दिएको थियो ।

आव २०७८/०७९ को मुनाफाबाट ३.३६ प्रतिशत बोनस र ७.६३ प्रतिशत नगद लाभाश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी आवको साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

एनसीसी बैंकले सेयरधनीलाई दिने लाभांश सायद यो नै अन्तिम पनि हुनसक्छ । किनभने एनसीसी कुमारी बैंकसँग मर्जरमा जाने भएको छ । १ बराबर १ अनुपात स्वाप रेसियोमा बैंक मर्जरमा जान लागेको हो । त्यसका लागि असोज १० गते दुई बैकबीच प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ ।

मर्जरमा जाने भएपछि राष्ट्र बैंकले सैद्दान्तिक स्वीकृति समेत दिइसकेको छ । दुई बैंक गाभिएर कुमारी बैंकको नाममा सञ्चालन हुनेछन् ।चुक्ता पुँजी २५ अर्ब ८५ करोड रुपैयाँ र कुल पुँजी ३७ अर्ब ६५ करोड रुपैयाँ हुनेछ।

मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल हुने छन् भने कुमारीका रामचन्द्र खनाल बरिष्ठ डेपुटी सीइओ हुनेछन्।


क्लिकमान्डु