शिलान्यास भएको २ वर्षपछि सुनकोसी मरीन डाइभर्सनको सुरुङ खन्न थालियो



काठमाडौं । सिन्धुलीस्थित सुनकोसी मरीन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्ने काम सुरु भएको छ । अटोमेटिक टनेल बोरिङ मेसिन (टीबीएम) प्रविधिबाट आजदेखि सुरुङ खन्न सुरु गरिएको हो ।

शुक्रबार उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले आयोजना अन्तर्गतको सुरुङ खन्ने कामको सुरुवात भएको जानकारी गराएकी छिन् । उनले आज नै त्यसको अनुगमन तथा निरिक्षण समेत गरेकी छिन् ।

ठेकेदार कम्पनी चाइना ओभरसिज कन्स्ट्रक्सन कम्पनीले मरिनखोलाबाट सुरुङ खन्न थालिएको छ । आयोजनाको सुरुङ २४ महिनाभित्रैमा खनिसक्ने बताइएको छ ।

आयोजनाको शिलान्यास तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ मा गरेका थिए । आयोजनाले धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा सिँचाई पुर्याउने विश्वास गरिएको छ । आयोजनाले यी क्षेत्रका करिब १ लाख २२ हजार हेक्टर जमिनमा वर्षभरि सिँचाई सुविधा उपलब्ध गराउने जनाएको छ । यस्तै आयोजनाबाट ३१.७ मेगावाट बिजुली उत्पादन हुने छ ।

आयोजनाको सुरुङ निर्माणका लागि करिब साढे १० अर्बको ठेक्का लगाइएको थियो । २०७६ माघ ६ गतेको मन्त्रिपरिषद्ले आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा सूचिकृत गरिएको थियो ।

सुनकोसी मरीन डाइभर्सजनका लागि सिन्धुलीको खुर्कोटमा हेडवर्क निर्माण गरिनेछ । १३.२ किमि सुरुङमार्फत् ६७ क्युविकमिटर सेकेण्डले सुनकोशी नदिको पानी मरिन नदीको किनारमा पुर्याउने आयोजनामा उल्लेख छ । खुर्कोटबाट सुरु भएको सुरुङमार्फत् मरिन नदीको किनारमा ल्याइने पानीलाई सिन्धुलीको कमलामाई नगरपालिका–२, कुसुमटारमा रहेको मरिन नदीको किनारमा रहेको ६४ मिटर अग्लो हेडमा खन्याइने गुरुयोजनामा उल्लेख छ ।

सुरुङमार्फत ल्याइने पानीबाट ३२.७ मेगावाट विद्युत उत्पादन गर्ने र निस्किने पानीलाई मरिन नदी हुँदै बागमतीमा बिसर्जन गरिने बताइएको छ । उत्पादन हुने विद्युतलाई ४२ किलोमिटर प्रसारण लाइन निर्माण गरेर त्यसमार्फत नवलपुरमा जोडिने गुरुयोजनामा उल्लेख गरिएको छ ।

आयोजनालाई आर्थिक वर्ष २०७७/०७८ मा सुरुवात गरेर २०८२/०८३ मा पुरा गर्ने सरकारले लक्ष्य लिएको थियो । तर, तोकिएको समयभन्दा ढिलो आयोजनाको सुरुवात भएका कारण तोकिएको समयमा पुरा हुने नहुने भन्नेमा पनि शंका उत्पन्न भएको छ ।


क्लिकमान्डु