मर्जरमा जाने संस्थाको कारोबार रोक्का, फुकुवा सेबोनले गरेको व्यवस्था बमोजिम हुन्छः राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली–२०७३ लाई पाँचौ संशोधन गरेको छ ।

केन्द्रीय बैंकले उक्त विनियमावली संशोधन गर्दै गाभ्ने गाभिने तथा प्राप्ति प्रयोजनका लागि सेयर कारोवारको रोक्का तथा फुकुवा नेपाल धितोपत्र बोर्डले गरेको व्यवस्था बमोजिम हुने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा नै सेयर कारोवारको रोक्का तथा फुकुवा नेपाल धितोपत्र बोर्डले गरेको व्यवस्था बमोजिम हुने व्यवस्था गरेको थियो । सोही व्यवस्था बमोजिम नै केन्द्रीय बैंकले उक्त विनियमावली संशोधन गरेको जनाएको छ ।
राष्ट्र बैंकले संशोधन गरेको विनियमावलीमा केही नयाँ व्यवस्था थप गरेको छ भने केही पुराना व्यवस्था हटाएको छ ।

राष्ट्र बैंकले गाभ्ने/गाभिने वा प्राप्ति (एक्विजिशन) का कारण संस्थाको कर्जा निक्षेप अनुपात (सिडी रेसियो) तोकिएको सीमाभन्दा माथि गएमा राष्ट्र बैङ्कको निर्देशन बमोजिम हुने गरी गाभिएको वा प्राप्ति (एक्विजिशन) कार्य सम्पन्न भएको बढीमा दुई वर्षभित्र तोकिएकोसीमाभित्र ल्याउने व्यवस्था गरेको छ ।

यसअघि गाभिंदा वा प्राप्ति (एक्विजिशन) का कारण संस्थाको स्रोत परिचालन (स्वदेशी निक्षेप तथा प्राथमिक पूँजी) मा कुल स्वदेशी कर्जा सापटको अंश तोकिएको प्रतिशत नाघ्न गएमा राष्ट्र बैङ्कको निर्देशन बमोजिम हुने गरी गाभिएको वा प्राप्ति (एक्विजिशन) कार्य सम्पन्न भएको बढीमा दुई वर्षभित्र ८० प्रतिशतको सीमाभित्र ल्याउने व्यवस्था रहेको थियो । नयाँ व्यवस्थाले ८० प्रतिशतको सिमा घटाएको छ ।

यस्तै नयाँ व्यवस्थामा स्वीकृत पश्चातका कार्य तथा शर्तहरुमा रहेको केही व्यवस्था हटाइएको छ । यसअघि गाभ्ने गाभिने वा प्राप्ति (एक्विजिशन) कार्य सम्पन्न भए पश्चात् रोक्का रहेको सेयर कारोबारलाई आवश्यक प्रक्रियाबाट फुकुवा गर्ने व्यवस्था मिलाउनु पर्नेछ, यद्यपि सम्बन्धित संस्थाहरु सहमत भएको अवस्थामा गाभ्ने गाभिने वा प्राप्ति (एक्विजिशन) को अन्तिम स्वीकृतिको निवेदन पेश गरे पश्चात् रोक्का रहेको सेयर कारोबार फुकुवा गर्न सकिने व्यवस्था रहेको थियो । केन्द्रीय बैंकले यो व्यवस्था हटाएको छ ।


क्लिकमान्डु