सहकारी संस्थाको सन्दर्भ ब्याज नबढाए आन्दोलन गर्ने चेतावनी



काठमाडौ । सहकारी संस्थाको सन्दर्भ ब्याजदर नबढे आन्दोलन गर्ने सहकारी अभियन्ताहरुले चेतावनी दिएका छन् ।

सहकारी नियमावली-२०७५ अनुसार ब्याज १६ प्रतिशतभन्दा बढ्न नमिल्ने र ब्याजदर बढाउने हो भने नियमावली संशोधन गर्नुपर्ने हो । तर सहकारी अभियानमा रहेकाहरुले नै सन्दर्भ ब्याजदर नबढे आन्दोलनमा जाने बताउन थालेका छन् ।

नेपाल बचत तथा ऋण केन्द्रीय संघ नेपालका अध्यक्ष परितोष पौडेलले समयअनुसार ब्याजदर सम्बोधन नभए १६ प्रतिशत उल्लंघन हुने स्थिति आउने बताए । ‘सन्दर्भ ब्याजदर संशोधन नभए यसलाई अवज्ञा गरेर आन्दोन गर्ने छौं,’ उनले भने, ‘कानुन टेकेर जाने हो भने १६ प्रतिशतभन्दा बढी जाँदैन, तर अहिलेको अवस्थामा यो कतिको उपयोगी छ ।’

पौडेलले नियमावलीमा गलत व्यवस्था भएको भन्दै ब्याजदर निर्धारण गर्ने काम सस्थालाई नै छोड्न आग्रह गरे । सहकारी ऐन २०७४ प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा समस्या भएको उनको भनाइ छ ।

सहकारी पत्राकार समाजले आयोजना गरेको सन्दर्भ ब्याजदर बिषयक छलफल कार्यक्रममा उनले मन्त्रालयले अहिले हात्ती नदेखेर पुच्छर मात्रै देखेको बताए । नियमावलीमा लचक ढंगले छलफल आवश्यक रहेको उनको भनाइ थियो । तीन महिनामा बैठक बसौं भन्दा रजिष्ट्रासले नमानेको र ब्याजदर निर्धारण गर्न समस्या भएको उनको भनाइ थियो ।

कार्यक्रममा सहकारी विभागका उप-रजिस्ट्रार टोलराज उपाध्यायले ऐनमा भएका प्रावधानलाई टेकेर राज्य चल्ने बताए । ऐन पालना नगरे कानुन अनुसार कारबाही गर्ने उनको भनाइ थियो ।

सन्दर्भ ब्याजदरका लागि टालटुले नीति लिनु भन्दा स्वचालित नीति अबलम्बन गर्न उनले सुझाव दिए । बजारमा पैसा अभाव भएपछि सन्दर्भ ब्याजदरका बिषयमा छलफल सुरु भएको उनले स्मरण गराए ।

सबै आकर्षित हुने गरि ब्याज निर्धारण हुन आवश्यक रहेको उनको भनाइ छ । कमजोर वर्गको हित हुनेगरि राज्य चल्नु पर्ने र सोहीअनुसार ब्याजदर निर्धारण हुनुपर्ने उनले बताए ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले रजिष्ट्रारले नचाहेर सन्दर्भ ब्याजदर निर्धारण समितिको बैठक बस्न नसकेको दाबी गरिन् ।

नेपालमा रजिस्ट्रारलाई नमस्कार गरेको भरमा सहकारी दर्ता हुँदा समस्या भएको र त्यसको अनुगमन हुन नसकेको उनको आरोप थियो ।

सहकारीको समस्याका बारेमा छलफल गर्न खोज्दा मन्त्री र रजिष्ट्रारले समय नदिएको भन्दै उनले आक्रोश पोखिन् ।

केही सहकारीले १६ प्रतिशतभन्दा बढी ब्याज लिएको भन्दै त्यस्ता सहकारीलाई महासंघले केही गर्न नसक्ने उनको भनाइ थियो । नेपालमा सहकारीको संख्या बढी भएकाले घटाउन आवश्यक रहेको उनको भनाइ थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सन्चालक ज्ञानबहादुर तामाङले अहिलेको अवस्थामा सन्दर्भ ब्याजदर २० प्रतिशत हुनुपर्ने बताए । अहिलेको अवस्थामा सहकारी चल्न सक्ने अवस्थामा नरहेको उनको भनाइ थियो । उनले सहकारी अभियान र नियामक सँगै हुन नसकेको बताए ।


क्लिकमान्डु