कोरोनाले चम्कायो मोबाइलको व्यापार, ७ कम्पनीले गरे साढे २८ अर्बको कारोबार



काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको समयमा मोबाइल बिक्री गर्ने कम्पनीहरुको व्यापारमा उछाल आएको छ । महामारी फैलिएपछि नियन्त्रण तथा रोकथामका लागि नेपाल सरकारले विभिन्न चरणमा लकडाउन र निषेधाज्ञा जारी गरेको थियो ।

सरकारले २०७६ साल चैतबाट २०७७ साल असारसम्म लकडाउन गरेको थियो । त्यसपछि केही खुकुलो गर्दै निषेधाज्ञा जारी गरिएको थियो ।

लकडाउन र निषेधाज्ञाका कारण अस्तव्यस्त भएको अवस्थामा अधिकांश कामहरू तथा पठनपाठन भर्चुअल माध्यमार्फत् भएको थियो । जसले गर्दा मोबाइल तथा ल्यापटपको व्यापारमा उछाल आएको थियो ।

कोरोना महामारीको समयमा भर्चुअल माध्यमबाट पठनपाठन र अधिकांश कार्यालयहरूले आफ्नो कर्मचारीमाथिको संक्रमण जोखिम कम गर्न ‘वर्क फ्रम होम’को वातावरण मिलाएका थिए ।

जसका कारण सो अवधिमा मोबाइल तथा ल्यापटपको व्यापार उच्च भएको व्यवसायीहरूले बताएका थिए । त्यस्तै, कोरोना महामारीकै समयमा विभिन्न ब्रान्डको मोबाइल आयात गरी बजारमा बिक्री वितरणको काम गर्दै आएको मोबाइल कम्पनीहरूको व्यापारमा उछाल आएको तथ्याङ्कले देखाउँछ ।

बजारमा दर्जनको हाराहारीमा मोबाइल आयातकर्ता छन् । उनीहरूले विभिन्न देशबाट मोबाइल आयात गरी नेपाली बजारमा आपूर्ति गर्दै आएका छन् ।

आर्थिक वर्ष २०७७/७८ मा नेपालमा कोरोना महामारीको उच्च असर थियो । बजार व्यवसाय ठप्प जस्तै थियो । तर, सोही अवधिमा विभिन्न ब्रान्डका मोबाइल आयात गरी बजारमा बिक्री वितरण गर्दै आएका ७ कम्पनीले उच्च व्यापार गरेका छन् ।

तथ्याङ्कअनुसार आव २०७७/७८ मा देशभरका ७ वटा मोबाइल कम्पनीले २८ अर्ब ६१ करोड ६० लाख रुपैयाँको व्यापार गरेका छन् ।

कोरोनाको समय भए पनि सो अवधिमा अनलाइन क्लास र वर्क फ्रम होमका कारण मोबाइलको व्यापार उच्च भएको कम्पनीहरूले बताएका छन् ।

सन् २०२१ मा महालक्ष्मी मोबाइल प्रालि, वत्सल एपेक्स लिमिटेड, इन्टिग्रेटेड मोबिलिटी सोलुशन प्रालि, एपेक्स मनकामना प्रालि, टेली टक प्रालि, टेली डाइरेक्ट प्रालि र अम्बे मोबाइलफोन प्रालि कम्पनीको व्यापारमा उछाल आएको हो ।

कुन कम्पनीले कति गरे व्यापार ?

महालक्ष्मी मोबाइल प्रालिः नेपाली बजारमा आइटेल र टेक्नो ब्रान्डमा मोबाइलफोन बिक्री वितरण गर्दै आएको महालक्ष्मी मोबाइल प्रालिले सन् २०२१ मा २ अर्ब ४ करोड ९० लाख रुपैयाँ (अपरिष्कृत) को व्यापार गरेको छ ।

कम्पनीले कोरोनाकै अवधिमा उच्च व्यापार गरेको देखिन्छ । कम्पनीले सन् २०२० मा ४८ करोड ९० लाख रुपैयाँ, सन् २०१९ मा ६३ करोड २० लाख रुपैयाँ र सन् २०१८ मा १ अर्ब १९ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले कोरोनाको समयमा सामान्य अवस्थाको तुलनाभन्दा तेब्बरले व्यापार गरेको छ । कम्पनीले चीनमा उत्पादन भएको मोबाइल आयात गरी बजारमा बिक्री वितरण गर्दै आएको छ ।

प्रकाशबहादुर स्वारको पूर्ण स्वामित्व रहेको कम्पनीको देशभर ६१ वटा खुद्रा पसल/सब–डिलर छन् ।

कम्पनीअनुसार पछिल्लो समय नेपालमा मोबाइल फोन प्रयोगकर्ता तीब्र बढ्दै गएकाले कम्पनीको व्यापार उच्च हुन थालेको हो । त्यस्तै, सन् २०२१ मा कोरोनाले लकडाउन हुँदा देशभरको शिक्षण प्रणाली अनलाइनमार्फत् र काम पनि घरबाट भएकाले मोबाइलको माग बढी हुँदा व्यापार पनि सकारात्मक रहेको कम्पनीको भनाइ छ ।

वत्सल एपेक्स प्रालिः नेपालको लागि सावमी ब्रान्ड मोबाइलको आधिकारिक विक्रेता वत्सल एपेक्स प्रालिले सन् २०२१ मा ५ अर्ब ४४ करोड १० लाख (अपरिष्कृत) रुपैयाँको व्यापार गरेको छ ।

कम्पनीले सन् २०२० मा २ अर्ब १३ करोड रुपैयाँ, सन् २०१९ मा १ अर्ब १६ करोड ५० लाख रुपैयाँ, सन् २०१८ मा १ अर्ब ७ करोड ३० लाख रुपैयाँ र सन् २०१७ मा ७१ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनी इज्भीज सामग्री, टिकवाच र फीटबीट सामग्रीको पनि आधिकारिक विक्रेता हो ।

देशभर १६ वटा डिलर र ९० वटाभन्दा बढी खुद्रा पसल रहेको कम्पनी शारदा ग्रुपद्वारा सञ्चालित कम्पनीको हो ।

विनितकुमार शारदा र नितेशकुमार मुङ्गडाको ५०/५० हिस्सा रहेको कम्पनीले सन् २०२१ मा मात्रै ६.२ प्रतिशतले नाफा कमाएको छ ।

कम्पनीले इज्भीज डिलरसिपमार्फत् पोको ब्रान्डको फोन र टिकवाचको बिक्री वितरण गर्दै आएको छ । सन् २०२१ मा कम्पनीले उक्त पोको ब्रान्डको फोनबाट मात्रै २१ प्रतिशत आम्दानी गरेको छ । त्यसैगरी, रेड्मी स्मार्टफोनबाट ७७ प्रतिशत आम्दानी भएको कम्पनीले जनाएको छ ।

कम्पनीले सन् २०१२ देखि भिडियोकन र पर्पल ब्रान्डमा मोबाइलफोन बिक्री गर्दै आएको थियो । त्यसपछि सन् २०१६ मा सावमी ब्रान्डको मोबाइल बिक्री गर्नका लागि सम्झौता गरेको थियो ।

आईएमएस प्रालिः सामसुङ ब्रान्डको मोबाइल बिक्री गर्दै आएको इन्टिग्रेटेड मोबिलिटी सोलुसन प्रालि (आईएमएस प्रालि)ले एक वर्षमा साढे ८ अर्बको कारोबार गरेको छ ।

विभिन्न देशबाट मोबाइल आयात गरी बिक्री वितरण गर्दै आएको कम्पनीले सन् २०२१ मा ८ अर्ब ३८ करोड ८० लाख रुपैयाँको कारोबार गरेको हो ।

कम्पनीको कारोबार कोरोनाका कारण लकडाउन भएपछि सन् २०२० मा ह्वात्तै घटेको थियो । सो वर्ष कम्पनीले ५ अर्ब ८३ करोड ८० लाख रुपैयाँको मात्रै कारोबार गरेको थियो ।

कम्पनीअनुसार सन् २०१९ मा ८ अर्ब ३३ करोड रुपैयाँको कारोबार गरेको थियो ।

सामसुङ मोबाइलका लागि नेपालको आधिकारिक बिक्रेतासमेत आईएमएसले सन् २००१ बाट सामसुङ मोबाइल, ट्याब आयात गरी बिक्री वितरण गर्दै आएको छ ।

दीपक मल्होत्राको ५१ प्रतिशत र ४९ प्रतिशत कृष्ण इन्टरनेशनल प्रालिको ४९ प्रतिशत सेयर रहेको यस कम्पनीको देशभर एक सयभन्दा बढी वितरक छन् ।

साथै, देशभर ११ वटा खुद्रा पसल र १२ वटा सर्भिस सेन्टर रहेको कम्पनीको भनाइ छ ।

एपेक्स मनोकामना प्रालिः भिभो स्मार्टफोनको आधिकारिक बिक्रेता एपेक्स मनोकामना प्रालिको आम्दानी सन् २०२१ मा १३ प्रतिशतले बढेको छ । सन् २०१७ देखि नेपाली बजारमा भिभो स्मार्टफोन आयात गरी बिक्री वितरण गर्दै आएको कम्पनीको आम्दानी सन् २०२१ मा १३ प्रतिशतले बढेको हो ।

सरकारले सन् २०२१ मा मात्रै १ अर्ब २९ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ । सो वर्ष कम्पनीले ८७ हजार ९७१ मोबाइलसेट बिक्री गरेको थियो । त्यस्तै, कम्पनीले सन् २०२० मा अर्ब १४ करोड ९० लाख रुपैयाँ बराबरको ७६ हजार ६८६ मोबाइलसेट बिक्री गरेको थियो ।

त्यस्तै, कम्पनीले सन् २०१९ मा ८९ करोड १० लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीले बजारमा विभिन्न मोडल र नयाँ मोडलका मोबाइल लन्च गरी बजारमा प्रतिस्पर्धा गरिरहेको छ ।

बढ्दो प्रतिस्पर्धा बजारमा कम मूल्यमा भिभोले नयाँ विशेषता भएको मोबाइल वितरण गर्ने भएकाले बजारमा राम्रो बिक्री वितरण भइरहेको कम्पनीको दाबी छ ।

कम्पनीले बागमति, नारायणी र जनकपुर अञ्चलमा मात्रै ५७ बजारमा ओगटेको जनाएको छ । हालसम्म देशभर कम्पनीको २२ वटा डिलर रहेको छ ।

कम्पनीले सन् २०२१ मा ४ प्रतिशत मात्रै नाफा कमाउन सफल भएको छ । सन् २०२१ मा कम्पनीले ४.०५ प्रतिशत नाफा कमाएको थियो ।

अपेक्स ग्रुपद्वारा सञ्चालित यस कम्पनीको उपाध्यक्ष सुधिरप्रसाद तिमल्सिना हुन् ।

टेली डाइरेक्ट र टेलीटक प्रालिः सावमी, कलर्स र नोकिया मोबाइलको नेपालको लागि आधिकारिक बिक्रेता टेली डाइरेक्ट प्रालि र टेलीटक प्रालिको व्यापार कोरोनाकै अवधिमा तेब्बरले बढेको छ ।

विगतको दिनमा पनि व्यापार बढाउँदै आएको कम्पनीले कोरोना कै समयमा पनि उच्च रुपमा व्यापार गरेको देखिन्छ ।

टेली डाइरेक्टअन्तर्गतको सावमी मोबाइल कम्पनीले सन् २०१९ मा १ अर्ब १३ करोड ३० लाखको व्यापार गरेको थियो । त्यस्तै, सन् २०२० मा आइपुग्दा कम्पनीले आफ्नो व्यापार दोब्बर गरेको देखिन्छ । सन् २०२१ मा हालसम्मकै उच्च व्यापार गरेको कम्पनीले जनाएको छ ।

कम्पनीको सन् २०२१ मा कम्पनीको व्यापार करिब ८ अर्ब रुपैयाँ पुगेको छ । कम्पनीअनुसार सन् २०२१ मा ७ अर्ब ९९ करोड ७० लाखको सावमी मोबाइलको व्यापार गरेको छ । त्यस्तै, कम्पनीले सन् २०२२ को पहिलो त्रैमासिकमा ३ अर्ब ३१ करोड ७० लाख व्यापार गर्ने अनुमान गरेको छ ।

सावमीको नयाँ मोडलका मोबाइलसँगै विभिन्न मूल्यमा उपलब्ध छ । उक्त मोबाइलको प्रयोग गर्ने ग्राहक बढेसँगै व्यापारमा पनि उछाल आएको कम्पनीले जनाएको छ ।

त्यसैगरी, नेपालमा रेमिट्यान्स बढ्दै गएपछि मोबाइलको प्रयोगकर्ता बढ्दै गएको र दैनिक जीवनको विभिन्न कार्यका लागि मोबाइलको आवश्यक भएकाले मोबाइलफोनको उच्च माग रहेको कम्पनीको दाबी छ ।

साथै, कोरोनाले गर्दा अनलाइन क्लास लिनुपर्ने भएकाले पनि मोबाइलफोनको उच्च माग भएको कम्पनीले जनाएको छ । कम्पनीले सावमीको मोबाइल भारत र चीनबाट आयात गरेर नेपालमा बिक्री वितरण गर्दै आएको छ ।

सावमीको आधिकारिक बिक्रेता टेली डाइरेक्टले उपत्यकासहित देशभर वितरकको रुपमा काम गर्दै आएको छ । सन् २००९ मा वितरकको रुपमा काम गर्दै आएको कम्पनीको सन् २०१९ सम्ममा २८ वटा डिलर थियो भने २०२१ सम्ममा ३५ वटा डिलर पुर्याएको छ ।

त्यसैगरी, कलर्स मोबाइल उत्पादनकर्ता र नोकियाको वितरक टेलीटकको व्यापार पनि दोब्बरले बढेको छ । कम्पनीले कलर्स मोबाइल चीनको ओइएमअन्तर्गत उत्पादन गर्दै आएको छ भने चीन र भियतनामबाट नोकिया मोबाइलफोन आयात गरेर बिक्री गर्दै आएको छ ।

कम्पनीले सन् २०१९ मा कलर्स र नोकिया मोबाइल फोनबाट १ अर्ब ९ करोड ६० लाख रुपैयाँ व्यापार गरेकोमा सन् २०२० मा १ अर्ब २४ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो ।

त्यस्तै, कम्पनीले सन् २०२१ मा २ अर्ब १० करोड ८० लाखको व्यापार गरेको जनाएको छ । साथै, कम्पनीले सन् २०२२ को पहिलो त्रैमासिकमा ७२ करोड २० लाखको व्यापार गरेको छ ।

सन् २००८ मा रोहित गुप्ता, प्रतिक जलन र सन्जय अग्रवालले रमेश कोर्पअन्तर्गत स्थापना गरेको टेलीटक र २००९ मा टेली डाइरेक्टले बिक्रेताको रुपमा व्यापार विस्तार गरेको थियो ।

कम्पनीले २०१२ देखि नै कलर्स मोबाइलको इन–हाउस ब्रान्ड उत्पादन गर्दै आएको छ ।

अम्बे मोबाइल प्रालिः नेपालका लागि लाभा ब्रान्डको मोबाइल फोनको आधिकारिक विक्रेता अम्बे मोबाइल प्रालिले सन् २०२१ मा १ अर्ब ६ करोड ८० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२१ मा १ अर्ब ३३ करोड ८० लाख (अपरिष्कृत) रुपैयाँको व्यापार गरेको हो ।

त्यस्तै, कम्पनीले सन् २०२० मा ७३ करोड २० लाख रुपैयाँ, सन् २०१९ मा १ अर्ब ५ करोड ८० लाख रुपैयाँ र सन् २०१८ मा १ अर्ब ८ करोड ९० लाख रुपैयाँको व्यापार गरेको छ ।

सन् २०१५ मा दर्ता भई मोबाइल फोनको व्यापार गर्दै आएको कम्पनी अम्बे ग्रुपद्वारा सञ्चालित कम्पनी हो । शोभाकार न्यौपानेको पूर्णस्वामित्व रहेको कम्पनीले विभिन्न देशबाट मोबाइलफोन आयात गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीको देशभर ४७ वटा खुद्रा पसल र सर्भिस सेन्टर छन् । पछिल्लो समय बजारमा फिचर फोनको मार्केट विस्तरै घट्दै गएको छ । अहिले फिचर फोनको सट्टा स्मार्ट फोनमा बढ्दो आकर्षण छ ।

सन् २०२१ मा फिचर फोनबाट कम्पनीले ५४ प्रतिशत आम्दानी गरेको जनाएको छ । तर, कम्पनीको आम्दानी बढ्दै गएपनि नाफा भने घटेको जनाएको छ ।

सन् २०२१ मा कम्पनी देशको सबैभन्दा बढी फोन आयातकर्ताको तेस्रो नम्बरमा परेको जनाएको छ । कम्पनीअनुसार सन् २०२१ मा लाभा मोबाइलफोन आयातमा १२ प्रतिशत हिस्सा ओगटेको जनाएको छ ।

विशेषगरी फिचर मोबाइल फोन बिक्री वितरण गर्दै आएको कम्पनीको व्यापार सकारात्मक रहेको छ । सन् २०२० मा कोभिडका कारण व्यापार घटेकोमा अहिले रिबाउन्ड भएको कम्पनीको भनाइ छ ।

१० अर्बको रेटिङ

कम्पनीहरूले आफ्नो व्यापारलाई पूर्ण रुपमा विस्तार गर्नका लागि अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि साढे १० अर्ब बढीको रेटिङ गराएका छन् ।

तथ्याङ्कअनुसार ७ वटा कम्पनीहरुले १० अर्ब १२ करोड ७६ लाख रुपैयाँ रेटिङ गराएका हुन् । जसमा महालक्ष्मी मोबाइल प्रालिले ७३ करोड ३४ लाख रुपैयाँ, वत्साल एपेक्स लिमिटेडले १ अर्ब ५० करोड रुपैयाँ, इन्टिग्रेटेड मोबिलिटी सोलुशन प्रालिले ४ अर्ब ८० करोड १२ लाख रुपैयाँ, एपेक्स मनकामना प्रालिले ७३ करोड र टेलीटक प्रालिले ८९ करोड ३० लाख रुपैयाँ, टेली डाइरेक्ट प्रालिले ९० करोड रुपैयाँ र अम्बे मोबाइल प्रालिले ५७ करोड रुपैयाँको रेटिङ गराएका छन् ।


अरिष्मा मोक्तान