बीमा क्षेत्रमा करीब १२ हजारले पाए प्रत्यक्ष रोजगारी



काठमाडौं । बीमा क्षेत्रमा करीब १२ हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

समितिकाअनुसार हालसम्म नेपाली बीमा बजारमा ११ हजार ८३० जनाले प्रत्यक्ष रोजगारी पाएका हुन् ।

बीमा क्षेत्रमा प्रत्यक्ष एवं अप्रत्यक्ष रोजागारीका अवसरहरू उल्लेख्यरूपले बढ्दै गएको समितिको तथ्यांकले देखाएको छ ।

चालु आवको साउन मसान्तसम्ममा बीमा क्षेत्रमा ११ हजार ८३० जनाले प्रत्यक्ष रोजगारी पाएको समितिको तथ्यांक छ । गत आवको साउन मसान्तसम्ममा बीमा क्षेत्रमा १० हजार ८६५ जनाले प्रत्यक्ष रोजगारी पाएका थिए ।

एक वर्षको अवधिमा सो संख्या ८.८८ प्रतिशतले बढेको हो । बीमा क्षेत्रमा बीमा अभिकर्ता र बीमा सर्भेरले पनि रोजगारी पाएका छन् ।

समितिबाट इजाजपत्र लिने अभिकर्ताको संख्या २ लाख ९६ हजार ४०३ पुगेको छ । अभिकर्ताको संख्या १८.२६ प्रतिशतले बढेको हो । गत आवमा बीमा समितिबाट इजाजतपत्र लिने अभिकर्ताको संख्या २ लाख ५० हजार थियो । यस्तै, बीमा सर्भेयरको संख्या १ हजार २४० जना रहेको समितिले जनाएको छ । बीमा सर्भेयरको संख्या गत आवको तुलनामा २१० प्रतिशतले बढेको हो । गत आवमा बीमा समितिबाट इजाजतपत्र लिने बीमा सर्भेयरको संख्या ४ सय मात्रै थियो ।

चालू आर्थिक वर्षको साउन मसान्तसम्ममा देशका सातै प्रदेशमा जीवन तथा निर्जीवन बीमा कम्पनीहरूको शाखा संख्या ३ हजार ३६६ पुगेको छ । गत आवको तुलना बीमा कम्पनीको शाखा कार्यालयको संख्या ९.८७ प्रतिशतले बढी हो । गत आवमा बीमा कम्पनीको शाखा कार्यालयको संख्या ३ हजार ६१ वटा थियो ।

जसमध्ये जीवन बीमा कम्पनीका शाखा कार्यालयको संख्या २ हजार ३०२ र निर्जीवन बीमा कम्पनीको शाखा संख्या १ हजार ६४ रहेको समितिको तथ्यांक छ ।

प्रदेश नं. १ मा जीवन तथा निर्जीवन बीमा कम्पनीहरूका शाखा ५४२, मधेश प्रदेशमा ४५८, बाग्मती प्रदेशमा ९२३, गण्डकी प्रदेशमा ३८० रहेको समितिको तथ्यांक छ । यस्तै, समितिले सार्वजनिक गरेको तथ्यांअनुसार लुम्बिनी प्रदेशमा ५४८, कर्णाली प्रदेशमा १८८ र सुदुरपश्चिम प्रदेशमा ३२७ वटा शाखा कार्यालय सञ्चालनमा रहेका छन् ।


क्लिकमान्डु