सावधिक बीमा योजनाले जीवन बीमा व्यवसायको ३६.१२% हिस्सा ओगट्यो



काठमाडौं । जीवन बीमा कम्पनीहरूको व्यवसायमा सावधिक जीवन बीमाको हिस्सा बढी देखिएको छ ।

जीवन बीमा कम्पनीहरूको व्यवसायमा अन्य बीमा योजनाको तुलनामा सावधिक जीवन बीमाको हिस्सा बढी देखिएको हो ।

समितिले सार्वजनिक गरेको चालु आवको पहिलो महिनाअर्थात् साउन महिनामा कम्पनीहरूले १५ अर्ब ५ करोड ७४ लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

जीवन बीमा कम्पनीहरूको कुल व्यवसायमा सावधिक जीवन बीमाको हिस्सा ३६.१२ प्रतिशत हुन आउँछ । साउन महिनामा कम्पनीहरूले सावधिक जीवन बीमाबाट ५ अर्ब ४३ करोड ९२ लाख रूपैयाँ संकलन गरेका छन् ।

तोकिएको अवधिसम्म किस्ताबन्दी रूपमा बीमाशुल्क तिर्ने र सो अवधिपछि यदि बीमित जीवित छ भने उसलाई र यदि जीवित छैन भने उसका हकवालालाई बीमांक रकम र आर्जित बोनस (यदि मुनाफामा सरिक हुने गरी बीमा गरिएको भएमा) प्रदान गरिने जीवन बीमालाई सावधिक जीवन बीमा भनिन्छ । यस्तो बीमा सामान्यतया ५ वर्षदेखि ५० वर्ष अवधिको लागि गर्ने गरिन्छ ।

यस बीमाअन्तर्गत बीमा अवधि बाँकी रहँदा नै बीमितको मृत्यु भएमा निजको हकवालालाई र निज जीवितै रहेमा अवधि सकिएपछि निजलाई नै बीमाको रकम प्रदान गरिन्छ ।

सावधिक जीवन बीमा पछि जीवन बीमा व्यवसायमा अग्रिम भुक्तानी सावधिक जीवन बीमाको योगदान धेरै देखिन्छ । कम्पनीहरूले अग्रिम भुक्तानी सावधिक जीवन बीमाबाट ४ अर्ब ६ करोड २६ लाख रूपैयाँ संकलन गरेका छन् । जुन कुल जीवन बीमा व्यवसायको २६.९८ प्रतिशत हो ।

कम्पनीहरूले रूपान्तरित सावधिक जीवन बीमाबाट २ अर्ब २४ करोड ७ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेका छन । जुन कुल जीवन बीमा व्यवसायको १४.८८ प्रतिशत हुन आउँछ ।

यस्तै, जीवन बीमा व्यवसायमा बालबच्चासम्बन्धी सावधिक जीवन बीमालेखको हिस्सा १४.७७ प्रतिशत, वैदेशिक रोजगार म्यादी जीवन बीमाको हिस्सा १.६३ प्रतिशत, आजीवन जीवन बीमाको हिस्सा ३.७१ प्रतिशत, एकल बीमाशुल्क जीवन बीमाको हिस्सा १.६३ प्रतिशत, म्यादी जीवन बीमाको हिस्सा ०.५६ प्रतिशत र लघु जीवन बीमाको हिस्सा ०.०१ प्रतिशत रहेको छ ।

साउन महिनामा जीवन बीमा कम्पनीहरूले बालबच्चा सम्बन्धी सावधिक जीवन बीमाबाट २ अर्ब २२ करोड ३५ लाख रूपैयाँ, वैदेशिक रोजगार म्यादी जीवन बीमाबाट २४ करोड ५४ लाख रूपैयाँ संकलन गरेका छन् ।

यस्तै, आजीवन जीवन बीमालेख जारी गरी कम्पनीहरूले ५५ करोड ८५ लाख रूपैयाँ, एकल बीमाशुल्क जीवन बीमाबाट ५ करोड रूपैयाँ र म्यादी जीवन बीमाबाट ८ करोड ४४ लाख रूपैयाँ संकलन गरेका छन् । साउन महिनामा जीवन बीमा कम्पनीहरूले लघु जीवन बीमाबाट १५ करोड २६ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

४३.२४ प्रतिशत व्यवसाय बाग्मती प्रदेशमा

तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरूको ४३.२४ प्रतिशत व्यवसाय बाग्मती प्रदेशमा सीमित भएको छ । साउन महिनाम जीवन बीमा कम्पनीहरूले बाग्मती प्रदेशबाट ६ अर्ब ५१ करोड ११ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेका छन् । जुन कुल जीवन बीमा व्यवसायको ४३.२४ प्रतिशत हो ।

कम्पनीहरूले प्रदेश नम्बर १ बाट २ अर्ब २ करोड ४० लाख रूपैयाँ, मधेश प्रदेशबाट १ अर्ब ३७ लाख ११ हजार रूपैयाँ, गण्डकी प्रदेशबाट १ अर्ब ५९ करोड ७७ लाख रूपैयाँ, लुम्बिनी प्रदेशबाट २ अर्ब ११ करोड २ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

यस्तै, कर्णाली प्रदेशबाट ६८ लाख ९२ करोड रूपैयाँ र सुदुरपश्चिम प्रदेशबाट ७५ करोड ३७ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।


क्लिकमान्डु