सेबोनले ९५% सम्म घटायो सी-आस्वा शुल्क, लगानीकर्ताको मनोबल बढ्छ: अध्यक्ष पोखरेल



काठमाडौं । सेयर आवेदन दिँदा बैंक तथा वित्तीय संस्थाले लिने सी–आस्वा शुल्क घटेको छ । धितोपत्र बोर्डले सी-आस्वामा बैंक तथा वित्तीय संस्थाले लिने गरेको शुल्कमा ५० देखि ९५ प्रतिशतलेसम्म घटाएको छ ।

आइतबार बसेको धितोपत्र बोर्ड सञ्चालक समितिको बैठकले सी–आस्वा शुल्कमा ५० देखि ९५ प्रतिशतसम्म घटाउने निर्णय गरेको हो । सेबोन बोर्ड बैठकले गरेको निर्णय सम्भवतः मंगलबारदेखि कार्यान्वयनमा आउने बोर्ड अध्यक्ष रमेश कुमार हमालले जानकारी दिए ।

अहिले बैंक तथा वित्तीय संस्थाले ग्राहकसँग १० देखि १०० रुपैयाँसम्म सी–आस्वा शुल्क लिने गरेका छन् । केही बैंक तथा वित्तीय संस्थाले यस्तो सेवा निःशुल्क दिइरहेका छन् ।

बोर्डको निर्णय अनुसार अब सी–आस्वा सेवा दिने बैंक तथा वित्तीय संस्थाले ५ रुपैयाँ भन्दा बढी शुल्क लिन पाउने छैनन् ।

बोर्डको यो निर्णयसँगै लगानीकर्ताले तिर्ने सी–आस्वा शुल्क ९५ प्रतिशतसम्म घटेको छ । अहिलेसम्म सेयर भर्दा स्टयान्डर्ड चार्टर्ड बैंकले १०० रुपैयाँ सेवा शुल्क लिने गरेको छ । तर बोर्डको निर्णयसँगै अब ५ रुपैयाँ भन्दा बढी लिन पाउने छैन ।

हाल २१ वटा बैंकले सी–आस्वा शुल्क लिने गरेका छन् । कुमारी, राष्ट्रिय वाणिज्य– बैंक, नविल बैंक र एनआइसी एशिया बैकले सी आस्वा शुल्क लिने गरेका थिएनन् । यसअघि कुमारी बैंकले सी–आस्वा शुल्क २० रुपैयाँ लिने गरेको थियो । गत सातादेखि बैंकले सी–आस्वा शुल्क नलिने घोषणा गरेको छ ।

मेगा बैंक नेपाल, नेपाल एसबीआई बैंक, लक्ष्मी बैंक र सेन्चुरी कर्मसियल बैंकले २५ रुपैयाँ शुल्क लिने गरेका छन् । यी बैंकले लिने सी–आस्वा शुल्क ८० प्रतिशतले घटेको छ ।

यस्तै सिभिल, सानिमा, नेपाल इन्भेष्टमेन्ट, हिमालयन, प्राइम बैंक, एभरेस्ट, सिटिजन, एनएमबी बैंकले २० रुपैयाँ लिँदै आएका छन् । यी बैंकले लिने सी–आस्वा शुल्क ७५ प्रतिशतले घटेको छ ।

यस्तै ग्लोबल आइएमई बैंकले लिने सी–आस्वा शुल्क ६६.६६ प्रतिशतले घटेको छ । हाल बैंकले सी–आस्वा शुल्क १५ रुपैयाँ लिने गरेको छ ।

अहिले ७ वटा बैंकले लिने गरेको सी–आस्वा शुल्क ५० प्रतिशतले घटेको छ । सी–आस्वा शुल्क ५० प्रतिशत घट्नेमा बैंक अफ काठमाडौं, नेपाल के्रडिट एण्ड कमर्स बैंक, माछापुच्छ्रे बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक, प्रभु बैंक र नेपाल बैंक रहेका छन् । यी बैंकले हाल १० रुपैयाँ सी–आस्वा शुल्क लिने गरेका थिए । अब भने यी बैंकले पनि ५ रुपैयाँ भन्दा बढी शुल्क लिन पाउने छैनन् ।

नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले लगानीकर्ताले लामो समयदेखि उठाएको माग पूरा भएको बताइन् । यसले बजारमा लगानीकर्ताको मनोबल बढाउन सहयोग गर्ने अध्यक्ष पोखरेलको भनाइ छ । बजारमा उतार चढाब आइरहेको समयमा यसरी बजार र लगानीकर्ताको हित हुने निर्णय गर्दा तत्कालै नभए पनि दीर्घकालीन रुपमा राम्रो प्रभाव पर्ने पोखरेलको बुझाइ छ ।

केही वर्षयता सेयर बजारमा साधारण सेयर (आईपीओ) चर्चा निकै छ । विभिन्न कम्पनीले आईपीओ जारी गर्न थालेपछि लगानीकर्ताको आकर्षण बढेको छ ।

कोरोना महामारीले सृजना गरेको निषेधाज्ञासँगै सेयर बजारमा लगानीकर्ताको चासा बढेको हो । प्रविधिमा भएको विकाससँगै लगानीकर्ताले घरमा नै बसेर बजारमा लगानी गर्न थाले ।

बजारमा बढेको आकर्षणले डिम्याट खोल्ने लगानीकर्ताको संख्या ५३ लाख ३७ हजार ७७० पुगेको छ भने मेरो सेयरमा खाता खोल्ने लगानीकर्ताको संख्या ४४ लाख ३२ हजार ५४७ पुगेको छ ।


क्लिकमान्डु