५० अर्बको कारोबार गर्ने जगदम्बा स्टिलले अर्को वर्ष बुक बिल्डिङमार्फत् आईपीओ निकाल्ने



काठमाडौं । गत आर्थिक वर्षमा ५० अर्बको कारोबार गरेको जगदम्बा स्टिलले कम्पनीलाई प्राइभेट लिमिटेड कम्पनीबाट लिमिटेड कम्पनी बनाएको छ ।

व्यवसायिक घराना शंकर ग्रुपको जगदम्बा स्टिलले सर्वसाधारणलाई सेयर निष्कासन गर्नको लागि प्रालिबाट लिमिटेड कम्पनी बनाएको हो । गतवर्ष जगदम्बा स्टिलले एक्लै ५० अर्बको कारोबार गरेका थियो ।

कारोबारको हिसाबले नेपालका कम्पनीमा जगदम्बा पहिलो स्थानमा रहेको छ । जगदम्बा स्टिलका प्रवन्ध निर्देशक साहिल अग्रवालले आईपीओ जारी गर्नका लागि लिमिटेड कम्पनीको रुपमा परिणत गरेको जानकारी दिए ।

‘५० अर्बको कारोबार गतवर्ष भएको छ, यसलाई अब निजी कम्पनीको रुपमा नराखेर सेयर निष्कासन गर्ने हाम्रो लक्ष्य हो,’ अग्रवालले क्लिकमाण्डूसँग भने, ‘यसको सेयर बुक बिल्डिङ प्रणालीमार्फत् बिक्री गर्ने हाम्रो लक्ष्य हो ।’

जगदम्बा स्टिल गत आर्थिक वर्षको असारमा प्रालिबाट लिमिटेड कम्पनीमा परिणत भएको हो । धितोपत्र बोर्डको बुक बिल्डिङ प्रणालीको व्यवस्थाअनुसार सेयर जारी गर्नका लागि लिमिटेड कम्पनीको रुपमा एकवर्ष सञ्चालन हुनपर्छ ।

आगामी आर्थिक वर्ष जगदम्बाले सेयर निष्कासन गर्न पाउनेछ । १ अर्ब ७५ करोड चुक्ता पुँजी रहेको जगदम्बाले ५० अर्ब रुपैयाँको कारोबार गरेको थियो । सेयर निष्कासन हुने बेला भने कम्पनीले गतवर्ष कमाएको नाफाबाट बोनस सेयर दिएमा चुक्ता पुँजी बढ्न सक्छ । कम्पनीले १२ प्रतिशत सेयर पब्लिकलाई निकाल्ने योजना बनाएको छ ।

‘बुक बिल्डिङको लागि मूल्य तय गर्न अहिले अत्यन्त प्रारम्भिक चरणको छलफलमा छौं, एक वर्षपछि बजारले तय गरेसँगै सेयर निष्कासन गर्ने छौं,’ अग्रवालले भने ।

आईपीओ निष्कासन गरेमा बढी कारोबार गर्ने कम्पनीको रुपमा आईपीओ निकाल्ने कम्पनी जगदम्बा बन्ने छ ।

रेटिङको तथ्यांक हेर्दा कारोबार र ऋण बढी हुने कम्पनीमा जगदम्बा स्टिल पर्छ । जगदम्बाले ३४ अर्ब ३७ करोड रुपैयाँ ऋणको लागि रेटिङ गराएको छ ।

रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालअनुसार कम्पनीले सन् २०२१ मा २९ अर्ब ५५ करोड ७० लाख रुपैयाँको कारोबार गरेको थियो भने, सन् २०२० मा २१ अर्ब १० करोड रुपैयाँको कारोबार गरेको थियो । साथै, सन् २०१९ मा ३५ अर्ब ८७ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो । नेपालको स्टिल बजारमा जगदम्बाको मात्र हिस्सा ३५ प्रतिशत रहेको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत् विद्युत् र स्टिल निर्यात गर्दा ८ प्रतिशत नगद अनुदान दिने व्यवस्था गरेपछि कम्पनीले भारततर्फ निर्यात गर्ने जनाएको छ । जगदम्बाले तेस्रो मुलुकमा समेत स्टिल निर्यात सुरु गरेको थियो ।

स्टिल कम्पनीले विभिन्न देशबाट एमएस ब्लेड, स्पञ्ज आइरन आयात गरी स्टिल उत्पादन गर्दै आएका छन् । कम्पनीले उक्त आयातित कच्चा पदार्थबाट टीएमटी बार, एन्गल्स्, सेक्सन, पाइप, शटर प्रोफाइल, कोयल, सिट्स् र विभिन्न प्रकारका तार उत्पादन गरी आन्तरिक बजारमा बिक्री गर्दै आएका छन् ।

त्यस्तै कम्पनीले जगदम्बा इ, राइनो ५००डी, जगदम्बा सुपर साइन, जगदम्बा गाल्भा प्लस, जगदम्बा पाइप र जगदम्बा वायर ब्रान्डमा विभिन्न सामग्री बिक्री गर्दै आएको जनाएको छ । कम्पनीको उत्पादन क्षमता वार्षिक २४ लाख ४४ हजार रहेको छ, जुन नेपालका स्टिल उद्योगमा सबैभन्दा बढी हो ।

गतवर्ष शंकर ग्रुपले १ अर्ब अमेरिकी डलर बराबरको कारोबार गरेको घोषणा गरेको थियो । नेपालमा सञ्चालित व्यावसायिक घरानामा सबैभन्दा बढी ऋण लिनेमा शंकर ग्रुप अगाडि देखिएको छ । क्रेडिट रेटिङ कम्पनीहरूको विवरणलाई हेर्दा शंकर ग्रुपले ७५ अर्ब रुपैयाँभन्दा बढी ऋण लिएको पाइएको छ ।

स्थापनाको दुई दशकमा नेपालका व्यवसायिक घरानामा शंकर ग्रुप निकै सफल देखिएको छ । निर्माणजन्य उद्योग हुँदै पछिल्लो समय सेवा क्षेत्रमा ग्रुपले लगानी बढाएको छ । शंकर ग्रुपको व्यवसायिक यात्राको शुरुवात म्यानमारबाट भएको हो ।

रावतमाल गोल्यानले सन् १९६० को दशकमा टाँक उद्योग सञ्चालनमा ल्याएका थिए । म्यानमारबाट नेपाल आएर उद्योग सञ्चालन गरे पनि रावतमान गोल्यान भने सफल हुन सकेनन् । त्यसपछि गोल्यानले ट्रेडिङमा हात हाले ।

रावतमाल गोल्यानका छोरा शंकरलाल अग्रवालले सन् १९८० को दशकमा शंकर ग्रुपको स्थापना गरेका थिए ।

शंकरलालले शुरुको व्यवसायिक यात्रा भने ट्रेडिङबाट गरेका थिए । अहिले शंकरग्रुप अन्तर्गत् ४० वटाभन्दा बढी कम्पनी छन् । शंकर ग्रुपको लगानी नभएको कुनै क्षेत्र छैन भन्दा पनि फरक पर्दैन ।

शंकरलाल अग्रवालका बुबाले उद्योगमा सफलता हासिल नगरे पनि शंकरलालले भने ट्रेडिङमा पाएको सफलतालाई विस्तारै उद्योगतर्फ केन्द्रित गराए ।

नेपालको सबैभन्दा ठूलो स्टिल उद्योगको स्वामित्व शंकर ग्रुपअन्तर्गत् छ । सन् १९९४ मा शंकरलाल अग्रवालले जगदम्बा स्टिल उद्योग खोलेका थिए । जुन अहिले सबैभन्दा बढी कारोबार गर्ने उद्योगको रुपमा रहेको छ ।


क्लिकमान्डु