पर्वतीय समस्यालाई नेपालले अन्तर्राष्ट्रिय स्तरमा जोडदार रुपले उठाउनु पर्छः वनमन्त्री यादव



काठमाडौं । वन तथा वातावरण मन्त्री प्रदीप यादवले सन्तुलित विकासको मोडल अपनाउनु पर्नेमा जोड दिएका छन् ।

शुक्रबार वन मन्त्रालयले काठमाडौंमा आयोजना गरेको अन्तर्राष्ट्रिय दिगो पर्वतीय वर्ष, २०२२ कार्यक्रमअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरुसँगको अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले वन जङ्गल र वन्यजन्तुलाई संरक्षण गरी पूर्वाधार विकास निर्माणको कामलाई अगाडि बढाउनुपर्नेमा जोड दिएको हो ।

मन्त्री यादवले सडक र पूर्वाधार निर्माणको आफू बाधक नभएको र वन मन्त्रालयलाई आवश्यक विकासको काममा बाधा पुर्याउने काम कहिल्यै नगर्ने बताए ।

‘विकास जरुरी छ । तर वन जङ्गल पनि उतिकै आवश्यक छन् । हामीले दुवैलाई सन्तुलित राख्नु पर्छ,’ मन्त्री यादवले भने, ‘म विकासको बाधक होइन, सडक र पूर्वाधार निर्माणमा गर्न वन मन्त्रालय कहिलेपनि बाधक बन्दैन । सडक बन्न दिन्छु तर, जङ्गल पनि मास्न दिन्न । सन्तुलन मिलाएर काम गर्दा वन मन्त्रालयको अवरोध हुँदैन ।’

उनले नेपालको ८० प्रतिशतभन्दा बढी भूभाग पहाडले ढाकिएको र बाँकी भागसमेत पर्वतीय प्रणालीसँग जोडिएको कारण पर्वतीय क्षेत्रको समस्या सम्पूर्ण नेपालको समस्या भएको उल्लेख गरे ।

अन्य देशमा गरिएका गतिविधिले भइरहेको जलवायू परिवर्तनको सिधा असर नेपालमा परेको कारण अन्तर्राष्ट्रिय समुदायले नेपालको पर्वतीय समस्या समाधानका लागि आवश्यक सहयोग गर्नुपर्ने बताए ।

यादवले अन्तर्राष्ट्रिय दिगो पर्वतीय वर्ष, २०२२ कार्यक्रमअन्तर्गत नेपालले यस वर्ष विभिन्न थप कार्यक्रमहरु आयोजना गरेर पर्वतीय मुद्दाको प्रचारप्रसार गर्नुका साथै अन्तर्राष्ट्रिय मञ्चहरुमा नेतृत्व लिन आगामी सेप्टेम्बरमा अमेरिकाको कोलोराडोमा हुने पर्वतीय साझेदारी विश्वव्यापी बैठक तथा जववायू परिवर्तन सम्बन्धी इजिप्टमा हुने सम्मेलनमा समेत नेपालको मुद्दालाई उठाउने जिकिर गरे ।

‘जलवायू परिवर्तनले पर्वतीय अर्थतन्त्र, जैविक विविधता, संस्कृति, जलवायू परिवर्तन, पर्वत–समथर अन्तरसम्वन्ध जस्ता विषयमा पारेका प्रभाव र त्यसको उचित सम्वोधनका लागि नेपालले अन्तराष्ट्रिय मञ्चहरुमा लिनुपर्ने आदानका बारेमा हामीले राष्ट्रिय सहमति कायम गर्नुपर्ने छ । त्यसका साथै अन्तराष्ट्रिय मञ्चहरुमा पनि यी विषयहरुलाई मैले जोरदार ढङ्गले उठान गर्नेछु’ उनले भने ।

मन्त्री यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले जलवायू परिवर्तनको विषयमा नीति निर्माण गर्नेहरुले गम्भीरतापूर्वक लाग्नुपर्ने बताए ।

नेपाल ग्लोबल ग्रीन ग्रोथ इन्स्टिच्युट (जीजीजीआइ) को सदस्य बनेको बताउँदै सभामुख सापकोटाले जलवायू परिवर्तनसँग लड्न नेपाललाई ठूलो आधार मिलेको उनले विश्वास व्यक्त गरे ।


क्लिकमान्डु